J B Sherpa – Yahan Kahan Aai Puge Ma

जे बी शेर्पा – यहाँ कहाँ आइपुगें म

कहाँ म त्यों स-ह्रृदयी मुस्कानहरू र हाँसो हरु बिर्सेर !
कहाँ यहाँ पराय अनुहारहरू को भिडमा एक्लै !
जहाँ मुस्कान हरु बनावटी अनुहारमा सिमित हुन्छ !

कहाँ म भिर पाखाको माटो खेल्दै खाँदै को सम्झना बोकेर !
कहाँ यहाँ दूषित माटो हरुमा पसीना चुहाउँदै !
जहाँ जिन्दगी यन्त्रवत हुँदो रहेछ !

कहाँ म नाता , आफन्तहरू को न्यानो भीड़ छाडी !
कहाँ यहाँ चीसा गल्ली हरुमा आफन्त खोज्दै !
जहाँ आफन्तपन आफैं मा सिमित हुँदो रहेछ !

कहाँ म नाति पनाती हरु संग रमाउने बा आमा छाडेर !
कहाँ यहाँ कुकूर र बिरालो संग रुने र रमाउने हरु बिच !
जहाँ जीवन एउटा व्यक्तिगत स्वतंत्रता मा सिमित रहन्छ !

कहाँ म निर्धक्क बोल्दै , सुसेल्दै गाउने मान्छे !
कहाँ यहाँ हाच्छिउँ लाई पनि नाक भित्रै दबाउँदै !
जहाँ कुकूर पनि भुक्न र टोक्न विर्सन्छ !

कहाँ मेरो सेतो हिमाल, हरिया पहाड़, र खर्क डुल्ने मन !
कहाँ यहाँ कंक्रीट को जंगल र मोटरको बाढी बिच !
जहाँ प्रकृतिमा पनि कृत्रिम सौन्दर्यता देखिन्छ !

कहाँ म कोइली को कुहू कुहू … सल्लाघरीको स्यांइँ स्यांइँ अनी मन्दिर
र गुम्बा को टिङ टिङ आवाज छोडी !

कहाँ यहाँ अल्राम, एमवुलेन्स, पुलिस र दमकल का कर्कश साइरन बिच !
जहाँ यस्तै आवाज प्राकृतिक र दैनिकी हुन्छ !

कहाँ म मेरो गाउँ को लाला…!!! ..लैलै …!!! र ऐ कान्छी
!! भुल्दै !
कहाँ यहाँ टेक्नो , रयाप र साल्सा हरुमा बटारिँदै !
जहाँ स्वस्फूर्त तरंगहरु , सुसेलीहरू कोठाहरू भित्रै कैद हुन्छ !

सोच्छु….. ! यहाँ कहाँ आई पुगेँ म ?

J B Sherpa – Ma Aina Herdina

जे बी शेर्पा – म ऐना हेर्दिन

भन्दा भन्दै
सुन्दा सुन्दै
हेर्दा हेर्दै ,
मैले आफैंलाई पनि बुढो सम्झन थालें,
अनुभव गर्न थालें !

मलाई याद छ
पहिलो पटक जब
जुंगा रेखी देखें ओँठमाथि
दोश्रो पटक जब
फुच्चेहरुले Continue reading “J B Sherpa – Ma Aina Herdina”

J B Sherpa – Desh Dukhi Raheka Ghau Haru

जे बी शेर्पा – देश दुखीरहेका घाउहरु

छाक जुटाउन धौ धौ परे पनि
मिठो खान र राम्रो लाउन चाडै कुर्न परे पनि
धुलो र पसीना जीवन भए पनि
साग सिस्नु र ढ़िडोमै हुर्के पनि
बचे खुचेको केही थोत्रो आशा बाहेक
मलाई तिमी संग खासै गुनासो थिएन ए काठमांडू !
तर आज
म आफ्नै देशमा वैरीहरुद्वारा लुटियी रहेछु
लखेटीइ रहेको छु
शरणार्थी बनेको छु
अनि देख्छु, मेरो भत्किएको घर आँगनमा
तिरंगा ** को कालो छायाँ
उ, सुन्दै छु फेरी पनि ,
सीमापारबाट बुटहरुको गड्याम गड्याम क्रूर आवाजहरु
अर्को गायत्री ** र देबी ** को खोजीमा आउदैछ
अर्को दशगजा सारिदै छ र विर्खमानहरु मारिदै छन्
साथ साथै मेरो अस्तित्व, अस्मिता र स्वाभिमान
क्रूर हाँसोसंगै बुट मुनि दबाई रहेछ
एक्कासी छाती दुखेर आउछ , घाऊहरु बल्झिनछन
म हठात आँत्तिन्छु , रुन्छु भक्कानिएर
काठमान्डूलाई गुहार्छु आर्तनाद गर्छु
आँसु रित्तिन्छ
धेरै पछि काठमान्डू बोल्छ – “तिम्रो आँसु र रगत झूठ हो”
ए काठमांडू ! एक पटक आफैंलाई चिमोटर हेर
मेरो आँसु र रगतको आलो टाटो ,
अनि यी देश दुखी रहेका घाऊहरु बाहेक
के दशी प्रमाण देखाऊ ?
तै पनि भन्छु यी सारा घाऊहरु छोप्दै
भैगो तिम्रो सुरक्षा,सहारा र विकाशको आश्वाशन चाहिन्न
म केवल मेरो माटो चाहन्छु , उखेलिएको जंगे खम्बाहरु जहाँ को त्यहीं चाहान्छु
म केवल मेरो माटोमा देशको झंडा फरफराएको चाहन्छु
ए काठमांडू कहिले काहीं ,
अमर सिंह, भक्ति थापा र बलभद्र कुँवरको वीर गाथाहरु सुन्ने गर
शहीदहरुको देश प्रेम बुझ्ने गर
मलाई थाहा छ तिमी अचेल लेंदुप दोर्जे झै
लोभिएका छौ,वहकिएका छौ
हामी कहिल्यै शासित थिएनौ
लढयौ, मर्यों तर सिर झुकाएनौ
एक पटक त सोच फेरी, एक पटक त रोज फेरी
दास बनेर दरवारमा वस्नु या
स्वतंत्र भएर छाप्रोमा वस्नु ?
दास बनेर हैदरावादी बिरयानी खानु कि
स्वतंत्र भएर गुन्द्रुक ढिँडो खानु
दास बनेर अत्याचार सहनु राम्रो कि
स्वतंत्र भएर डटेर लड़नु राम्रो
ए काठमांडू !
म आज फेरी देश दुखी रहेका घाऊहरु छोप्दै
छातीमा ज्वालामुखीहरु सम्हाल्दै
अंतिम पटक तिमीलाई पर्खी रहेको छु ।

J B Sherpa – Spain Ka Balidani Bir Sandhe Haru

जे बी शेर्पा – स्पेनका बिर बलिदानी सांढेहरु

हज्जारौ मानव आँखा हरुको कौतुहल पूर्ण पर्खाई !!!
कोही अन भिज्ञ छैन,
के हुनेवाला छ भनेर,
कस्लाई फसायेर, झुक्कायेर हत्या गरिदै छ भनेर ,
मनोरंजन को नाममा,
पैसा नामको चीज लाइ
कुनै निर्दोष साँढे को निर्मम हत्या को दृश्य संग साटन र
Blood Sport को मज्जा लिन
रमाई रमाई, कुरी रहेछन मानव आँखा हरु !!!

आँखा हरु तैयार छन,
क्यामेरा हरु तम्तयार छन,
जीवन्त तस्बीर को निमित्त,
प्रत्य्क्ष प्रशारण को निमित्त ,

चौर मा प्रवेश गर्छ !
एउटा क्रुर अनि कपटी तरवार बाज “Torero ”
लगतै,
छाडीन्छ एउटा साँढे !
र उसलाई जिस्क्याइन्छ , रिस उठाइन्छ
र झुक्क्याई झुक्क्याई
पटक पटक जुरो बाट तरवार घुसारिन्छ
पटक पटक करतल ध्वनिमा तालिहरू बजिन्छ
कपटी तरवार बाज “Torero ” को बहादुरिपन मा

एक्लै, रक्ताम्मे साँढे,
अझै पनि उसको जुरो मा एक मूठो तरवार बोकेर
त्यही रातो झंडा लाइ रिस गर्छ
रगत धेरै बगी सक्यो,
तर अब उसको पुरै शरीर गल्दै आएको छ, सिथिल हुँदै आएको छ

तै पनि अझै ढलेको छैन !
हारेको छैन !
भागेको छैन !
क्रुर मानवता लाइ
अन्तिम पटक खुसी पार्न
ठ्ङिग उभिएको छ, जुरो तानेर
स्पेन को बीर बलिदानी साँढे !!!!!!!!!

J B Sherpa – Timro Swarga

जे .बी . शेर्पा – तिम्रो स्वर्ग

असमयमै समयले झुत्रो पारिएको अनुहार माझ ,
अझै सपना देख्न नछाडेका चम्किला आँखाहरु ,
अगाध मायाँ र स्नेहका मूलहरु सुमसुम्याउँदै,
कसैको फिर्ती आगमनमा,
भत्किएको आँगन को डिल देखि एक टक ,
उजाड उराठ गोरेटो मा पर पर सम्म,
विछ्याई रहन्छ हरेक याममा !

अनि ,बुढो रुख झैँ ठिंग ,
बेढंगका भै सकेका खस्रा र फुटेका हात् खुट्टाहरु लिएर ,
हरेक यामको आगमन लाई,
कसैको सु-कोमल यादहरुले बेरेर,
पठाई रहन्छ लपक्कै भिजेको संदेश,
संदेशमा अटाइ नअटाइ कोचिएका हुन्छन ,
सल्ला घारीको एक झोंक्का वतास,
वर पिपलको एक भारी छायाँ,
खोला खोल्छाको मुरी मुरी कलकल छङ् छङ्,
हिमालको एक मोहनी मुस्कान,
ध्वजा पताका र लुङ्दरहरु को अनगिन्ति फरफर ,
मन्दिर र गुम्बाहरुको टिङ् टिङ् ,
हलीको अलिकति हःह :ह:ह: !!
घांसी , गोठालो र चराहरुको केहि गीत,
यी सवैले एकै साथ,
भक्कानो छाडेर वह गाईरहेको हुन्छ ,
न हराउनुहै …!!! फर्की आउनुहै छकालमै …!!!
अनि,
आँखामा भोलिको सुनौलो सपनाहरु टलकाउँदै !
ति हात् खुट्टाहरुमा संजीवनी परे झैं फेरी,
त्यही उजाड उराठ गोरेटोहरुमा जुटी रहेका हुन्छन,
कसैको स्वागतमा, आशाका नयाँ पालुवाहरू खोज्दै , सुम्सुम्याँउँदै !

यो सवै तिम्रै निमित्त भै रहेको छ थाहा छ तिमिलाई ?
तर हरेक संदेश पछी,
एकाएक दिनहरु पट्यारलाग्दा र लामा बन्छन,
समय लामो तगारो बन्छ,
समय एक क्रुर सिमाना बनिदिन्छ,
उनीहरुको लागि !

शत्रु त समयनै हो ,
जो हरपल बाधक बनि दिन्छ ,
जो हरपल तिमि लाई बन्धक बनाई रहन्छ ,
बनाउन खोजि रहन्छ ,
धेरै भो तिमि अब ,
समयको बन्दि, किमार्थ हुन सक्दैनौ ,
वाध्यताको बन्दि हुन् सक्दैनौ ,
तिमि त्यहाँ फर्कनै पर्छ !

एकटक आँखाहरु बिछ्याएर
बिछोडिएका सवैले पर्खी रहेछन !
जब तिमि त्यहाँ पुग्नेछौ
वर्षौं देखि दिन दिन गन्दै मायाँ बाटेका डोरी हरु
दिन दिन गन्दै सपना बुनेका आँखा हरू
र छाँद हाल्न आत्तुर कम्पित हातहरु ले बाँधीनेछौ !
अनि फेरी
मन्द बतासमा , माटोमा ,
धुवाँ मा धुलोमा ,झरीमा , हिलोमा
खोलाको एकनास सुसाइमा घुलिएको,
आफ्नै माटोको सुवास हरुले गर्ल्याम्म अंगालो हाल्दा ,
विर्सिएर विगत , विर्सिएर भविस्य,
हर्षविभोर तिमि ,
आमाको काखमा एकाएक फेरी चुलबुले बन्दा ,
समय स्थिर पाउनेछौ , वर्तमान रोकिनेछ टक्क ,
बन्धक बन्नेछ समय,
हो त्यहिनैहो तिम्रो स्वर्ग !