Bhanubhakta Acharya – Khwamit Yas Giridhaari Le

Nepali Poet Bhanu Bhakta Acharya
Bhanu Bhakta Acharya

भानुभक्त आचार्य – ख्वामित् यस् गिरिधारिले

ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।।
बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी।।
अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो।।

Bhanubhakta Acharya – Kantipuri Nagari

भानुभक्त आचार्य – कान्तिपुरी नगरी

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी।।

कहिँ भोट – र लण्डन – चीन – सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी।
लखनौं – पटना – मदरास – सरी
अलकापुरि कान्तिपुरी नगरी।।

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी।
अतिशूर – र – वीर – भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी।।

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी।।