Damodar Pudasainee – Barshat Ka Filinga Haru Lai

दामोदर पुडासैनी किशोर – बर्षातका फिलिँगाहरूलाई

यो बर्षातलाई
थोपा थोपा समेटेर पुरै प्युँन पाए हुन्थ्यो
दिनरात झरी झारेर एकनास रूझ्न पाए हुन्थ्यो
बर्षातसँगै कोही आफन्त झरोस् भन्ने चाहेको थिएँ
भर्खरै बर्षातमा झरे –
गिध्दका नँग्राहरू
ग्रेनेडका कणहरू
र,चुँडिँदै झरेका घामका पखेटाहरू
जीवनचँगामा उडन खोज्नेहरू
तुन्द्रुँग झुण्डिएका छन् बर्षातका लहरहरूसँगै
धेरै मान्छेहरू
आ-आफ्नै आवाजमा
एकैपटक पोख्दैछन् आ-आफ्ना ब्यथाका समुद्र
बिग्रेको रेडियोको धूनझैं
समय बनेर झर्दैछ बर्षात ,टाउकाहरूमा
बर्षातमा परदेशबाट कोही बर्स्योस् भन्ने आशा थियो
पानी होइन पसिनाले नुहाउँदारहेछन् परदेशीहरूले
पसीना, पानी ,मन -केही पनि पठाएनन् बादलसँगै
बर्षौदेखि बचेरा हराएपछि
लेउ जमेको आँगन र झाडीले ढाकेको खेतबारीमा
सकि नसकी एक्लै झरिरह्यो बुढाबुढीका सुस्केरा
यो बर्षातमा
जीवन ब्युँझाउँने केही कुरा गर्न पाएँ हुन्थ्यो भन्ने लागेको थियो
समयको डिलमा
भ्रममै बर्षिरहेछन् प्रेमका लेखोटहरू
भ्रममै चिच्याइरहेछन् बिहान ब्युँझाउने चराहरू
भ्रममै रोकिएकोछ मान्छेको आवतजावत
भ्रममै टाढिएकोछ एउटा मन पर्ने मान्छे
अक्टोपस बर्षात
चुसेर निल्न खोज्दैछ लिफ्टमा हुँईकेका मनहरूलाई
कि त रेड लाइट बाल्न खोज्दैछ फ़्लाइओवरको मध्यबिन्दूमा
काकाकुल मान्छेहरू
कैद गर्न खोज्दैछन् बर्षातलाई कचौरामा,डेक्चीमा,प्रेसरकुकरमा ,चम्चा र डाडुहरूमा
बर्षा भने दौडिरहेछ बेलगाम मनसँगै
लामों प्रतिक्षापछि
आँकुरा ब्युँझाउँन झुल्केकोछ बर्षा
यसमा तिमी र म सँगै भिज्दै हिँडिरहनपाए हुन्थ्यो
समात,बर्षा समात मुठ्ठी मुठ्ठीमा
बर्षा भाग्यों भने
भाग्नुपर्छ कुनैदिन हामीहरू सबै सबै
बर्षातका फिलिँगाहरूलाई
जोरौं र निकालौं आगो
बर्षातभित्रै त हुर्कने हो मायाको बगैँचा

-२०७६ श्रावण २६ आइतबार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ