Arjun Parajuli – Majhi Dai Ra Janga Bahadur

अर्जुन पराजुली – माझीदाइ र जङ्गबहादुर

माझी दाइले माछा मार्ने जाल
जङ्गबहादुरले जाल गरेर खोस्यो
जुन जालमा पहिले पहिले
माझी दाइले
माछा फसाउँथे र आफ्नो छाक टार्थे
त्यही जालमा जङ्गबहादुर अहिले
माझी दाइलाई फसाउँछ र
आफ्नो छाक टार्छ

माझी दाइले
मान्छे तार्ने डुङ्गा
जङ्गबहादुरले
अब खोलो अन्तै सार्ने भनेर खोस्यो
जुन डुङ्गाबाट माझी दाइ
घरी वारि ल्याउँथे जङ्गबहादुरलाई
घरि पारि लान्थे जङ्गबहादुरलाई
त्यही डुङ्गामा आज
जङ्गबहादुर आफैं
माझी दाइलाई पारि तार्ने काम गर्छ
उसले पारि यसरी तार्छ
यसरी तार्छ
यसरी तार्छ
माझी दाइको लास एकैचोटि
नेपाल टेलिभिजनमा फेला पर्छ ।