Tanka Subba – Mero Kabita Timilai

टंक सुब्बा – मेरो कबिता तिमीलाई

सोची रहेछु म
यसपालीको भेटघाटमा
के उपहार दिउँ तिमीलाई ?
म सँग एउटा साग्लो जीन्दगी छ
र छन् कोमल हृदयहरु
त्यहि हृदयबाट फक्रिएका
केहि सुन्दर कविताहरु छन्
तिनै कविताहरुको माला गाँसेर
तिम्रो आगमन पर्खिरहेछु
तिमी आउँने गोरेटोमा
कविताका गुच्छाहरु छरीरहेछु ।
र अन्धकार रातहरुमा
कविताका दीपहरु जलाईरहेछु
यसरी म तिम्रै लागि कविता लेखिरहेकोछु

तिम्रो आगमनको खुशीयालीमा
तिम्रो आगमनको सम्वोधनमा
एउटा कविता वनेर लेखिँदैछु
एउटा सरिता भएर फूल्दैछु
किनकी तिम्रो आँखामा कविता भएर देखिनुछ
यसरी जीन्दगीभर लेखिएका कविताहरु
तिम्रो लागि भएनन् भने
मैले कविता लेख्नुको कुनै महत्व हुदैन
यसर्थ मेरा कविताहरुको लागि
तिमी विम्व भएर आउँनु पर्छ
तिमी प्रतीक भएर छाउँनु पर्छ
तव मात्र मेरा शव्दले पूर्णता पाउँनेछन्
तव मात्र मेरा कविताले जीवन पाउँनेछन्
तव मात्र नयाँ संसारको सिर्जना हुनेछ
यदि मेरो कवितामा
तिमी प्रतिविम्व भएनौ भने
त्यो कविता अनर्थको हुनेछ
त्यसैले म भन्छु तिमी कवितामा
स्वतन्त्र विचार भएर आउँनु पर्छ
सुनौलो जिवन भएर वाँच्नु पर्छ
उज्यालो घाम भएर उदाउँनु पर्छ
तव मात्र मैले कविता लेख्नुको उदेश्य पुरा हुनेछ
त्यसकारण सोची रहेछु म
यसपालीको भेटघाटमा
के उपहार दिउँ तिमीलाई ?
म सँग एउटा साग्लो जीन्दगी छ
र छन् कोमल हृदयहरु
त्यहि हृदयबाट फक्रिएका
केहि सुन्दर कविताहरु छन्
तिनै कविताहरुको माला गाँसेर
तिम्रो आगमन पर्खिरहेछु
तिमी आउँने गोरेटोमा
कविताका गुच्छाहरु छरीरहेछु ।
र अन्धकार रातहरुमा
कविताका दीपहरु जलाईरहेछु
यसरी म तिम्रै लागि कविता लेखिरहेकोछु

Tanka Subba – Aja Ko Aswa

टंक सुब्बा – आजको अस्व

अ अथवा अस्तित्व
स्व अथवा स्वभिमान
हरेक देश र जनतासंग
गासीएको
टासिएको
अलङ्कार हुन् यी दुइ अक्षरहरु
त्यो हरेक देश र जनताको लागि प्रीय हुन्छ
अ र स्व अथवा अस्व
कुनै देश
र जनताले गुमाउन चाहदैनन्
जव अस्व गुम्छ
तव त्यो देश देश रहदैन
र जनता जनता हुदैनन्
अथवा देश र जनता भए पनि
कठपुतली वन्नु पर्छ कसैको
त्यसैले त अस्वको लागि
हरेक युगमा हरेक देशमा
हरेक मान्छेमा युद्घ वाचीरहन्छ
कस्लाई सह्य होला र ?
स्वभिमान खोसीएको
कस्लाई मञ्जुर होला र?
अस्तित्व लुटिएको
त्यसैले अस्व गुमाउनु भन्दा
देश युद्घघोष गर्न तयार हुन्छ
र जनता देशको लागि वलि चढ्न तयार हुन्छन्
तसर्थ हरेक देश र जनतालाई
अति प्रीयकर हुन्छ अस्व
तर विडम्वना त्यहि अलङ्कारहरु
युगौ देखि कुल्चेकाछन् लुटेकाछन्
त्यसको विरुद्घमा आवाजहरु उठाए पनि
ब्यर्थ भएकाछन् ती आवाजहरु
किनभने लुटिनेहरु लुटिएकैछन्
कुल्चिएकाहरु कुल्चिएकै छन्
यहाँ त कसैको स्वभिमानलाई कुल्चिएर उभ्नु पनि
स्वभिमानै ठान्छन् मान्छेहरु
र अस्तित्वलाई अपहरण गर्नुलाई पनि
मानवता नै सोच्छन् मान्छेहरु
यो कस्तो मत्स्यन्याय हो ?
जव कि देश र जनतामा स्वार्थ पूर्तिको लागि
स्वभिमानको हवला दिएर
अरुको स्वभिमानलाई आफैले हडप्नु ?
र मानवताको वकालत गरेर
निर्दोष र निरीहहरु माथी हमला गर्नु
चरीत्र वनेकोछ आजका हिट्लरहरुको
अरुको सामु अस्वको वखान गरेर
भित्र हिंसा र हत्याको योजना वुन्छन्
त्यसैले वर्तमान भयानक संकटहरु ब्यहोर्दै गुज्रिरहेछ

Tanka Subba – Euta Yug

टंक सुब्बा – एउटा युग

एउटा युग लेख्नलाई
श्रमजीवी हातहरुले देशको छाती-छातीमा
हलो र कोदालोले बारीको कान्ला-कान्लामा
खेतहरुको गरा गरामा
गाउघरको दलान दलानमा
निधारबाट परिश्रम बगाएर
जो बिहानीको घामसंग उदाउछ
त्यही मान्छे ।
केवल एउटा युग बनेको हुन्छ ।

हरियाली बसन्तको आचलसंग
फूलवारीका फूलहरुसंग
खेतवारीको बालीनालीसंग
जिएको हुन्छ एउटा युग
नपत्याए आफ्नो परिश्रममा रमाउने कृषकहरुलाई सोध
नपत्याए आफ्नो पाखुरी बजार्ने श्रमजीवीहरुलाई सोध
पसिनामा मान्छे भिजेको छैन भने
अन्नमा मान्छे धन्य भएको छैन भने
अथवा युगमा मान्छे उभिएको छैन भने
किनकी सपना हो युग
हिमाल उभेको हुन्छ
र उभेका हुन्छन् आकांक्षाहरु
अनि अठोट धरतीमा सिचाइ हुदा
फुल्छन् सिर्जनाका फूलहरु
त्यसैले टागिन्छन् अनन्तसम्म
सन्ततीका पुलहरु
जसबाट सजिलै हिड्ने गर्छ युग
र समयका नदीहरु तर्दै
आइपुग्ने गर्छ हामीसम्म
तसर्थ
एउटा युग लेख्नलाई
चाले हुन्छ जोसिलो कदमहरु
बोके हुन्छ भरिला उद्देश्यहरु
जहा रङ्गीएर आफ्नै श्रममा
मान्छे
एउटा युग बनेको हुन्छ ।

Tanka Subba – Shabdakosh Ra Shabda Haru

टंक सुब्बा – शब्दकोष र शब्दहरु

शब्दहरु
शब्दकोषको पर्खाल नाघेर
बाहिरीएकाछन्
जुन शब्दहरु युगौ देखि
शब्दकोषमा कैदी थिए
तीनै शब्दहरु
आज स्वतन्त्र भएकाछन्
त्यसैले यी शब्दहरु
यत्रतत्र,सर्वत्र
वोल्न थालीएको छ
लेख्न थालीएकोछ
सुन्न थालीएकोछ
भेट्न थालीएकोछ
र त्यसका अर्थहरु खोज्न थालीएकोछ
शब्दमा मात्र सिमीत रहेका
शब्दहरु
यसरी ब्युझेर उठेकाछन्
यसरी जुर्मुराएर हिडेकाछन्
र सशक्त आवाजहरुमा परिवर्तीत भएकाछन्
आजभोलि तिनै शब्दहरु
जताततै घन्किन थालेकाछन्
तिनै शब्दहरुको संयुक्त आवाजले
शासक थर्काएकोछ
सरकार डराएकोछ
किनकी शब्दहरु शब्दकोषबाट
विद्रोह गरेर उन्मुक्त भएका हुन्
सुनामी छाल बनेर शक्तिसाली वनेका हुन्
खिया परेका शब्दहरुको
अर्थ नलाग्ने भएकोछ
र त्यो अपरिभाषीत भएकोछ
शब्दकोषमा उपेक्षित शब्दहरु
शब्दकोषमा अपहेलित शब्दहरु
आफ्नो आत्मासम्मान लागि
र पहिचान लागि
नयाँ युगसँग नयाँ अर्थमा
नयाँ समयसँग नयाँ परिभाषामा
आदिम शब्दकोषको चौघेरा नाघेर
अस्तित्वमा आएका हुन्
त्यसैले शब्दहरु
अव साच्चैका शब्द भएर आएकाछन्
नयाँ परिस्थितीमा पनि शब्दहरुले
प्राचीन शब्दकोषलाई पुकारी रहे
शब्दहरु शब्दबाट मूल्यहीन हुनेछन्
शब्दहरु शब्दवाट अर्थहीन बन्नेछन्
किनकी नयाँ शब्दहरु
वहुल अर्थमा जन्मिएकाछन्
त्यस कारण नयाँ शब्दहरु
पुरानो शब्दकोषमा अटाउँदैनन्
नयाँ शब्दहरुलाई
नयाँ परिवेश चाहिएको छ
नयाँ शब्दकोष चाहिएको छ
यर्सथ नयाँ शब्दहरुले
पुरानो शब्दकोषको संरचना भत्काएर
नयाँ शब्दकोषको निर्माण जुटेकाछन्
किनभने पुरानो शब्दकोषमा
नयाँ शब्दहरुको अर्थ र परिभाषा हुदैन

Tanka Subba – Computer Sathi

टंक सुब्बा – कम्प्यूटर साथी

ब्रह्माण्डलाई अवलोकन गर्न
यो जमानामा
चराहरु झै प्वाख फिजाएर
उडिरहनु पर्दैन शून्यकाशमा
क्षण-क्षणको परिदृश्य बटुल्नलाई
पाउकष्ट गरिरहनु पर्दैन सडक-सडकमा
एउटा साघुरो कोठामा
भलाकुसारी गरे हुन्छ कम्प्यूटर साथीसंग
जसले अमनचयन देखाउछ छिनभरमा मनुष्यको
पदार्पण गराउछ श्रव्यदृश्य कोसौं टाढाको
र ताजा सन्देश फैलाउछ
द्वीप महाद्वीपका
सागर महासागरको
देश महादेशको
ऐना भएर उभिदिन्छ कम्प्यूटर साथी
सारा ठाउको
कौतुहल मेटाउछ मानवको
भू-अखण्डता हेर्नलाई
स्पर्श गरे हुन्छ कम्प्यूटर साथीलाई
जसले हृदयका पानाहरु पल्टाएर
देखाउन थाल्दछ
युद्घमा होमिएका मान्छेहरु
अभावले जीर्ण भएका देशहरु
प्रकृति प्रकोपले जीण भएका वस्तीहरु
कही हर्षोल्लासले उडाइएका बेलुनहरु
यसरी छामेर संसारलाई
उभ्याइ दिंदोरहेछ आखा अगाडि अनेकौं रङ्गहरु
जसले विह्वल हुन्छु
र बेस्सरी चिच्याउछु वेदनाले
हडबडाएर अंगाल्छु कम्प्यूटरलाई
अनि सल्बलाउछु अध्यारो कोठाभित्र
पाउछु आफैंभित्र दुःखेको संसारलाई
यहा सारा कुरा देख्न र जान्नलाई
काफी छ मेरो साघुरो कोठा
काफी छ मेरो कम्प्यूटर साथी
अब कुनै लोकको प्रतिविम्व हेर्नलाई
हुइकिरहनु पर्दैन आकासमा रकेट चढेर
सूचना पाउनलाई हिंडिरहनु पर्दैन
सडकमा पाउकष्ट गरेर
हाजिर छ सधैं कम्प्यूटर
यदि खेलाडी बन्न चाहानु हुन्छ भने
कुनै खेलको
आवश्यक छैन उत्रनु खेल मैदानमा
खेलाए हुन्छ मस्तिष्क
उफारे हुन्छ विवेक
बन्न सक्नु हुन्छ सयौं खेलको नायक
यसरी कम्प्यूटरको छातीमा
सारा कुरा भरिन्छ र कोरिन्छ भने
सत्यतालाई दखिन्छ र सुनिन्छ भने
म यो साघुरो परिवेशबाट
पठाइरहेछु सन्देश शान्तिको
जहा जहा अशान्त हुन्छ
त्यहा त्यहा पुर्या्ई देऊ
हृदयमा प्रेमका गीतहरु गुञ्जाइदेऊ
पाषण छातीहरुमा कोमल आत्मालाई फुलाई देऊ
परम साथी हुनुको अर्थ
बुझिदेऊ
मानिदेऊ
किनकी म सधैं हाजिर छु तिम्रैं सामु

Tanka Subba – Bhavprasta Boliharu

टंक सुब्बा – भावप्रष्ट बोलीहरु

गौण इशारा शब्दका केही अंशहरु
विचारलाई अभिव्यक्तिमा प्रस्तुत गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु
इश्वरले दिएको बरदान
पाएपछि जीवन नस्वीकारी कहा भो र ?

प्रकृतिको कुरुप नियति
सहज असहज नब्यहोरी कहा भो र ?
मान्छे हुनुको अर्थलाई अंगालेपछि
भावीको लेखान्त भन्न कहा पाइयो र ?
एउटा सग्लो शरीरबाट वञ्चित भएपछि
गौण इशारामा शब्दका केही अंशहरु
अन्तरआत्मालाई अभिव्यक्तिमा व्यक्त गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु ।

दृश्यको अनौठो साहारा
अस्पष्ट भाषाका दिल पुकारा
प्रत्येकको छातीमा झ्याङ्गीने मायाको लहरा
जसले गहिराइ बोकेको हुन्छ सग्लो मान्छेको जस्तै
स्वाभिमान बोकेको हुन्छ उच्च हिमाल जस्तै
सत्यता डोर्याएको हुन्छ भगवान जस्तै
बुझ्न नसकिएला क्षणभर मै
पढ्दा अमुक मान्छेको मुहार
तर बेदना हुन्छ उस्तै
चाहना हुन्छ त्यस्तै
काटे रगत हुन्छ रातै
त्यसैले उपेक्षामा अपेक्षा बोकेर
गौण इशारा शब्दका केही अंशहरु
भावनालाई अभिव्यक्तिमा प्रस्तुत गर्दा
कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु
नबुझिने नजानिने झट्टसुन्दा
तर भावप्रष्ट छन् बोलीहरु

Tanka Subba – Ganatantrik Dhoon

टंक सुब्बा – गणतान्त्रिक धुन

आजभोलि गणतान्त्रिक धुन
निरन्तर वजिरहेछ
हामी त्यहि धुन सुनेर
खुशीयालीको मनाईरहेछौ
यी धुनहरुसंगै
अरु धुनहरु पनि वज्न थालेकाछन्
र तालहरु पनि फेरिन थालेकाछन्
त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन्
धुनहरुमा विभिन्नता देखिन थालेकाछन्
यसरी हामीहरु आआफ्नै धुनमा
खुशीयाली मनाईरहेछौ

कोही भन्छन्
राजाको अवशान पछि
संघीय गणतन्त्रको धुन बजेको हो
कोही भन्छन् दशवर्षे जनयुद्घले
कोही भन्छन् बाह्रवर्षे प्रजातान्त्रिक अभ्यासले
कोही भन्छन् आम नेपालीको चाहानाले
जेसुकै भएपनि गणतन्त्रको धुन
आजभोलि निरन्तर वजिरहेछ
माथि देखि तलसम्मकाले
यो धुन बजाईरहेकाछौ
अथवा त्यसको उपभोग गरिरहेछौ
त्यसैले त अनेकौ धुनहरु सुनिरहेकाछौ
अव कुन धुनलाई कसरी सुन्ने होला ?
किनकी कसैका धुनहरु मिल्दैनन्
थरिथरिकाछन्
कसैका तालहरु मिल्दैनन्
परिपरिकाछन्
यहाँ मात्र आआफ्नै धुनहरु बजिरहेकाछन्
सवैको एउटै धुन बन्न सकेको छैन
सवैको एउटै ताल हुन सकेको छैन
तर यो गणतन्त्रको धुनमा
नाच्नेहरु आआफ्नै तालमा नाचेकाछन्
कोही हर्षे नाचेकाछन्
कोही विस्मतले नाचेकाछन्
धुनहरु बज्न थालेपछि
सवैलाई आआफ्नै तालले नाच्न मन लाग्छ
यो गणतान्त्रिक धुन हो
त्यसकारण धुनको समान अधिकार छ
सायद त्यसैले होला मान्छेहरु
कोहि राष्ट्रिय धुनमा छन्
कोहि अन्तर्राष्ट्रिय धुनमा छन्
कोहि संघीय धुनमा छन्
कोहि क्षेत्रीय धुनमा छन्
कोहि जातीय धुनमा छन्
कोही छुट्टै राज्यको धुनमा छन्
जे होस् गणतान्त्रिक धुनलाई
सवैले सुनेर उपयोग गरिरहेछन्
भोलि यो धुन कसरी वज्दै जाने हो
थाहा छैन
तर धुनले हरेक दिन उचाई लिदैछ
स्थायित्व कायम गर्दैछ
त्यसैले त धुनहरुसंग
समूह देख्न थालिएका छन्
मण्डली भेट्न थालिएका छन्
तर यहाँ अझै पनि मान्छेहरु
कति शास्त्रिय धुनमाछन्
कति आधुनिक धुनमाछन्
कति उत्तरआधुनिक धुनमाछन्
यसर्थ सवै नेपालीहरु आआफ्नै धुनमा छन्
सवै नेपालीहरु आआफ्नै तालमा छन्
कसैले कसैका धुन सुनेका छैनन्
कसैले कसैका ताल बुझेका छैनन्
मात्र गणतान्त्रिक धुन बजिरहेछ
सत्ताकालाई सत्ताको धुन बजिरहेछ
पदकालाई पदको धुन बजिरहेछ
तर जनताहरुलाई भने
महङ्गी ,गरिवीको धुन बजिरहेछ
चोरी,डकैती,हत्या,अपहरणको धुन बजिरहेछ
यथार्थमा असुरक्षाको धुन बजिरहेछ

एउटै देशका भिन्नभिन्नै धुनहरु
एउटै देशका वेग्लावेग्लै तालहरु
गणतान्त्रिक धुनसँग मिसीएर
निरन्तर वजिरहेकाछन्
कतै चर्को कतै मधुरो बजेकाछन्
कतै मधुरो कतै चर्को सुनिएकाछन्
तर धुनहरु सवैतिर बजिरहेकैछन्
वास्तवमा सत्ताका धुनहरु
तल धेरै सुनिएकाछन्
जनताका धुनहरु माथि थोरै मात्र सुनिएका छन्
यहाँ गणतान्त्रिक धुन यसरी नै गुन्जिरहेछ

हामी सवैले सुनिरहेकाछौ गणतान्त्रिक धुन
मज्जैले सुनिरहेकाछौ
त्यहि धुन सुनेर
खुशीयालीको मनाईरहेकाछौ
तर यो धुन
अव कहिले सम्म बज्ने हो थाहा छैन
तै पनि हरेकले धुनको आशा गरेकाछन्
तै पनि हरेकले धुनको भरोसा गरेकाछन्
किनकी यो धुन युगौंपछि
गुन्जेको मौलिक धुन हो
त्यसैले धुनसँग हरेकको जिवन गुन्जिनु पर्छ
त्यसैले धुनसँग हरेकको विचार समेटिनु पर्छ
किनभने यहि धुनको लागि
धेरैले रगत वगाएकाछन्
धेरैले पसीना पोखाएकाछन्
धेरैले सिंदूर पुछेकाछन्
धेरैले आफन्त गुमाएकाछन्
तसर्थ गणतान्त्रिक धुन मात्र धुन वन्नु हुदैन
देशको धुन वन्नु पर्छ
विकासको धुन वन्नु पर्छ
शहिदको सपनाको धुन वन्नु पर्छ
समग्रमा नेपाली जनतालाई सम्वोधन गर्ने धुन वन्नु पर्छ

Tanka Subba – Shahar Ko Nidrama Byunjheko Ma

टंक सुब्बा – सहरको निद्रामा ब्युझेको म

कोलाहलै कोलाहल पिएर
व्यथा बल्झाउछ
पहरेदारहरुसंग रातमा जाग्रम बस्छ
रङ्गीचङ्गी बेलुन भएर
आकासभरी रौनकतामा उड्छ
दिन र रात दुइपाउ भएर उभ्छ
तर यो सहर
आज गाढा निद्रामा परे झैं
छाएको छ सन्नाटामा
हराएको छ चहलपहलबाट
गलेको छ सहरवासीहरुको दुःखमा ।

निर्जन छ यो सहरको परिवेश
देखिन्नन् कुनै पदचिन्हहरु
ठिहीले रात जम्दा
अन्धकार हासे जस्तो
श्मशान जागे जस्तो
उज्यालो भागे जस्तो
क्षणहरुमा निदाएका छन् तमाम सहरवासीहरु
तर म एक्लै ब्युझे होला कसरी ?
अध्यारोको साम्राज्यलाई
चिरे होला कसरी ?

रात विथोल्ने कुनै आवाजहरु छैनन्
कुम्भकर्णका निद्राले छोपिरहेछ
सहरलाई
भाले डाक भैसक्यो
हटेको छैन अझै कालो चुक पोखिएको रात
औंसी परेछ कि कुन्नी
जून पनि लुकेको छ ।

उज्यालो बाचेको बेला
थिएन कुनै वेदना
थियो त केवल हजारौंको प्रेम
तर आज कथा जस्तै भएको छ
सहर अझैं ब्यूझेको छैन
चल्मलाएको छैन
आखा खोल्नै बिर्सने हो कि भनेर
झक्झकाउदै छु बारम्बार सहरलाई
संजीवनी भर्दैछु
बिहानीसंग ताजा भएर उठ्न सकोस् भनेर
तर अझै यो सहर गाढा निद्रामा परेको छ
ठिही परेको रातमा कठाङ्ग्रिएको छ ।

Tanka Subba – Din

टंक सुब्बा – दिन

घाम बोकेर जन्मने दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ
जसले जमेको तुषारो हटेर बग्छन् उत्साहको नदीहरु
छुन पुग्छन् व्योमलाई छातीबाट हाम्फालेका मनहरु
अनि साइनु गासेर दिन
सपना भएर फुल्छ मानिससंग
पीडाका कैयौं क्षणहरु भुलाएर
जतिसुकै घातक बनेर आए पनि
दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ
तथाकथित बहकाइका पलहरु
उकाली ओरालीहरुमा समेटिंदा
जल्न पुग्छन् आशाहरु
अध्यारोमा डुब्न पुग्छन् पाइलाहरु
तसर्थ सन्त्रास फैलन्छ भावनाकासभरि
दिनहरु
फेरि आफन्त नबन्लान् कि भनेर
तर नित्य झैं उदाउदा
प्रफुल्लित हुन्छु
र हतारले धकेल्न थाल्छु जीवनरथ
स्वीटर बुनेझैं बुन्न थाल्छु आकांक्षाहरु
अनि सुम्सुम्याउन थाल्छु फराकिला पथहरु
बढ्दै आउने अधेरीले कुल्चन्छ कि भनेर
बाधाहरु पन्छाउदैं
हुइकिन थाल्छु बतास झैं
दिनसंग सहयात्री बन्न सकिन्छ कि भनेर
तर सधैं बिरानो बनिरह्यो
आफैसंग हातेमालो बनेका दिनहरु
सधैं उदाएर अस्ताइरह्यो पाहुना बनेर
पर्खाइमा , सेताम्मै केशराशी फुलाएर
सारा जीवन भुलाएर
उभ्याउन खोजें दिन
बचाउन खोजे दिन
कहिल्यै उभेनन् सामुन्ने
बगिरहे नदी झैं
पग्लिरहे हिउ झैं
थामिएनन् कहिल्यै
दिनमा सारा कुरा हुन्छ
थाहा छ सबलाई
त्यसैले घाम बोकेर जन्मने दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ ।