Manisha Awasthi – Sunaulo Ek Bihan

मनीषा अवस्थी – सुनौलो एक बिहान

सुनौलो एक बिहान
आशालाग्दा किरणसंगै झुल्किदा
आमाको काखमै कुस्ती खेलिरहेका हामी सन्तान
सन्तानसामु निरिह बनेकी आमाका आँखा
रसाएछन् क्यार तप तप
खुशी र पिडाको मिश्रण लिएर
भुल्किएको बिहानसँगै
फुस्री अनि सेताम्य फुलेकी मेरी आमा
फेरी एकपटक सबैसन्तानलाई अंगालो हालेर च्याप्ने
झिनो आशा होला सायद
सकिनसकी अर्धखुशीका प्याला झार्दैछिन तप तप
प्याला बोकेर आएको त्यो बिहान
सधैंभन्दा थोरै भिन्न
तर दाजुको खुशियाली म बेखुशी भएर रुँदा
उनि खुशी कि दुखी बुझ्नै सकिन
मात्रै देखे परेलीमा छचिल्किएको तप तप
वर्षौ भएछ क्यार दाजूभाई बिरानिएको
एकै थालमा भात नखाको
आमाका दुबै हात तान्दै नखेलेको
सायद त्यहि आशामा होलिन
भावविह्वल बन्दै तप तप

Manisha Awasthi – Ghaite Meri Aama

मनीषा अवस्थी – घाइते मेरी आमा

रगत बगेको छ यहाँ
एक नेपाली ढलेको छ
दुईछाक टार्न ५०लाखको सपना देखाएको छ

हेर्दाहेर्दै देशमा
अधिकारको भेशमा
रक्तपिपासु पसेको छ
सोझा किसानको मेशमा

अधिकारलाई बन्दहड्ताल नाम दिएर
डलरको खेल खेल्नेहरु
रगत पिउदै डलर खेलाउदै
हामीलाई फुटबल बनाइ रहदा
हामी चुपचाप चुपचाप

बिचरा हामी अधिकारको नशा पिएर
नशामा लठ्ठ हुँदा
धन्य लाग्छ छातीमा गोली थाप्दा

धन्यका वास्तविक पात्र
चार तलाको झ्यालबाट चियाउदै
गोल भन्दै ताली बजाउदैछन

छोडौं अर्काका लागि गोल गर्न
आफ्नै लागि खुट्टा बजारौं
खेल आफ्नै पक्षमा पारौ
त्यतिबेला हुनेछिन खुशी मेरी आमा
र शय्याबाट सकिनसकी अंकमाल गर्नेछिन्

Manisha Awasthi – Badaliyeka Ghumti Haru

मनीषा अवस्थी – बदलिएका घुम्तीहरु

फेरीरहन्छन् यहाँ जीवनका मोडहरु
अनि बदलिरहन्छन् कठीन घुम्तीहरु
आलिसान महलको कल्पनामा
शहरका गल्ली गल्ली चहार्दा
ठोकिन्छ कतै टाउको त कतै घुँडा
कतै एैय्या आथ्थु कतै खुशीको वर्षा
हर घुम्तीले एक सन्देश बोकी ल्याउँछ
आउने दिनप्रतिको आशाका किरण तप्काउँछ
र म थाप्न बाध्य हुन्छु अञ्जुलीभरी
त्यहि अञ्जुलीभरीको छायाँले बदलिदिन्छु
सँगै बदलिन्छन् हिड्ने गोरेटाहरु पनि
एकैछिन म बुद्धिमान बन्छु
जीवनका लक्ष्य परिवर्तन गर्छु
संसार मुठ्ठीमा राख्ने
अनि दुनियाको एक सम्राज्यमा
आफ्नो राजको कल्पना गर्छु
जब थकित गोडाहरु टक्क अडिन्छन्
उफ्फ जीवनका लक्ष्य भरिएको अञ्जुली त्यसै फुत्किन्छ
अनि क्षणभरमै बिलीन् हुन्छन्
अनि ठोक्किएको महशुस गर्छु
धिक्कार्छु आफ्नै निधारलाई
फेरिएका घुम्तीमा चित्त बुझाउँदै
अरुलाई देखाउँने ङिच्चाइसँग रमाउँदै
फेर्न बाध्य छु फेरिरहने घुम्तीहरु
बदल्न बाध्य छु जीवनका गोरेटाहरु
चहार्न बाध्य छु असरल्ल पर्दै हजारौं घुम्तीहरु

Manisha Awasthi – Bholi Ko Asha

मनीषा अवस्थी – भोलिको आशा

उनी मेरो छेउमै थिए
म टाँसिन खोज्दै थिए
स्पन्दन बढ्दै थियो
ढक ढक ……

अली पर सरे
साँझको चकमन्न बिजुली
शहरभरी उज्यालो
लाज लाग्यो क्यारे
तर थाहा पाईन ।

आफ्नै मुटु छामे
स्पन्दन … वाउ
उनकै प्रेमील गीत गाउँदै
पर्खिरहेछ …..
मैले बुझे ।

म चाहन्थे उनको मुटु पनि टाँसियोस्
बेहोसीमै गीत घन्कियोस्
शहर थर्किने गरी
तर अहः भएन
हुँदै भएन ।

बेला कठीन थियो
बुझ्नै नसक्ने
न लीन न बीलीन
तर बाध्यता
फिस्स हाँसिदिए ।

फर्केर हेरे
आहा उनको ओठ
थर्थराई रहेको
मैले स्पष्ट देखे
आँखाको भाव
अझै निकटताको संकेत
तर म डराए
अझै बढ्यो स्पन्दन
ढक ढक …….

डराएका दुवै मुटु
छट्पटिएका दुबै मुटु
बाध्य थिए ।

बाध्यता बेलाको
पिडा लुकाएर
फिस्स दाँत देखाएर
खिन्न मन
शिथिल पार्दै फर्किए
भोलीको आशामा ।

Manisha Awasthi – Adalat

मनीषा अवस्थी – अदालत

ऊ आयो मेरो छेउमा
आयो छेउमै टक्क अडियो
आँखामा आँखा जुधाउनै नपाई
अस्ति मैले दिएको घुस सम्झेछ क्यार
ऊ निहुरियो

मेरो मन पनि हलचल नै थियो ।
आफ्नो वर्चश्वका निम्ति देखाइएको पैसा
त्यही अनुहार फर्केर आउँदा
फेरि माग्न वा माग्न लगाउन
किन आएको हो कुन्नि
म पनि त्यसै निहुरिए ।

मौन हामी दुबै भ्रष्ट्राचारी
क्षणभरपछिको समयको प्रतीक्षामा
वर्सौ‌ जस्तै कुरिरहेका दुबै
अनि हलचल दुबै मन
कमजोरी, गल्ती या बाध्यता
वा मेरो र उसको आवश्यकता
जुधेछ क्यार त्यो दिन ।

भ्रष्ट्राचार गर्न र गराउन बाध्य हामी
आज आफ्नै अदालतको कठघरामा
उभ्याइदियो आफ्नै मनले
बर्दिधारी प्रहरी हा.. हा …
भन्दा भयानक त यही मन
न त ढाँट्न नै सकियो न लुकाउन
त्यसैले त बाध्य छौ आफ्नै अदालतमा
मन र इच्छाको बहस गराउँदै
अनि आफैलाई भ्रष्टाचारी ठहराउँदै
मौनताको फैसला
शिर निहुराउने यो फैसला
फलामे बार भित्रको कारागारभन्दा भयानक
यो मनको फैसला ।