शरण आँसु – मलाई माफ गर है मेरी कविता
-मलाई माफ गर है
मेरी कविता !
-म सिसिफस’
जिन्दगी उकालो हिंड्दै छु
देउताहरूको श्रापले!
उकालो तल झर्दैछ –
ओझेल पारेर अस्तित्व
शुन्यतामा !
-देहातमा,
राप्ती नदीको किनारमा,
गाम बेसीमा र
सिरान डाँडाको हिउँमा
कविता बिम्ब पाइला
युगीन दु:खको राष्ट्रिय चिन्ह
मेटिइरहेछ !
आफ्नो अस्तित्व खोज्दै म
आफ्नै जिन्दगी
चपाइरहेछु !
युगौं देखिको
पहाड मन
अस्तित्व यात्रामा
उभिइरहेछ !
उस्तै रङ , उस्तै परिवेश
उस्तै मनको कोलाजमा पोतिंदा
चर्को घाम झैं
त्यो प्रेमिल तुष्टिको जब्बर आँखाले
तिमीलाई म कहिल्यै
हेर्न सक्तिन !
– मैले बाँच्नुका
सीमानाहरू छन्
मैले हाँस्नुका
सीमानाहरू छन्
तिमी त सीमानापारि छ्यौ
र त
तिम्रो सम्झनाको
असीमित रापले
सधैं सधैं
पग्ली रहेछु – नौनी झैं !
तर
मनकै कुलेसोबाट म बग्न सक्तिन
मलाई माफ गर है
मेरी कविता …
तिम्रो अधरको भिरबाट
म यो धर्तीमा खस्न सक्तिन !
– गणीतिय सूत्रहरूले
मनको अस्तित्व
सावित गर्दैनन्
त्यसैले त
प्रतीक्षारत मनको
साविती वयान दिंदै
समय यन्त्र घन्टाघर
सम्झनाहरूमा बजिरहन्छ !
खोल्सो बनेर जिन्दगी
अस्तित्व यात्रा
बगिरहन्छ !
-सिमलको भुवा
मन उडेको देखिनौ र ?
ढुंगा होइन- मन
आँखाहरूको धारलाई
मनले उद्’याउन सक्तिन-म !
मलाई माफ गर है
मेरी कविता …
म एउटा कवि
अनागरिक सिसिफस
तिम्रो प्रियतम
स्वर्गको उकालो चढ्दैछु
अन्तरिक्षमा !