Bibash Bipra – Jindagi Ta Kavya Po Bhai Sakechha

बिबश बिप्र – जिन्दगी त काब्य पो भैसकेछ

कहाँ ! अब जिन्दगी त काब्य पो भैसकेछ
पत्रेफूलको जस्तो खस्दैछन
जिन्दगीका पातहरु पनि एक-एक गरि
माटोमा-
पानीमा-

फुर्र उड़दाछन् हावामा
यसरि फैलदोछ जिन्दगीको चाहत
जसरि किरणहरु ।

जिन्दगी त काब्य पो भैसकेछ
मान्छेका हात-हातमा
झोला, सिरानी,डेस्क र टेबुलमा
पढ्दा पढ्दै छोडेका,
या
मयुरको प्वाखको साँध हालेर
बन्द गरिएका – पुस्तकहरुजस्तै ।

मान्छेहरु, कि अब आधा जिन्दगी बाचिसके l
अथवा- ब्लान्केट ओढेर यो जाडोमा – पढीरहेछन
जिन्दगीको किताब-चिया-कफीको सुरुपसंगै
वा प्रेमिकाको टाउको सुमसुम्याईसंगै
वा कान्तिपुर डायरीसंगै
वा आमाहरुले गाउने हरि भजनसंगै
आदि-
इत्यादि !

हो अबको आधा जिन्दगी – काब्य नै रहिरहनुपर्छ
जसरि – उपन्याशका पानाबाट
भुरुरु….
अक्षरउडेर मगज भित्र पस्छन
ठिक त्यसरी नै – मान्छेहरु बाच्ने साम्राज्यमा बास बस्नुपर्छ – उपन्याश, गीत, कथा, कविता र निबन्धका अक्षरहरुले ।
ता कि ? फुलले फुलको सुगन्ध पढ्न सकोस
काँढाले फुलको सुगन्ध बुझ्न सकोस
हो ! त्यो बुझाइमा मान्छेहरुले लिन सकुन
बाँकी आधा जिन्दगीको काब्य मन्त्र
अथवा – जीवन ।

अब जिन्दगी त काब्य पो भैसकेछ
पत्रेफूलको जस्तो खस्दैछन
जिन्दगीका पातहरु पनि एक-एक गरि
माटोमा-
पानीमा-

फुर्र उड़दाछन् हावामा
यसरि फैलदोछ जिन्दगीको चाहत
जसरि किरणहरु ।

Bibash Bipra – Mrit Prashna

बिबश बिप्र – मृत प्रश्न

घरको आरोह-अवरोहमा
सुनिने बहुल आवाजहरु
रातमा चिच्याउन छोडेको धेरै भो
गोलमेच मेलाको प्रदर्शनीमा
अँध्यारोका नाइकेहरु
धामीगुरु जस्तो काम्दैहोलान ल
अनुभूतिमा-
मान्छेको उचाई बढेको छ-भगवानको तुलनामा ल्
घटेको छ-भूतको अगाडि
आज
भूतले एउटा अर्थ मन्त्रीलाई सुर्यको उपस्थितिमै धम्क्यायो ल्
ठ्याक्कै केहि मिनेटमै सरकारी पँधेरो भाँचिएका बाँसले भरियो
एउटा
सडकछाप ज्योतिषीले
सिम्रिक र चामलको महत्व यसरि जोड्यो –
दिउसो भूतहरुको आगमन र प्रवचन बढेकोछ घरमा
अझ भनौ-
अब घर मान्छेहरुको बासस्थान हैन
रातका राजाहरु दिनमा
दिनका मान्छेहरु कहाँ?
यो घडीमा
खै कुनै प्रत्यय र उपसर्गहरुको सहयोग भएन
जहाँ-
अन्धकारले राज्य गर्छ
जहाँ-
बस्त्रबिहिनहरुले धागोको ब्यापार गर्छन
हे म-
तिमी भने अझै धागोको महलभित्र
एक प्रहर सुत्ने बिज्ञापन गर्दैछौ?
एउटी विधुवी उतरको
मरिसकेको प्रश्न !

Bibash Bipra – Ganit Man Ani Tathya

बिबश बिप्र – गणित, मन अनि तथ्य

संघर्षको लालकिल्ला भत्किएर
छरिएका
बन्दुकका नाल र कुन्दाहरु
स्यालको भाका कुर्लिएर
अन्धकारको खेति गर्छन l
**
”मानिसका आँखाहरु बल्न सक्दैनन्”
एक स्वयंसिद्ध तथ्य

हराएको सपनाको खोजीमा
एक बिपना-
खुकुरीको दापभित्र लुकेको
उस्तै एक सपनाको स्मरण गर्छ
**
”स्मरण मिठो हुन्छ”
स्वयं एक तथ्य l

गर्नेछ-
एउटा रहरले पनि त्यस्तै परिक्षण
के थाहा ??
खराब परिक्षणको असल नतिजा पो आउछ कि !?
वा-
”भाइस भर्सा”
**
भन्नुस-
एक पूर्ण भबिष्य

प्रसङ्गबस-
असान्दर्भिक सन्दर्भहरु-
”असमय र उसैको क्रियाशीलताको हकमा”
**
जस्तो
मान्छेको शत्रु मान्छे

मान्छे मित्र मान्छेको
फेरी
कागको एक सन्तान
कि
कोइलीको एक अण्डा
अझै
माछा माछाको आहारा
वा
गोहीको रुन्चे अनुहार l

अनायासै-
जन्म यस्तै हुन्छ भन्छु म
कसैलाई प्रश्न पनि गर्दिन l
**
कारण-
सबको एक उत्तर -निर्बिकल्प-
जो-प्रकृतिको नियम …..

– आबुधाबी

Bibash Bipra – Tesro Najar

बिबश बिप्र – तेस्रो नजर

समुल नतर्कीहरु
मयूरका प्वाँख सापटी माग्दै
खोल्सा खोल्सामा नाचगान गरिरहेछन
राँके भुतहरु
राँको बाल्दै
तालमा ताल मिलाउदैछन
सतीसाल र बयरहरु
मधुर मनोकांक्षा बोकी
रंगनाच चिहाँउदाछन
पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l

खहराहरु
बान्की मिलाउदै उँभोतिर उक्लीरहेछन
ढिस्काहरु
भेलको बाटो पहिल्याउन
निरन्तर माटो खन्दैछन्
भुत र प्रेतहरु
नयाँ बटुवाको आगमन ब्यग्र भइ कुर्दाछन
किचकन्नीहरुको भान्छामा हर्षको झोल उम्लदो देखिन्छ l

चालवाज जोकरहरु
पत्ता सम्हाल्दै
मकैका दाना गनिरहेछन
बकम्फुसे टपरटुँइयाहरु
चोरीका दुई-चार मकैको च्याँखे थाप्दैछन
सुर र सुराहरु
काँचका पारदर्शी गिलाससँगै छचल्किदाछन
कुकुरको घाँटीमा झुन्डेको घन्टी
एकोहोरो शंख फुक्दो देखिन्छ l

बिराटनगर, हाल: आबुधाबी

Bibash Bipra – Katmira Chhepara Haru

बिबश बिप्र – कट्मिरा छेपाराहरु

यसरी,
कट्मिरा कथकहरु
हरियो झारको
आगो तापेर बसिरहेछन
अनि,
भन्छन।।।
हामी पंचाग्नी तापिरहेछौ !!

र,
उद्दिप्त आगोका झिल्काहरु
अगेनाको
अक्षरेखा वरिपरि
समिधाको रक्षार्थ घुम्दाघुम्दै
चरुको भोजनमा तल्लिन रहन्छन !!
जसरी,
भोका पण्डितहरु नैबेद ग्रहण गर्दछन !!

फेरी,
क्षणिक सन्तुष्टीको अनुभुतीमा
बरालिएका
ति,
कट्मिरेहरु
थङथिला भएर घुर्दछ्न !!
लाग्छ कि,
उनिहरुले पुरै जिन्दगी खाए !!
र,
अघाए !

भोलि बिहानै शौचालयको यात्रापछि
सबै खाली हुन्छ भन्ने
किन सोच्न नसक्नु?

छेपारोजस्तो
उमंगमा रङ्ग फेरेर
रातै हुन सक्ने दोरङ्गाहरु
सदाबहार हुन कहिले सिक्नेहुन ?

अचम्म छ!

आबुधाबी, युएइ

Bibash Bipra – Ma, Premika Ani Karagar

बिबश बिप्र – म, प्रेमिका अनि कारागार

भो|
भइसक्यो-
मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र

फलामको गेटमा लागेको खिया
मेरो कामकथामा लालमोहर ठोक्दैछ

मैले माया भेटेको छैन-आकासको
तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको
मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको

आजकल-
जेलरका जुँगाहरुमै शितलता छाएको छ  मेरोलागि
तिम्रो बर-पिपलको चौतारी यो कारागारले मन पराउन्न

मैले माया गर्नु – मर्नु सामान हो  बुझिराख

तिमीले एउटा गुलाब स्याहार्न सकिनछौ
अब त मैले पनि काँटीलाइ प्रेम गर्नुपरेको छ
कारण-

मेरो बन्दि-गृहभित्र मात्र काँटी छन्
एउटा गुलाब-
जेलरको प्राइभेट गमलाको पाले भएको छ

यसबखत,
तिमी पियानोको तरङ्गमा अनुभवको कथा बुन्दैछ्यौ की ?
म सन्तुष्टि भुल्न,
घरको कल्पनामा अर्को कारागार-चित्र कोर्दैछु

तिम्रो घरले तिमीलाई बासको अनुमति दिएको बेला-
नआऊ है- मलाइ भेट्ने इच्छा बोकेर
कारण-

– यो कारागारले तिमीलाई पाल्न सक्दैन,
– तिम्रा आँशुको पवित्रता यो कारागारले बुझ्नेछैन र
-मैले पनि नबुझेकै हुनेछु