मैले फेरि देखेँ
तिनीहरूका आँखामा
कुहिरोको बतासजस्तो कुरूपता
जहाँ एक्काइसौँ सताब्दीको
महान् षड्यन्त्रको घना जंगल फैलिन्छ
पानीजस्तो निर्मल गीत र फूलजस्तो मुलायम संगीतबीच
किन तालमेल छैन ?
त्यहाँ पशु र पारिजातको संवेदना तुलिन्छ ।
देख्छु- सन्त र निलकण्ठको पाखण्डमा
सामेल छन् हाम्रै मानिस
जो चढिरहेछन्
मिथ्या राजनीतिको बाइपंखी घोडा
जसमा महाराजको बिलासी रूपरङ देखिन्छ
जसका सफा लुगाभित्र छ
परपीडक सनातन धर्मको पोखरी
जहाँबाट निस्केको गोहीले
वियोगजस्तो दुःखी अनुहारमाथि
आँसु चुहाउँछ
त्यहीँबाट जारी हुन्छ दमनको अध्यादेश
हत्याराहरूका नाममा
त्यहीँबाट पुरस्कारको सिफारिशपत्र लेखिन्छ ।
सफा आकाशमा बिजुली चम्केजस्तो
समयको यो मोडमा
बारम्बार म आफैसँग सोधिरहेछु
यो देशमा शासक र चटकेमा
को बढी हाँस्यकलाकार छ ?
व्यवस्था र कुहिएको कागतीमा कुन बढी अमिलो छ ?
देख्छु, सत्ताको बिलासी गद्दामा
आन्दोलनको झण्डाको रङ धमिलो छ ।
सोध्छु- लोकतन्त्रको बगैँचामा
सप्रिएका महाराजहरूको संगीत र बलात्कारीको
सदाचारी भाषणमा कति अन्तर छ ?
औतारी नेताको किताब र
देशद्रोहीको राष्ट्रिय गीतमा कुन बढी परपीडक छ ?
सुरक्षा संयन्त्र र सुँगुरतन्त्रमा
कहाँ बढी सुशासन छ ?
देख्छु, द्रौपदीको यौवनमाथि कृष्णका आँखामा दुःशासन छ ।
देख्छु, पुना विश्वकर्मा र कान्छी मिजारका आँखामा आँधी
जसको आवेगमा हत्याराको दुस्साहस तुहिन्छ
देख्छु, अस्मिता र्घर्ती र झुमा किरातीको उत्तेजनामा ज्वालामुखी
जसको सामु बन्दुक स्वयं नुहिन्छ
देख्छु, देख्छु र देख्छु
अर्ढाई करोड मानिसका आँखा-आँखामा प्रचण्ड ज्वाला
जसको रापमा सपनाको इन्द्रेनी देखिन्छ
जसले भन्छ, आगामी इतिहासमा यही कुरा लेखिन्छ
कि तिनका आँखाका ज्वालाले भष्म भएथे
इश्वर, औतारी र महाराजहरू ।