Kusum Gyawali – Maun Dharan

वियोगको असीम पीडा साँचेर छाती भरि
सदियौ देखि मान्छेहरू
मौनधारण गर्ने गरेका छन्
वाफिएका आक्रोसका नीर विन्दु भित्र
निथु्रक्क रूझेका परेला मुन्तिर
अथाह कोलाहल हुनुपर्थ्यो वियोगको मध्यान्हमा
प्रतिशोध Continue reading “Kusum Gyawali – Maun Dharan”

Kusum Gyawali – Tulharuko Deshma

बस्तीको साझा चौतारीमा
अर्को तुल झुण्डयाउन नपाईने चेतावनी लेखेर
भर्खर झुन्ड्याइएको छ
सहअस्तीत्वको नाममा एउटा अर्को नयाँ तुल
गिट्टीसँग कुटिएका हातहरूले
चियाका मुनासँग चटक्क टिपिएका यौवनहरूले
भोकमरीले थाकेका पेटहरूले
कहिल्यै भेटन नसक्ने उचाइमा
झुण्डिरहेका हुन्छन्
हात, यौवन र पेटका पक्षमा लेखिएका तुलहरू

भोकाहरूको पक्षमा टाँगिएका महँगा रङ्गनि तुलहरू
लेखिन्छन् पेट काटेर दर्जनौ भोकाहरूकै
शहरका तुलहरू
भोकका कुराहरू मात्र उठाउछन् माथिसम्म
भोक मेटाउनका लागि भोको मान्छेको
लेबि, कर वा रोयल्टी तिर्दैनन् तुलहरूले
यी सत्ताका तुलहरूको विरूद्ध
यी तुलका सत्ताहरूको विरूद्ध
किन बोल्न पनि पाईँदैन हाकाहाकी
गुनासो पनि छ वस्तीहरूको

द्रौपदीको पक्षमा लेखिएका अग्निवर्षी तुलहरू बनाउन
थाहा छैन कहिलेसम्म नाँगिरहनु पर्ने हो
थप कति पारिजातहरूले
लेखेर छात्तिमा नागरिक सर्वोच्चता
हरेक वस्तीका चोकहरूलाई
आफ्ना टाँगमुनि हाल्नुमा
गौरव गर्छन यी राता पहेँला तुलहरू
किन कसैले बोल्ने साहस गर्दैनन
यी तुलका कलाहीन नाटकको विरूद्धमा

क्यामेराका अगाडि पर्छन यी तुलका अक्षरहरू
छेकिन्छन् अक्षरभित्रका दृश्यहरू
झुण्डिएर प्रायोजित डोरीहरूमा
तुलका अक्षरहरूमाथि पर्छन
तल पर्छन अक्षरका भावनाहरू
तुलले जोड्छन् बाटोका दूई किनाराहरू
किन जोड्न सक्तैनन् फुटेका एउटै मन पनि

मैले सोध्न सक्तिन
शहरबाट तुलमा भिज्यो
अथवा तुलबाट शहरमा चुहियो
यो असंगतीको माधक झोल

मैले सोध्न सक्तिन
साँझ पार्न भट्टीमा पसेका घामहरूलाई
यी घामका तुलहरूबाट मात्र
सम्भव छैन
भोलिको विहान निर्माण गर्न ए राता तूलहरू !
फर्केनन् भने ती घामहरू
के जवाफ छ तिमीसंग

Kusum Gyawali – Shauchalaya 1

देखाएर दुर्गन्धको त्रास
शौचालयमा फोहर गर्नु हुँदैन भन्छन्
थुनेर सुचारू शौचालयहरू
फोहोर गरिहेछन् उनीहरू नै बाटो-बाटोको छेउमा
खपिनसक्नु दुर्गन्ध छ भनेर
शौचालय बमले उडाउनु पर्छ भन्छन्
म बुझाउन सक्तिन Continue reading “Kusum Gyawali – Shauchalaya 1”

Kusum Gyawali – Jungle Ra Manchhe Haru

छोरी,
जंगलमा कहिलै हँदैन लोकतन्त्र
जंगलमा कहिलै हँदैन चुनाव
चुनावको नाटक मात्र पनि हँदैन
जंगली नेतृत्वलाई कहिलै चाहिदैन
जन अनुमोदनको पुष्पहार
वंशजको नाताले हरेक हिंश्रक डमरू
लडेर आफन्तकै बीचमा खुनीयूद्ध
सत्ताधारी बन्छ जंगलको
अनि निर्लज्ज कुरा गर्छ अबिछिन्न लोकतन्त्रको !

उभिएर २१ औं शताब्दीको संघारमा
जंगलले पढ्ने गरेकोछ अचेल
अठारौं शताब्दीको दास–बिद्रोहको कथा
लुइसोह्रौंको अन्तिम भाषण र उसको आक्रोस
जंगबहादुरको वेलायत यात्रा र कोतपर्व
जारका रूसी महलहरू र सद्धामका रिपब्लिकन गार्डहरू

फेरिएको पनि छ अचेल जंगल
बेदनाका निरीह गीतमात्र गाउँदैन जंगल
फुच्चे खरायोहरू पनि कवाज खेल्छन
हिंश्रक सिंहको ओडार मुन्तिर
बरू मारिन्छन् दौडदा-दौडदै
बोकेर स्वाभिमानको चम्कीलो आकास
एक-एक गाँस जुठोपुरोमा
आत्मा समर्पण गरिदैन जंगलमा अचेल
तर्साएर वा किनेर जनावरहरूलाई जंगलमा निकाल्न सकिदैन
प्रायोजित बासी अनुहारहरूको घिनलाग्दो जुलुस
हिंश्रक सिंहका कलाहीन नाटकहरूलाई
बेचेर स्वाभिमानका मानकहरू
सभक्ति क्रान्तिकारी कृतज्ञता चढाउँदैनन् जंगलहरू

छोरी,
के तिमी जंगली जनावर जति स्वाभिमानी बन्न सक्यौं?
के तिमी फूच्चे सेतो खरायो जति संघर्षशिल बन्न सक्यो?
यतिहँदा त जंगलमा टिक्न सक्दैन लोकतन्त्र
अनि कसरी टिक्ला छोरी
संघर्षहीन फटाहा मान्छेको बस्तीमा
मेरो प्यारो लोकतन्त्र! तिम्रो प्यारो गणतन्त्र!!

Kusum Gyawali – Saddam Ra Hami Haru

सद्दाम!
हामी फाँसी दिदैनथ्यौं तिमीलाई
दर्जनौ मान्छेको हत्या गर्ने
नरभक्षी शासकलाई पनि हामी
ससम्मान दरवारमा बस्न दिएर पाल्छौं
उसैका सेवामा टक्र्याउँछौ
करोडौंमान्छेका रगत र पसीना
दुजेल नभए दोरम्बा-सुखानी छन् हामीसँग
तेलका कुवा नभए पानीका छहरा छन् हामीसँग
वाज उड्ने समुद्री किनारा नभए
वीर छाति माथीको टिङ्गकरमा
विदेशी सैनिकका बंकरहरु छन् हामीसँग

तिमीले सत्तामा टिक्न यहाँ
चुनावको नाटक सम्म पनि गर्नु पर्दैनथ्यो
मान्छे मार्नका लागि विदेशी हतियार बोकेर बाजहरु
आफै तिमी कहाँ आउँथे
उनीहरुनै तिमीहरुलाई
आम नरसंहारको तालिम दिन्थे
पशु जस्ता खैराहरु वदमासहरू
अधिकारवादका नाटक मञ्चन गर्न उतैबाट आउथे
उनीहरुले खाने हरियो घाँस पनि उतैबाट आउथ्यो
ती घाँस खाने खसीले
विरोध जस्तै देखिने गरी समर्थन गर्थे
तर,
तिमीलाई केही कार्यवाही हुँदैनथ्यो सद्दाम!
●●●
हामीले एउटा आयोग बनाउथ्यौ
कार्यवाहीका गुड्डी हाक्थ्यौ क्रान्तिकारी भाषण गर्थ्यौ
अनि तिम्रो अग्लो दरवारका अगाडी
हाम्रो त्यो लिलिपुट आयोग
मुसाको आवाजमा वेस्सरी डुक्रन्थ्यो
तिमी मस्त निद्रामा घुरेको आवाज सुन्दा डराएर
हाम्रो आयोगले तिमीलाई सिफारिस गरेको सजायँको दफा
रातारात हटाउँथ्यो आफ्नै प्रतिवेदनबाट
तिमीलाई “डामेको साँढे” जस्तै सडकमा निस्पि्कक्री छोड्थ्यौ
अनि ‘साँढे छोड्नु हाम्रो संस्कृति हो’ भन्दै
हामी निर्लज्ज सडकमा वकालत गर्दथ्यौ
तिमीलाई केही कार्यवाही हुँदैनथ्यो सद्दाम !
●●●
वाजहरुको आफ्नो राष्ट्र हुदैन
उनीहरूलाई मन पर्दैन राष्ट्रवाद
कुल्चेर कुनैपनि मानवताका सीमाहरू
वाजले जिउँदो मान्छेलाई
लाश घोषणा गर्छ र लूछ्छ
तिमीले जेसुकै अपराध गरे पनि
राष्ट्रवादी हुनु हुँदैनथ्यो वाजका अगाडि !
आफ्नै शरीरको मासु खान खोजे पनि
तीनै हिंस्रक फटाहा वाजले
तिमीले धपाउनु हुदैनथ्यो रे उसलाई
बरु सट्टामा तिमीले अरु सयौं शरिरको
मासु खान छुट पाउथ्यौ

सद्दाम!
अब तिमी कहिल्यै नेपालमा नजन्म
किनकी तिमीलाई हतियार दिने
नरसंहारको विभत्स योजना दिने
अखण्ड सहयोग दिने
तिम्रा अत्याचारलाई मान्यता दिने
तिम्रा तानाशाहीलाई सहारा दिने
नयाँ क्रान्तिका नाममा निहत्थाका हातखुट्टा भाँच्न दिने
अमानवताको सट्टामा
हामी लोकतान्त्रिक गणतन्त्र ल्याएकाछौं

त्यसपछि
न तिमी जन्मिनेछौ हाम्रो धर्तिमा
न तिमीलाई जन्माउनेहरू जन्मिनेछ हाम्रो धर्तिमा
मात्र नयाँ यूगीन बुद्धहरु जन्मिनेछन्
हाम्रो प्यारो धर्तिमा

Kusum Gyawali – Ilam Ra Kathmandu

एकगासकै लागिमात्र त्यागेर स्वाभिमान
काठमाडौंसँग दयाको हात पसार्दैन इलाम
निसास्सीदो कन्यामको कुहिरोले
जबरजस्ती मुख छपक्क छोप्दा पनि कहिलै
अत्यासले काठमाडौंको उपनिवेश स्विकार गर्दैन इलाम
हरेक मिरमिरेमा Continue reading “Kusum Gyawali – Ilam Ra Kathmandu”

Kusum Gyawali – Paani

नचल्ने घोषणा गर्दैमा बराजुले
पानी अचल हुन सक्तैन
बादलका कोमल गुल्थाहरूले पनि
पानी बनेर सहजै भत्काउँछन्
प्रतिवन्धका चट्टानी कानूनहरू

लाग्दो हो बराजूलाई देखेर अग्ला बाँधहरू
आदेशहरूले अविछिन्न थुन्न सकिन्छ पानीलाई
पातले छाँगाबाट हाम फाल्दा लाग्दो हो वराजुलाई
एकै चिहानमा गाड्न सकिन्छ सहजै पानीलाई
बोकेर पनि छातिमा आगो
शान्त र ठन्डा भएरै बग्छ पानी
निस्कँदा अविराम संघर्षयात्रामा खोला-खोल्साहरूमा पानी
ठट्टा गर्छ असारका ब्यस्त रोपाहारहरूसँग

अराजक मानिदैन पानीले नमान्दा पनि कुनै
शक्तिका अकाट्य सिमानाहरू
समुन्द्रको शालीन गाम्भीर्य नाप्न सकिएको
मानक गहिराइ हो
पानी थुन्न खोज्दाखोज्दै पहिरोका लामा हातहरूले
पहिरोमै बगेका छन् कैयौं घमन्डी पहाडहरू
भासीएको सेतीको पानीसंग मान्छेले नभेटेको
लज्जाको गहनता हुन्छ
पूराणले रङ्ग घोल्दैमा पानीमा
पानी कहिल्यै रङ्गिएन उन्मादले

हराउँछन् पढ्न नभ्याउँदै पानीमा लेखिएका
सिमानाका आकारहरू
तिनै अक्षरहरूका लागि
भयानक युद्ध लडे मान्छेहरूले
युद्ध समाप्तीको टेवुलमा
नभेट्दा पानीमा कुनै आकृति
पानी कहिलै दोशी मानिन सक्तैन

बराजु ! तिमीले पढ्न सकेनौ भनेर
संघर्षका गतिशील पानीयात्रा
गतिहिन बन्न सक्तैन पानी
बुझ्न नसकेपछि ओजोनका प्वालहरू
ग्रहण पखाल्न सक्तैन पानीले
पानी परिभाषित हुदैन
पूराना जंगली गीतहरूले

नवजात शिशुलाई नुहाई दिंदा
पानीमा अलिकति आमा बग्छे
खसीरहँदा नशामा स्फटिक स्लाइनको प्रवाह
पानीमा अलिकति प्रेयसी बग्छे
भञ्ज्याङ्गमा प्यास मेटाउँदा भरियाको
पानीमा अलिकति जीवन बग्छ

त्यसैले
छिमेकीले देख्ने गरी मलाई पानीको इतिहास लेख्न देऊ
झुप्राको वस्ती नडुब्ने गरी मैदानमा
मलाई पानीको आत्मावृत्तान्त लेख्न देऊ
सपनाहरूको राजधानी हो पानी
मलाई गहिरो आस्थाले सलाम गर्न देऊ।

Kusum Gyawali – Pauju

फुत्किएको मालिकका खुट्टाहरुबाट
मन पर्दैन पाउजुहरुलाई
आफ्नो मसिनो आवाज
सुम्पिन्छन् मालिकहरुका पाऊमा
बेरिइरहन्छन्, टासिइन्छन्, निशर्त कुल्चिइरहन्छन्
तर पनि कहिलै दुख्दैन
पाउजुहरुको स्वाभिमान !

कहिले नीलाखुट्टाहरुमा
कहिले पहेला खुट्टाहरुमा
कहिले राता खुट्टाहरुमा
पाउजुहरु हल्लाहरुको मन्द आभाष मात्रले
निशंकोच वा निशर्त फेरिईरहन्छन्
नयाँ समयहरुसँगै अपरचित खुट्टाहरुमा
जीवनहीन पाउजूहरुलाई के मतलव नवीनताको
तर पनि निरन्तर जारी छ पाउजुहरुको
कथित नवीनताको उत्तरआधुनिक खोज

निलो बर्तमानको एन्टी क्लक यात्रामा !
पाउजुहरले व्यापार गर्छन र सेवाको अभिनय गर्छन
पाउजुहरु वेश्यावृत्ति गर्छन र राजनीतिको अभिनय गर्छन
पाउजुहरु मृत्युको अभ्यास गर्छन र जीवनको अभिनय गर्छन
खुट्टाहरुको रङ्गले फरक पार्दैन पाउजुका आवाजहरुलाई
खुट्टाका गन्तब्यहरुले बद्ल्दैन पाउजुका मनोवृत्तिहरुलाई
पाउजुले गाएका सुमधुर दासताका संगीतहरुमा
विपनामै नाचेको देख्न सकिन्छ बजारमा
स्वाधिनताको सुदूर यात्रामा निस्केका
शालीन खुट्टाहरु पनि

खुट्टामा झूण्डिनू परेकोमा पाउजुहरुले गुनासो गर्छन्
झूण्डिन चाहान्छन् टाउकोमा, गलामा वा छातिमा
सुकसुकाउँदा सरीरहरुलाई थाहा हुदैन
टाउको भित्र झुण्डिएको हुन्छ वास्तविक पाउजू
नलगाउदैमा खुट्टाहरुमा सुनका कुनै पाउजुहरु
कहिलै मुक्त हुन सक्दैनन् सरीर
नफुकाले सम्म टाउको भित्र झुण्डिएका नीला पाउजु
गणतन्त्र ब्राण्डका नयाँ एसेम्बल्ड पाउजूहरु
रातो कपडामा पनि बेरिएका हुन्छन्
टाउकामा बाधिने ती पाउजुहरु
खुट्टा लगाइने सुनका पाउजुहरु भन्दा
धेरै डर लाग्दा छन्

साढे अठारसय वर्षभन्दा पनि पुरानो छ पाउजुको इतिहास
तिमीले पढ्न अस्वीकार गरेपछि
सुनौला श्रीपेचका काला इतिहासहरु
तयार पारिएको छ पढाउन अब
सुनका पाउजुहरुको इतिहासहरु
के हामी पढ्न तयार छौ ।

Kusum Gyawali – Tul Haru Ko Deshma

बस्तीको साझा चौतारीमा
अर्को तुल झुण्डयाउन नपाईने चेतावनी लेखेर
भर्खर झुन्ड्याइएको छ
सहअस्तीत्वको नाममा एउटा अर्को नयाँ तुल
गिट्टीसँग कुटिएका हातहरूले
चियाका मुनासँग चटक्क टिपिएका यौवनहरूले
भोकमरीले थाकेका पेटहरूले
कहिल्यै भेटन नसक्ने उचाइमा
झुण्डिरहेका हुन्छन्
हात, यौवन र पेटका पक्षमा लेखिएका तुलहरू

भोकाहरूको पक्षमा टाँगिएका महँगा रङ्गनि तुलहरू
लेखिन्छन् पेट काटेर दर्जनौ भोकाहरूकै
शहरका तुलहरू
भोकका कुराहरू मात्र उठाउछन् माथिसम्म
भोक मेटाउनका लागि भोको मान्छेको
लेबि, कर वा रोयल्टी तिर्दैनन् तुलहरूले
यी सत्ताका तुलहरूको विरूद्ध
यी तुलका सत्ताहरूको विरूद्ध
किन बोल्न पनि पाईँदैन हाकाहाकी
गुनासो पनि छ वस्तीहरूको

द्रौपदीको पक्षमा लेखिएका अग्निवर्षी तुलहरू बनाउन
थाहा छैन कहिलेसम्म नाँगिरहनु पर्ने हो
थप कति पारिजातहरूले
लेखेर छात्तिमा नागरिक सर्वोच्चता
हरेक वस्तीका चोकहरूलाई
आफ्ना टाँगमुनि हाल्नुमा
गौरव गर्छन यी राता पहेँला तुलहरू
किन कसैले बोल्ने साहस गर्दैनन
यी तुलका कलाहीन नाटकको विरूद्धमा

क्यामेराका अगाडि पर्छन यी तुलका अक्षरहरू
छेकिन्छन् अक्षरभित्रका दृश्यहरू
झुण्डिएर प्रायोजित डोरीहरूमा
तुलका अक्षरहरूमाथि पर्छन
तल पर्छन अक्षरका भावनाहरू
तुलले जोड्छन् बाटोका दूई किनाराहरू
किन जोड्न सक्तैनन् फुटेका एउटै मन पनि

मैले सोध्न सक्तिन
शहरबाट तुलमा भिज्यो
अथवा तुलबाट शहरमा चुहियो
यो असंगतीको माधक झोल

मैले सोध्न सक्तिन
साँझ पार्न भट्टीमा पसेका घामहरूलाई
यी घामका तुलहरूबाट मात्र
सम्भव छैन
भोलिको विहान निर्माण गर्न ए राता तूलहरू !
फर्केनन् भने ती घामहरू
के जवाफ छ तिमीसंग

Kusum Gyawali – Shauchalaya 2

लुछेर वस्तीका हजारौं
कुमारी युवतिका कोमल अंगहरू
बटुलेपछि धार्नीका धार्नी अवैध सून
बनाउँछन् बादशाहहरूले सुनैसुनका शौचालय
अनि पार्टी कार्यालय जस्ता घरका मालिकहरू
निस्कन्छन् हरेक दिन पूजा गर्न त्यो शौचालय
सकेपछि Continue reading “Kusum Gyawali – Shauchalaya 2”

Kusum Gyawali – Ho Ma Bahun Hun

हो
म एक्काइसौ सताद्वीको बाहुन हुँ
जनै फालेर बिष्णु अवतारका दोवाटे टपरीमा
च्यातेर बिभेदका कर्मकाण्डहरू
अस्वीकार गर्दै कसैको भजन किर्तनका नीत्यकर्म
म अश्रुग्यासले रोइरहेको सडकको वीचमा छु
अगालो मारेर मेरै बालीघरे कामीदाईसंग
म चुच्चो नाके अनुहारको मान्छे
जनजाती आन्दोलनमा नारा घन्काउने
नयाँ यूगको आवाज हूँ
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

कुनै महाराजको काट्टो खान अस्वीकार गर्ने
कपाल नखौरने कुनै तानाशाहको मृत्यूमा
पशुपतिको ब्रह्मनालमा पनि
धर्म निरपेक्षको मस्तुल उठाउने
आफ्नै लागि आफै पञ्चेबाजा बजाउने
युगनायकका मूर्ति बनाउने
नयाँ समयको कालीगड हूँ
इतिहासमा पहिरो जान पूर्व मोफसलका बस्तीमा
कमलपित्तका विरूद्ध हाकहाल्ने
झसमिसेको म कटवाल हुँ
सिलाएर रंगिचंगी हिऊँ र
धानमा बहेली खेल्ने बतासको
थाङ्राभोटा तुन्ने दमाइ हुँ म
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

नलगाए पनि जनै
रित्ता घाँटीमा झुण्डिए पछि बाहुनबाद
छुवाछुत गरे पछि आफ्नै दाजुभाइ सँग
ए नयाँ युगका कथित मान्छे
तिमी खाट्टी पुराना बाहुन हौ
पुराना युगका खण्डहर
तर म धेरै फरक छु तिमीभन्दा
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

Kusum Gyawali – Sawadhan Printer Haru

कुसुम ज्ञवाली – सावधान प्रिन्टरहरु

प्रिन्टरले संकेतका भरमा
निर्देशन र सुचनाहरू चुपचाप छापिरहन्छ
प्रिन्टरले अक्षरहरू पढ्दैन अथवा वुझदैन
मात्र निर्देशन फटाफट छाप्छ
किनकि शव्दहरू सँग
उसको कुनै सम्वन्ध हुँदैन
उसका आफ्ना शब्दहरू पनि हुँदैनन्
त्यसैले प्रिन्टरको
शब्द प्रति कुनै मोह हुदैन
प्रिन्टर सँग छाप्न हुने वा नहुनेको
कुनै विवेक विन्दु हुदैन

आदेश पाए पछि कुनै डिजिटल कोडमा
मसी भए छाप्छ
नभए पनि
छपाईको अभिनय मात्र पनि गर्छ ।
प्रिन्टरको त्यो अभिनयमा
कला हुँदैन भाव पनि हुँदैन

रगत र फोहोर पानी ऊ त्यस्तै गरेर छाप्छ
मुर्ख वा विवेकी मान्छे ऊ उस्तै गरेर छाप्छ
जीबन वा मृत्यु ऊ एकै रंगमा छाप्छ
प्रिन्टरको कुनै संवेदना हुँदैन
प्रिन्टरमा कुनै कृतिम नै भए पनि चेतना हुदैन

अक्षरहरु सुन्दर भएकै आधारमा
प्रिन्टरहरूले हिजो निगाहाको तक्मा थाप्थे
हुकुम प्रमाङ्गीको ढेडु-पगरी गुत्थे
झुप्रावाट लुटिएको वाली थाप्थे
मरेका अक्षरहरुलाई क्तिगानले विउँताएको
धामीझाँक्री नाटक गर्थे
महलमा आगो झोस्ने वासका कलमको उपेक्षा गर्न
भद्दा प्रिन्टरहरूले सुनका कलमको वक्सिस् थाप्थे
ए ! टिके प्रिन्टरहरु हो
अव कहिले लेखक दावी नगर्नै गरी
हामीले खाल्टोमा पुर्र्नु पर्छ
किनकी प्राण नभएका थोत्रा प्रिन्टरहरु
कहिलै लेखक वन्न सक्दैनन्

प्रिन्टरहरू विकाउ हुन्छन्
विकाउ वस्तुहरू कहिलै लेखक हुन सक्तैनन्
अचेल प्रिन्टरले आफुलाई
रातारात लेखक भन्न थालेका छन्
ठुल्ठुला ठेली छाप्तैमा
श्रृजनशीलताहिन बाकसहरूले
लगाउंदैमा लेखकहरूले जस्तै कपडा
हिंडदैमा लेखकहरू जस्तै सडकमा
प्रिन्टरहरू कहिलै लेखक बन्न सक्तैनन्

साबधान,
आदेश र निर्देशन मात्र लेख्नेहरू
भजन मात्र गाउनेहरू
गांठी कुरा चपाउनेहरू
हिजो स्वयमले आफुलाई
प्रिन्टर घोषणा गर्नेहरू
आज आफुलाई लेखक घोषणा गर्दैछन्
तर,
हिजोका प्रिन्टरहरू कहिलै
लेखक हुन सक्तैनन्

Kusum Gyawali – Gati Kendra Ra Astitwa

नीचोरेर त्रस्त चिसा पसीनाहरू
रातको रखवारी गर्दै
चिसो जून घुम्छ निरन्तर
पृथ्वीको केन्द्र समातेर नियमित बक्ररेखामा
पृथ्वी पनि घुम्छ सूर्यको केन्द्र समातेर
अनन्त अस्तित्वको लागि परिभाषित बक्ररेखामै
जलाएर करोडौं हेलियम कणहरू छातीमा
सूर्य पनि निरन्तर घुम्छ नियमित बक्ररेखामै
निश्चित केन्द्र विन्दु समात्दै विशाल जिम्मेवारी बोकेर
अस्तित्व-सूत्रहरूका लागि
आकास गंगा पनि घुम्छ निरन्तर
अस्तित्वकै लागि घुम्नुपर्छ सबैले
कुनै न कुनै केन्द्र विन्दूमा
सबैलाई चाहिन्छ एउटा ‘ग्यालेक्टिक सेन्टर’

अन्यथा,
टुक्रिएका प्रेमकथाको मिथक जस्तै
उल्कापिण्डहरू खसेर हराएको आकाशमा
हराउने गर्दछन अनियमित गतिहरू
केन्द्र विन्दुहिन घुमाइहरू

त्यसैले, सोध्न सक्छ पृथ्वीले
ए मान्छे ! खै तिम्रो केन्द्र विन्दू ?
खै नियमित यात्राको बक्ररेखा ?
खै तिम्रो सूत्रबद्ध गति ?

यदि छैन भने समुचित जवाफ यी, समय प्रश्नको
नानीहरूले तिम्रो पनि इतिहास पढ्नु पर्नेछ,
खस्दै गरेको उल्काको धरातलमा
एउटा निरर्थक उर्जाहीन फिलिङ्गोको कथा !

Kusum Gyawali – Pahilo Palta

पहिलोपल्ट कसले राख्यो होला इश्वरलाई
सजाएर वजारको शोकेसमा ?
पहिलो पल्ट कुन बजारबिदले गय्रो होला
इश्वर “ब्राण्ड”को नामाकरण ?
खगोल बिज्ञान वा ज्योतिषशाश्त्रले मोडेर
“फिनिसिङ्” गरिएको इश्वरलाई हाल्न
कसले Continue reading “Kusum Gyawali – Pahilo Palta”

Kusum Gyawali – Samabedana Ka Sandesh Haru

हरेक विहान झसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू

म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच
एक कप चियाको लागि
समवेदना विज्ञापनको कमिसन संझन्छु
र फेरि एकपल्ट मर्न व्यग्र हुन्छु
समवेदनाको सास्कृतिक उत्सवमा
नीरोको नेपाली बासुरिहरू
शंखको कर्कश एकोहोरो आवाजहरू
मृत्युवेदनाका शतिप्रथाकालिन
एकोहोरो पञ्चेवाजाहरू
पुन पुन सुन्न उद्यत हुन्छु

किनकि हरेक विहान राजमार्गमा
लस्कर लागेका यात्रीहरू नेर
ससस्त्र वुद्धका मूर्तीहरू देखेर
हतार हतार न्यायालय पुग्दा
साक्षीको कठघरामा असरल्ल जल्न वाँकी हन्छन्
गीताका अन्तिम पानाहरू

हरेक बिहान
हेरेर आफ्नै समवेदना सन्देश
म चुपचाप उभिएकी छु
जिजीविषाका याचनातीत
एकजोर आखाहरू बोकेर

Kusum Gyawali – Mainbatti Ra Keti

मेरा हरेक कुमारी सपनाहरु
यसरीनै पग्लिरहन्छन्
जसरी पग्लिरहेछ यो मैनबत्ती
मेरा अल्पविकसित सपनाहरुमा
ह्वार्रह्वार्रती आगो लागेको देखेर
तपतप रोइरहेको छ यो मैनबत्ती
वा निकालेर बिद्रोहको अग्नीज्वाला
आफै गलिरहेछ मैनबत्ती
यही निर्क्योल गर्न पढिरहेकी छु
मेरा आदिम इतिहासका
अन्तिम पुराना पानाहरु

मलाई पोल्न मनलाग्छ
यी गतिहीन अक्षरहरु
मलाई खरानी पार्न मनलाग्छ
समयको बेगले पुराना सावित गरी सकेका
यी धर्मशास्त्र जस्ता पुराना पुस्तकहरु
व्ा बढा मास्टर सावका त्रासद धम्कीहरु
मलाई जबरजस्ती थुनिएको स्कुल
र लेख्न मनलाग्छ पग्लिदो मैनले
समयको निधारमा
किरिङ्मिरिङ एब्स्ट्रक्याक्ट भाग्यरेखाहरु

अब धेरै बाकि छैन
सकिन यो उधारो मैनबत्ती
निभेपछि एउटा समयको यो धिपधिपे ज्योति
निद्राबाट ब्यूझएको अभिनय गर्दै
अनिदोले पोलेको राता आँखाहरुमा
नबलालिमाको सौगात लिएर उठ्नेछु

खाडीको कठोर भेडीगोठबाट
उपहासको बहादुरी उभिने ढोकाबाट
मेरा माइतीहरुलाइ फर्काउन
यो विरानो समयको अन्धकार बस्तीबाट
म फेरी एकपल्ट
यो अन्तिम पत्र लेखिरहेकी छु
२० मङ्सिर २०६५

Kusum Gyawali – Jyunda Kaviharuko Laam Ma

आत्तिनु पर्दैन कविज्यू
त्यो आगोको लप्का तपाईको वस्तीमा लागेको
विनाशकारी डढेलो होइन
सदियौं देखि बाटोमा थुपारिएका
मैनकाँडाका झयाङ्गहरुमा
भरखर झोंसिएको अगुल्टो हो
संक्रमित रगत जलिरहँदा अस्पतालको इन्सिनेरेटरमा
अथवा Continue reading “Kusum Gyawali – Jyunda Kaviharuko Laam Ma”

Kusum Gyawali – Sapana Haru

मुहान थुनिए पनि पानीको
नालापानीमा बाँकी थियो
प्यास मेटाउने एउटा सपना
सुगौलीमा थिचिँदा पनि छातिहरू
बाँकी थियो
टिष्टा र काँगडा जोड्ने एउटा सपना
कोतको त्राशद नरसंहारले पनि
हत्या गर्न सकेन सपनाहरूको
झुण्ड्याइँदा Continue reading “Kusum Gyawali – Sapana Haru”

Kusum Gyawali – Moti Ko Pyala Ra Jutho Madira

साँझ,
नीलो मोतिको प्यालाका कम्मरमा
आवद्ध हुन्छन् सुनका सिक्रीहरू
छातिमा सजिएका हुन्छन हिराका कलात्मक टुक्राहरू
भरिएको हुन्छ त्यसैमा बेजोड स्वादिलो स्थानीय मदिरा
यसरी समुस्कान स्वागतमा उभिन्छे
एउटी छल्किन तयार प्याला
हरेक प्यासीसाँझका आवेगहरूनेर !

विहान,
तिर्थयात्रीको पदचापले ब्यूँझँदा झसमिसेमा
वरिपरि असरल्ल हुन्छन्
वेवारिस जुठा मोतिका प्यालाहरू
म स्वयं उठाउन सक्तिन
जुठा मोतिका प्यालाहरूमा बाँकी
सस्तो स्थानीय मदिराको स्वादिलो थेग्रो
हठात्, छोडेर ती अनमोल प्यालाहरू नै
पावन जलको नाममा
अलिकति कालो बागमती प्यूछु
पवित्र भनिएको सस्तो काँचको प्यालामा

बोकेर कलसमा पवित्र जल
फर्कदै गर्दा घाटहरूबाट
अलमलिएर रोकिन्छु दोबाटोमा
मदिराको मादक गन्धसँगै
पछ्याएर मुस्कानको इसारा
मैले हरेक पल्ट विराउँछु
मन्दिर जाने बाटो
अनि रोज्छु मद्शालाको नीलो गोरेटो

दिउँसो,
ज्यासलमा बसेर घोटिरहदाँ सधैं झैं कसीमा
कुनै लजालु प्रेमीको पानपाते स्वर्णहार
मलाई कदाचित याद हुन्छ
साँझको एकप्याला मुस्कान
एक अंगालो थकान
स्वादिलो मदिराको थेग्रो
नीलो मोतिका बेवारिस जुठा प्यालाहरू

(भाद्र १५, २०६१)

Kusum Gyawali – Jhar Ra Jhar Haru

डम्म फैलिएका छन् सदियौं देखि
फूलबारीमा थरिथरिका झारहरू
तुलसी उखेलिने डरले
हिन्दुहरू झार नउखेल्न भन्छन्
जीवहत्याको डरले
वौद्धहरू झार नउखेलौ भन्छन्
कुरान साक्षी राखेर
मुस्लिम मरूभूमिमा झार बचाऔं भन्छन्
चिहानमा रोपेका विरूवा उखेलिने डरले
इसाई झार नउखेल्न भन्छन्
यसरी नउखेलिदा झारहरू बर्षौसम्म
अचेल झारहरू जुलुस गरी रहेछन्
फूलहरू विस्थापित फूलबारीमा

कहिलै माली बन्न नसकेका बन्दुकहरूले
फुल जसरी फूलेका झारहरू देखाएर
फूलबारीमा आरक्षण मागेका छन्
पेशेवर खैरा सिकारीहरू
देखाएर वातावरणका कुरा
झार जोगाउन उपदेश दिइरहेकाछन्
एक हुल छद्म खेलाडीहरू
खेलका लागि मैदानमा झार हुनैपर्छ भन्छन्
अर्को कुनाबाट चर्न निस्केका एकहुल ध्वंसक पशुहरू
उठाउँदै गाँसको गम्भीर प्रश्न
मैदानमा झार रहनै पर्छ भन्छन्
झार उखेल्ने वर्कत हराएको
एउटा बृद्ध आलंकारिक किसान
भोका सन्ततीको अग्रपङ्तीमा
झारै झारले ढाकेका बाँझो खेतनेर
पुर्ख्यौली मौजाबाट लखेटिएको जमिनदार जस्तै
अलमल्ल उभिएको छ

झारका व्यवसायीहरू हडपेर किसानका मञ्चहरू
देखाउँदै फूलजस्तै देखिने झारहरू
आँखा थुनेर चर्को स्वरले भनिरहेछन्
कहिले अन्त हँदैन झारहरूको
– खेतमा बारीमा वा बाटोमा
– मन्दिरमा घरमा वा अफिसमा
– टावरमा पुलमा वा बाँधमा

के हामी चुपचाप हेरिरहन सक्छौं?
हाम्रै शरीरमा उम्रेका
ऐंजेरू जस्ता यी विशालु
थरिथरिका झारहरू।