Kusum Gyawali – Gati Kendra Ra Astitwa

नीचोरेर त्रस्त चिसा पसीनाहरू
रातको रखवारी गर्दै
चिसो जून घुम्छ निरन्तर
पृथ्वीको केन्द्र समातेर नियमित बक्ररेखामा
पृथ्वी पनि घुम्छ सूर्यको केन्द्र समातेर
अनन्त अस्तित्वको लागि परिभाषित बक्ररेखामै
जलाएर करोडौं हेलियम कणहरू छातीमा
सूर्य पनि निरन्तर घुम्छ नियमित बक्ररेखामै
निश्चित केन्द्र विन्दु समात्दै विशाल जिम्मेवारी बोकेर
अस्तित्व-सूत्रहरूका लागि
आकास गंगा पनि घुम्छ निरन्तर
अस्तित्वकै लागि घुम्नुपर्छ सबैले
कुनै न कुनै केन्द्र विन्दूमा
सबैलाई चाहिन्छ एउटा ‘ग्यालेक्टिक सेन्टर’

अन्यथा,
टुक्रिएका प्रेमकथाको मिथक जस्तै
उल्कापिण्डहरू खसेर हराएको आकाशमा
हराउने गर्दछन अनियमित गतिहरू
केन्द्र विन्दुहिन घुमाइहरू

त्यसैले, सोध्न सक्छ पृथ्वीले
ए मान्छे ! खै तिम्रो केन्द्र विन्दू ?
खै नियमित यात्राको बक्ररेखा ?
खै तिम्रो सूत्रबद्ध गति ?

यदि छैन भने समुचित जवाफ यी, समय प्रश्नको
नानीहरूले तिम्रो पनि इतिहास पढ्नु पर्नेछ,
खस्दै गरेको उल्काको धरातलमा
एउटा निरर्थक उर्जाहीन फिलिङ्गोको कथा !