Kunta Sharma – Aama

कुन्ता शर्मा – आमा

कवि ! सजिलो हुन्छ
आमाको प्रशंसामा कविता लेख्न
उत्कृष्ट शब्द संयोजन गर्न
भावविह्वलताको प्रदर्शन गर्न
हो साँच्चै नै सजिलो हुन्छ
आमाको महानताको कविता लेख्न ।

आमाका चाउरी परेका गालाहरू
आमाका धूमिल हुँदै गएका आँखाहरू
आमाका श्रवणशक्ति हराउँदै गएका कानहरू
आमाको सन्तुलन गुमाउँदै गएको शरीर
अनि स्मरणशक्ति हराउँदै गएको मस्तिष्क
त्यतिबेला साँच्चै नै गाह्रो हुन्छ
अति नै असहज हुन्छ
कवि ! स्नेहपूर्वक छेउमा राख्न आमालाई ।

आमाको गर्भावस्थाको सकस
आमाको कठिन प्रसववेदना
आमाले आँखा चिम्म गर्न नपाएको रात
आमाले थकाइ मार्न नपाएको दिन
अहिले कल्पनामा पनि नआउन सक्छ तिमीलाई
अनि टाढै राख्न खोज्छौ तिमी
जर्जर भएकी असक्त आमालाई ।

चाउरीले पुरिएका आमाका गालाहरू
अस्थिपञ्जर भएको शरीर
यौवनका मधुर आकाङ्क्षाहरू
सबैसबै नै पोखिए तिमीमाथि
नियास्रो, फुस्रो अनि एक्लो जीवनका
कष्टकर क्षणहरू बिर्सँदै
छोराको कोमल र मृदु मुस्कानमा
कसरी जीवन उत्सर्ग गरिन् आमाले
आफ्नो लावण्ययुक्त यौवन
कसैको न्यानो अँगालोमा रमाउने चाहना
हजारौँ इन्द्रधनुषी सपनाहरू
कसरी तिलाञ्जली दिइन् आमाले ।

फर्केर आउँदैन बितेको समय
नदीमा बग्दै गएको छालजस्तो
आमाले आफ्नै बारेमा सोचेको भए
आफ्नै सुखमा मात्र रमाएको भए
के हुने थियौ होला आज तिमी ?
लुटाहा, फटाहा या हत्यारा
हली, गोठालो या चाकर
आफ्नो जीवन उजाडेर
सारीको सप्कोभित्र
तिमीलाई नअटाएको भए
छोराछेउ बग्दै आउने आँधीबेहरीहरूबाट
पहाडजस्तो उभिएर नजोगाएको भए
के हुने थियौ आज तिमी ?

त्यसैले कवि !
सुन्दर शब्दहरूको संयोजन गर
वाक्यवाक्यमा भावुकता भर
रसाऊन् पाठक र श्रोताका आँखाहरू
बढून् मुटुका स्पन्दनहरू
सजिलो बाटो चुन
कवि ! साँच्चै नै गाह्रो हुन्छ
वृद्धा आमालाई स्नेहको छहारी दिन
बरु एकदमै सजिलो हुन्छ
आमाको महानतामा लच्छेदार कविता लेख्न ।

कवि ! मृत्यु भएपछि आमाको
सजिलो हुन्छ मूर्ति बनाउन
बिहानैपिच्छे फूल चढाउन, धूप बाल्न
आमाको नाममा सानो–सानो पुरस्कार स्थापना गर्न
श्राद्ध गर्न अनि गतिला–गतिला पिण्ड बटार्न
काजक्रियामा खर्च गर्न
दान गर्न, भागवत पढाउन
सजिलो हुन्छ सबै कुरा गर्न
तर निकै गाह्रो हुन्छ
असक्त आमालाई आफ्नो सामीप्य दिन
आमाका सुखदुखका दुईचार कुरा सुन्न
आमाको जर्जर शरीरलाई सुम्सुम्याउन
आमाका गालाहरूमा स्नेहको चुम्बन गर्न
आमाका थोते गिजाहरूमा हाँसो छर्न
कवि ! बरु साँच्चै सजिलो हुन्छ
आमाको महानता बखानेर कविता लेख्न ।

Kunta Sharma – Sapana Haru Bhayabaha Hunchhan Kina

कुन्ता शर्मा – सपनाहरू भयावह हुन्छन् किन ?

भयभीत–भयभीत भएर विषम बिपनासित
थाकेर फत्रक्क गलेर पल्टिएपछि निद्रादेवीको काखमा
बिर्सिएर विसङ्गतियुक्त बिपनालाई
सुन्दर शीतल स्वप्नलोक भेटिए हुने
बिपनालोकका झञ्झावातहरू मेटिए हुने ।

हत्या, हिंसा र त्रासदीयुक्त वर्तमानहरू भोगेर
युद्ध, रक्तपात र आर्तनादहरू खेपेर
थाकेको आतङ्कित विश्वप्राङ्गणमा
आजित भएर अत्यासलाग्दो बिपनासित
सपनामा राहतको परिवेश भेटिए हुने
बिपनालोकको निराशा मेटिए हुने ।

जँघारजस्तो जाग्रत् अवस्था छाडेर
आक्रान्त भएर लथालिङ्ग बिपनासित
प्रवेश गरेपछि स्वप्नलोकमा
दुखेर मरणान्त भएको चेतना
पुगेपछि विश्रान्तिको स्वप्नमन्दिरमा
मन कष्टका पहाडहरूले नथिचिए हुने
हृदयकुञ्जमा चिन्ताको तिर नरोपिए हुने ।

बलात्कृत विखण्डित बिपनासँग थाकेपछि
सन्त्रासको डढेलोले नराम्ररी पाकेपछि
अप्रिय अत्यासलाग्दा चित्रहरूले
बिपनालाई नपछ्याए हुने
प्रस्तर स्वप्नलोकमा काँडा नओछ्याए हुने ।
दिनदिनै अनुहार फेरेर आउने
समस्याका तिरहरूले
हरेक घुम्ती र दोबाटामा भेटिने
चिन्ता र पीरहरूले
कतै चिमोटिएर कतै लुछिएर
भुतुक्क दुखेको मन
भतभती पोलेको छाती
फत्रक्क गलेको शरीर
जब पस्रन्छ गहिरो नीँदको दुनियाँमा
त्यतिखेर त्यो सपनाको स्पर्शहीन लोक
सुन्दर शीतल भए हुने
बिपनाको व्याकुलताले नछोए हुने ।
बारूदको धुवाँभित्र हराएका गाउँ र सहरहरू
दन्किएका डढेलाहरू अनि भताभुङ्ग भएका रहरहरू
बर्बरताका हृदयविदारक दृश्यहरू
मूच्र्छित–मूच्र्छित हुन पुग्दै
समस्याका पहाडहरूले ङ्याकिएर बिपनामा
निद्रापछि शान्त प्राङ्गण भेटिए हुने
निराशाको कालो छाया मेटिए हुने ।

आजित भएर लथालिङ्ग बिपनासित
सिरानी हालेर अस्तव्यस्ततालाई
बल्लतल्ल आएको एकझप्को निद्रा
आँखाहरूसँगै बाँधिएपछि
चेतना अवचेतनामा फेरिएपछि
प्रवेश गरेपछि स्वप्नलोकमा
शरीर निचेष्ट भएपछि पनि
रातको पर्दामा सपनाको
पोखिँदै जान्छन् अनिष्टतम दृश्यहरू
घेरिँदै जान्छन् भयावह ध्वनिहरू
अनिच्छित युद्ध र सन्त्रासहरूले
पछ्याउन छाड्दैनन् किन ?
सपनाहरू भयावह हुन्छन् किन ?

सपना त आखिर सपना न हो
के जान्छ कसैको
त्यो त छहारीमुनिको चौतारीझैँ भए हुने
त्यो त वसन्तको सुन्दर फूलबारीझैँ भए हुने
डढेलोजस्तो परिवेशले पोलेको मनमा
उमङ्गका तरङ्गहरू डुलिदिए हुने
प्रसन्नताको इन्द्रधनुष झरिदिए हुने
तर सबै–सबै कल्पना हुँदै छ
विकृतिले बिपनाको सपनालाई छुँदै छ
सबै कुरा उस्तै–उस्तै छ
सपना पनि बिपनाझैँ दुरूस्तै छ
चाहना तनावमुक्तिको, चाहना आत्मसन्तुष्टिको
बलात्कृत, तिरस्कृत हुन्छन् किन ?
सपनाहरू भयावह हुन्छन् किन ?

रातहरू अझ प्रपातयुक्त बन्दै छन्
कोमल स्पर्शहरू अझ आवेगयुक्त बन्दै छन्
मगनमस्त छन् सबै आफ्नै धुनमा
ग्रहण लागेको छ सद्भावनाको जूनमा
छाडिदिऊँ बिपना त जे छ जस्तो छ
पुगेपछि विश्रान्तिको स्वप्नमन्दिरमा
दुखेको चेतनालाई, घाइते भएको मनलाई
शीतल लेप गरिदिन पाए हुने
तर उपेक्षित गर्दै सुख–शान्तिका तिर्सनाहरू
अवसादका छायाहरू निरन्तर पछ्याइरहन्छन् किन ?
सपनाहरू भयावह हुन्छन् किन ?

Kunta Sharma – Ma Basne Ghar

म बस्ने घर / कुन्ता शर्मा

गगनचुम्बी अट्टालिकाभन्दा अग्लो
निरवतामा बहेको झरनाभन्दा सङ्लो
यो मेरो शीतल घरबार
यो मेरो शान्त संसार ।

पवन सुस्तरी–सुस्तरी कोक्रोजस्तो
हल्लाइरहन्छ यस घरलाई
बिजुली चमचम गर्दै धकैबिना पस्दै
उज्यालो पारिरहन्छ यस घरलाई
वर्षा गुनगुनाउँदै कोमल स्पर्श गर्छे
यसलाई घरीघरी
रजनीगन्धा मगमगाउँदै सुगन्ध छर्छे
यसकै वरिपरि
ल हेरौँ स्फटिकका छतहरूमा
नाच्तै छ मन्दाकिनी सुस्तरी, सुस्तरी
प्रशान्त छलछलाइरहेछ
मुस्कानका हजारौँ लहर छरीछरी
रोशनपुञ्जले आलोकित यो मेरो घर
सृजनका अनन्त पङ्कज पल्लवित
यो मेरो घर
अद्वितीय यो मेरो घर
अनुपम यो मेरो घर ।

आउनुहोस् अभ्यागत
तपाईँलाई छ स्वागत
स्वच्छ स्नेह गिलासभरिभरि दिन्छु
ल पिउनुहोस् तपाईँ
आत्मीयता थालभरिभरि पस्किदिन्छु
ल लिनुहोस् तपाईँ
आउनुहोस् बाडौँ खुसीहरू
आयुका केही पलहरू चोरेर
चिन्ता र अप्रसन्नतासँग
केहीबेर मुख मोडेर
आउनुहोस् गाऔँ कोरसहरू
सम्पूर्ण शुष्कताको विरूद्ध
सम्पूर्ण निरसताको विरूद्ध ।

कलश घडाहरू टम्म–टम्म छन्
सर्दु र सेउती बोकेर
सूर्य पहिलो मुस्कान छर्छ
यहाँ राताम्य अबिर पोखेर
त हेर्नुहोस्, वसन्तपथहरूमा
पुष्प बर्साइरहेको छ
साँगुरी सुशीतल पङ्खा हल्लाइरहेको छ
स्वर्गभन्दा पनि फरक नपर्ला जस्तो
अभ्यागतहरूको मन क्षणैमा हर्ला जस्तो
अद्वितीय यो मेरो घर
अनुपम यो मेरो घर ।

फर्मामा ढालेर शब्दहरू
यत्नपूर्वक गाह्रो लगाएको छु मैले
वाक्यका बुर्जाहरू प्रयत्नले
चारैतिर सजाएको छु मैले
ठाउँ–ठाउँ अल्पविराम, अर्धविराम
र पूर्णविरामहरू जड्दै
प्रश्नसूचक चिन्हहरू पहरेदार जस्तो
जताततै उभ्याएको छु मैले ।

झ्याल–झ्यालमा तराईका पर्दा झुल्छन्
स्निग्ध हरियाली पोखेर
दृढ पहाडी गमलामा गुराँस फुल्छन्
स्वर्णिम सौन्दर्य बोकेर
ढोकाहरू निर्धक्क उभिएका छन्
घना जङ्गलको लावण्य खोसेर
हप्प परेको दिन छ
के गर्मीले आक्रान्त हुनुहुन्छ तपाईँ?
अविरल यात्राको थकाइले
के अति नै क्लान्त हुनुहुन्छ तपाईँ ?
आउनुहोस् सुस्ताऊँ केहीबेर
स्वच्छ अनि शीतल चौतारी हो
यो मेरो घर ।

आउनुहोस्, बस्नुहोस्
दूरदर्शन यन्त्र खोलिदिन्छु हेर्नुहोस्
घरको परिवेश नाघेर
सम्र्पूण विश्वलाई नै हेर्नुहोस्
मानिसले पिरोलिरहेको प्रकृति र
खुदै मानिसलाई हेर्नुहोस्
हिंसाको आगोमा पिल्सिरहेको
जीवनलाई हेर्नुहोस्
नाङ्गिदै गएको सभ्यता र
धस्कँदै गएको मान्यतालाई हेर्नुहोस्
थकाइ मारेर यो सुन्दर चौतारीमा
स्नेहपूर्वक हातमालो गरौँ अनि
विश्वबन्धुत्वका लागि जुटौँ
सुन्दर अनि शान्त फूलबारी हो
यो मेरो घर ।

गौरवले मन गुराँसजस्तो फुल्छ
यो घर देख्ता
छातीभित्र भावनाको आँधी चल्छ
यसको गीत लेख्ता
स्नेहका अनन्त लहरहरू तर्गिति हुन्छन्
यसको परिवेश टेक्दा
आउनुहोस् तपाईँ पनि यस घरमा
सम्पूर्ण समस्याहरूलाई एउटा
कीलामा टाँगेर
अमावश्याका दहहरूमा जून फुलाउँदै
सम्पूर्ण विशेषण र उपाधिहरू बिर्सेर
सम्र्पूण वैराग र यातनाका आँधीहरू बिर्सेर
मान्छे फगत मान्छे भएर
बाँचिदिऊँ केही क्षण
खिन्नताको ढिस्काबाट ओर्लेर
उन्मुक्त हुँदै हाँसिदिऊँ केही क्षण
गर्नुहोस् यो मेरो निम्तो स्वीकार
स्वच्छ अनि शीतल चौतारी हो
यो मेरो घर ।

Kunta Sharma – Ma Eklo Chhaina

म एक्लो छैन / कुन्ता शर्मा

बाटाहरू मेरा साथी
बाटाका किनाराहरू मेरा साथी
जति छन् मोड र घुम्तीहरू
ती सबै–सबै मेरा साथी
एकछिन् सुस्ताउन भेटिएको चौतारी
त्यो पनि मेरो साथी
खोलाको कलकल गीत मेरो साथी
जूनका चाँदीहरू बोकेर नाच्ने
लहर तरङ्गहरू मेरा साथी
पहिरोले ताछेका छन् पर्वतहरू
घाउ बोकेका पर्वतमालाहरू मेरा साथी
किन भन्छौ शुभ–चिन्तक
तिमी मलाई एक्लो भनेर ।

नीलो आकाश मेरो साथी
दगुरिरहेका झुण्डका झुण्ड
बादलहरू मेरा साथी
बतास कानमा साउती मार्दै कुद्छ
पातका पाउजु बजाउँदै
लतावृक्षहरू नृत्य देखाउँछन्
छहराहरू पहराबाट हाम फाल्दै
मसँग स्वर मिलाउँछन्
सुवासका झोक्काहरू फूलहरूसँग भागेर
मेरै छेउ आउँछन्
ती सबै–सबै मेरा साथी
प्रिय मित्र तिमी किन भन्छौ ?
मलाई एक्लो भनेर ।

माथि–माथि अग्लँदै आकाशगङ्गामा
पौडी खेल्छु
तल प्रशान्तका छालहरू समाएर
तरङ्गित हुँदै बहन्छु
पहाडहरू गुराँसका मुस्कानले
बोलाउँछन् मलाई
हिमशैलहरू शीतल औँलाहरूले
सुम्सुम्याउँछन् मलाई
एउटा अदुभुत कलाकार छ
जो लुकी–लुकी हिँड्दै
विभिन्न रङहरूमा विभिन्न आकारहरूमा
कहिले स्वर्ण, कहिले रजत र
कहिले हीरक छटाका
सुन्दर कलाकृति सजाउँछ शून्याकाशमा
तिनै चित्रहरू मेरा साथी
प्रकृतिका मोहक रूपहरू मेरा साथी
जीवनका विविध रङहरू मेरा साथी
प्रिय मित्र कसरी भन्छौँ तिमी ?
मलाई एक्लो भनेर ।

सल्लाका सुसेलीहरू मेरा साथी
चराका मधुर बोलीहरू मेरा साथी
डाँफे र मयुरहरू नाच्छन् उन्मुक्त भएर
मेघका गर्जनहरू मेरा साथी
जोड–जोडले चलिरहेछ आँधी
आँधीका आक्रोशहरू मेरा साथी
हुरीका हुँकारहरू मेरा साथी
भुइँचालोले चर्काएर गएको छ परिवेश
त्यसले दुखाएका सुस्केराहरू मेरा साथी
शुभ–चिन्तक कसरी भन्छौ तिमी ?
मलाई एक्लो भनेर ।

जीवन स्वच्छ एकान्तमा
फुलेको फूल बनोस्
जीवन भीषण खडेरीमा पनि
नसुक्ने मूल बनोस्
जीवन आत्मीय आँखाहरूको
सुखद सपना बनोस्
जीवन सुखद सपनाहरूको
मोहक बिपना बनोस्
ब्वाँसाहरू कहिल्यै नभेटियून्
अविरल यात्राहरूमा
लक्ष्यको शिखर छ निकै टाढा
गतिशील रहून्
कहिल्यै नथाकीकन पाइलाहरू
स्वाभिमान सधैँ जीवित रहोस्
यिनै भावनाहरू मेरा साथी
यिनै कल्पनाहरू मेरा साथी ।
यिनै इच्छा र आकाङ्क्षाहरू मेरा साथी
शुभ–चिन्तक कसरी भन्छौ तिमी ?
मलाई एक्लो भनेर ।

Kunta Sharma – Bhai Narisau Hai Timi

भाइ नरिसाऊ है तिमी / कुन्ता शर्मा

सङ्लो मन अनि स्वच्छ भाव लिएर
एकदमै चिन्तित हुँदै पिरोलिएर
छक्क परेर, अकमक्क परेर
आत्तिएर स्तब्ध भएर
तिमीसँग गर्दै छु कुराकानी
भाइ नरिसाऊ है तिमी ।

जवान नसाहरूमा मादक पदार्थ घोलेर
बिर्सेर यथार्थ, देशको सपना पोलेर
लर्खराउँदै बर्बराउँदै
लाज र घिन सबै पचाउँदै
कराउँदै चिच्याउँदै
असन्तुलित हुँदै पछारिँदै
डाङडाङ र डुङडुङ गर्दै
दिशाहीन भएर
किन कमाउँछौ दुर्नामी
भाइ नरिसाऊ है तिमी ।

तिमीलाई नशा गर्न छुट छ
जीवनको दुर्दशा गर्न छुट छ
मूल सडकमा नङ्ग्याउँदै सभ्यतालाई
दुष्टताको खुला प्रदर्शन गर्न छुट छ
हिंस्रक भएर जताततै भिड्न
कोमलतालाई टुक्रटुक्रा पारेर गिँड्न
सबै–सबै गर्न छुट छ
तन्नेरी नसाहरूमा विष घोलेर
माटाको सपना नराम्ररी पोलेर
किन फाल्छौ अमूल्य जिन्दगानी
भाइ ! नरिसाऊ है तिमी ।

अवचेतनाको अँध्यारो गुफामा बन्द
तिम्रो चेतनालाई
कसैले झक्झकाउन खोज्यो भने
अशिष्ट असभ्य बाटो त्यागेर
नयाँ र फराकिलो बाटो रोज्न भन्यो भने
कतै हान्ने राँगोजस्तो भएर
कतै टोक्ने चितुवाजस्तो भएर
बर्बर बन्दै, आतङ्कित बनाउँदै
गुमाएर सबै सन्तुलन
यन्त्रमानव भएर
नबिताऊ निन्दनीय जवानी
भाइ नरिसाऊ है तिमी ।

तिम्रो नसा–नसामा दगुरेको
यौवनयुक्त रक्तप्रवाहलाई
अनन्य ऊर्जा र
साहसयुक्त जवानीलाई
उडाएर विषाक्त धूवाँहरूमा
बिताएर समय दिशाहीन हिँडाइहरूमा
अनुत्तरदायी बन्दै माटाप्रति
आमाप्रति अनि भावी सन्ततिप्रति
नभत्काऊ शिष्टताको निसानी
त्यसैत्यसै ध्वस्त नपार जिन्दगानी
भाइ नरिसाऊ है तिमी ।

के छैन तिमीसँग ?
म हेर्छु, सबैथोक छ
तिम्रा सुपुष्ट अङ्ग–प्रत्यङ्गबाट
निः सृत हुने अखण्ड ऊर्जा छ
तिमीले चाहेमा, पसिना बगाएमा
पहाड बाध्य हुन्छ
एक ठाउँबाट अर्को ठाउँमा सर्न
नदी बाध्य हुन्छ
एक दिशाबाट अर्को दिशा बदल्न
सैरमण्डल पृथ्वीसँग अझ नजिकिन सक्छ
नौला–नौला ज्ञानको क्षितिज उघ्रिन सक्छ
नयाँ–नयाँ सम्भावनाको
अध्याय भेटिँदै जान सक्छ
मानव जीवनको विकटता
मेटिँदै जान सक्छ
अनभिज्ञ रहेर सबै कुराहरूसँग
नफाल यसै ऊर्जायुक्त जवानी
भाइ नरिसाऊ है तिमी ।

होम्ने भए आफूलाई
देशको नवनिर्माणमा होम
प्रदर्शन गर्दै आत्मबलिदानको
विकृतिको विनाशमा होम
बलिष्ठ काँधमा बोक युगलाई र
परिवर्तनका पर्वहरूमा होम
भुमरीजस्तो उठेर तरङ्गजस्तो लहरिँदै
सुन्दर, समृद्ध अनि स्वाधीन राष्ट्र–निर्माणमा होम
सङ्लो मन अनि स्वच्छ भाव लिएर
‘बहुजन हिताय’ मा बिताऊ जिन्दगानी
भाइ नरिसाऊ है तिमी ।