Baidhyanath Upadhyaya – Khushi

वैद्यनाथ उपाध्याय – खुसी

पीरले लोलाएको
यो समयमा
उलझिएका छन
मेरा प्रत्येक दिनहरु!
मन भित्र भित्रै
चलिरहेछ
अविरल
एक घमासान!
असाध्यै राम्रो लागेर
अपनाएको चीज पनि
केही क्षणमै वाक्कै लाग्ने
यो कस्तो विडम्बना!
रातको प्रगाढता
लम्पसार भएर
तेर्सिएको छ वारी-पारी
क्षितिजभरी
पूर्पूरोमा हात राखेर
नियालिरहेछु,हरेक अनुहारहरु
आखिर मैले चाहेको
त्यो खुसी के हो?

असम

Baidyanath Upadhyaya – Ma Kahan Chhu

बैद्यनाथ उपाध्याय – म कहाँ छु

जीवनका पानाहरुमा
कोरिएका छन
अव्यक्त वेदनाका धर्साहरु!
कसरी मानूँ म
यो मेरो जीवन हो?
जबकि आफ्नोपनको
कहीं कतै आभाष पनि छैन
यो देह त
आफ्नै यात्रा हिंडिरहेछ।
असमन्जसताको तुवाँलो छाएको
यो समयमा
खोज्दैछु
म कहाँ छु!

Baidyanath Upadhyaya – Hindnu Nai Jeevan Ho

बैद्यनाथ उपाध्याय – हिंडनु नै जीवन हो

जति सजाए पनि
जति नै माया गरे पनि
देह यो
कहिल्यै आफ्नो हुँदैन।
देह त यो
आफ्नै यात्रा हिंडिरहेछ
यस्ता कयौं चोलाहरू फेर्दै
यात्रामा छ यो
मेरो ‘म’ पनि!
यादहरूको क्षितिजमा
कालो रात खनिएर
अन्धकार पोतिएको आकाश
आफ्नै पीरले आँसु खसालेर
तरक्क रोएको छ आज!
मेरा खुसीका ताराहरू
पीडाको क्षितिजपारी
लखतरान भएर निद्रामग्न छन
सुन्दछु आफ्नै छातीमा
समयका पदचापहरू
हिंडिरहेछ, हिंडिरहेछ
मानौं-
हिंडनु नै जीवन हो
हिंडनु नै मृत्यु हो
हिंडनु नै सबथोक हो।

Baidyanath Upadhyaya – Jeevan Ko Gati

वैद्यनाथ उपाध्याय – जीवनको गति

कति कुराहरू यस्ता हुन्छन
जस्ले जीवनका गतिनै मोडि दिन्छन।
भित्र भित्रै कति व्यथाहरू
उर्लिरहेका हुन्छन
समुद्रका उछालहरू जस्तै
कसलाई भन्ने?
यी दुखका गाथाहरू
कतिले त सुनेर खिल्लि उडाउलान
अनि कसैले लेग्रो तान्दै
कठैवरा भन्लान
अझ बल्झिएलानि पीडाहरू!
कसैले सहानुभूतिको स्वाँग रचाउँदैमा
कसरी खुलेर भन्न सकिन्छ र
मुटूभित्र बिझेका कुराहरू!
म जुन दुखले भन्दैछु
जे भन्छु
त्यसलाई त्यसै रूपमा
सही सही बुझिदिनेहरू
कहाँ भेटिएलान!
कसैले भन भन्दैमा
कहाँ खुल्छन र
मनका गाँठाहरू!