Rakesh Karki – Akraman

इन्जिनियर राकेश कार्की – आक्रमण

विदेशमा आयो
भाषामा आक्रमण
स्वदेशमा बस्यो
जीवनमा आक्रमण

विदेशमा आफूलाई
अर्कैको साँचोमा ढाल्नुपर्ने
स्वदेशमा आफूलाई
अर्कैको कमाण्डमा चाल्नुपर्ने

विदेशमा जीवन छ
तर मन कहाँ मान्छ र ?
स्वदेशमा माया छ
तर रमाउन कहाँ पाईन्छ र ?

विदेशमा बडप्पन छ
तर आफ्नोपन कहाँ छ र ?
स्वदेशमा संस्कार छ
तर सपनी विपनीमै मरिने डर

Rakesh Karki – Laash Haru

इन्जिनियर राकेश कार्की – लाशहरु

गरीबी भित्रका लाशहरु
कुनै मरिसके
कुनै जिउँदै छन्
तर लाश भएर

सास फेर्न पाए पो
बाँच्लान ति लाशहरु
पसिनाको मूल्य पाए पो
जन्मेलान् आशहरु

भोकै छन् लाशहरु
बाँचे पनि मरे पनि
रोएकै छन् लाशहरु
रुवाउने हाँसे पनि

लाश माथि बाँच्नेहरु
दुर्गन्धमै बाँचिरहेछन्
ऐश आरामको नशाले
गन्धलाई भुलिरहेछन्

अघाएका बलिष्ठ हात
गाँस खोस्दै घिचिरहेछन्
लाशको गन्ध झैं
डकारेर गन्हाइरहेछन्

करोडौं लाशहरु
अझ लाशै छन्
तिन्का आशहरु
पनि लाशै छन्

लाशले मसानमै
जन्म लिनु परेको छ
शक्ति सबै गुमाएर
मसानमै लड्नु परेको छ

Rakesh Karki – Colorado

राकेश कार्की – कोलोराडो

जमेका ति झरना
जमेकै ताल साना
घुमेको पहाडी बाटो
सिमभन्ज्याङ झैँ कोलोराडो

हुस्सु छिचोल्दै रविको किरण
यत्र तत्र कुद्छन् हरिण
हाम्रो परीवार चढेको गाडी
बढ्दै गयो माथी माथी Continue reading “Rakesh Karki – Colorado”

Rakesh Karki – Prakriti

इन्जिनियर राकेश कार्की – प्रकृति

प्रकृतिको नियम हुन्छ
जीवन जन्मन्छ अनि मर्छ
समयमै जन्माउछ प्रकृति
समयमा नै मार्छ

प्रकृतिका भक्षकहरु
महत्वांकाक्षी त हुन्छन्
जतिखेर पनि मार्नसक्छन्
जन्माउन सक्दैनन

बदलिदिन्छन् प्रकृतिका नियम
बन्दुकको नालले
मारीदिन्छन् समय अघि नै
निरीहलाइ कालले

जन्माउनलाइ बा आमा
मार्नलाइ जो कोही पात्र
बचाउनलाइ कति कठिन
मार्नलाइ एक्कैछिन मात्र

हांस्नेहरु हांस्या हास्यै छन्
अरुलाइ हांस्न दिंदैनन्
थोरैले मात्र हांस्छन्
धेरै धेरैलाई रुवाउछन्

प्रकृतिमा प्रभुत्व जमाउनेहरु
प्रभुत्व जमाउन खोज्नेहरु
प्रकृतिको नियम त बदल्छन्
तर आफूपनि त्यहीं परिधिभित्र छन्

Rakesh Karki – Eklai Bolne Baani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – एक्लै बोल्ने बानी (गजल)

एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन्
फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन्

पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र
त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

कसैलाई मायाको तोड होला प्रेमीको विछोड होला
एक्लै बर्बराउन थाल्छन् जब पींडाले पोली दिन्छन्

आफूभित्रको पीर आफैँलाई आफैँ बोलुँ सुनुँ भन्दा
डाक्टरले किन होला मानसिक रोगको गोली दिन्छन्

– लस् एन्जेलस्

Rakesh Karki – Garo Bho (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – गाह्रो भो (गजल)

आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो
पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो

मुटु चल्यो नशा चल्यो जताततै असर
गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो

बगीरह्यो माया उर्ली आफ्नै विचार भित्र
यसो छोई मुटु खोस्री पटाउन गाह्रो भो

हिँडिरहेँ माया बोकी अँजुली मेरो भरी
जति जुक्ती गरे पनि चटाउन गाह्रो भो

कति कुरो मनभरी अड्किगो कण्ठमा
सन्के पनि रन्के पनि छटाउन गाह्रो भो

लस् एन्जेलस्

Rakesh Karki – Mandir Ko Khoji Ma

इन्जिनियर राकेश कार्की – मन्दीरको खोजीमा

आफू भित्र मन्दीर छोपी
कुन मन्दीरको खोजीमा
पण्डित हुन कि भक्तजन
बरदान खोज्छन् गोजीमा

फकाइ फुल्याइ काँध चढी
मन्दीर छुने आशामा
युधिष्टिर पनि भुलिन सक्छन्
मामा शकुनिको पाशामा

महाकवि तिम्रो यात्री हामी
तिम्रै कवितामा बग्यौँ
देवपुरीकै खोजतलासमा
नवदेश विराना पुग्यौँ

कडा मेहनत पसिनाले
मुछ्दै एकगाँस पिठो
जिवनको सन्तुष्टी नै
मन्दीरको प्रसाद मिठो

चेतनाको इश्वर उज्वल
फुकाले अभिमानको श्रीपेच
सबै हृदयमा मन्दीर होला
होमीए रिसराग दाउपेच

ऐश्वेर्यको महान मन्दीर भित्र
नचराओस् कसैको घाउ
आफ्नो मनको मन्दीर खोल
आफु भित्रै इश्वर जगाउ

– लस् एन्जेलस्

Rakesh Karki – Devkota Hamro Sandhai Maajha

इन्जिनियर राकेश कार्की – देवकोटा हाम्रो सधैँ माझ

लक्ष्मीका प्रसाद बिद्याका सागर
तिम्रो जन्मले रमझम तिहार
देउसी भैलोमा एउटै भाषा
नेपाली नेपाली बिच संगम खासा

हिमाल पहाड तराईका हामी
राष्ट्रियताको ढुकढुकी छामी
धोबिधारा देखि हलिउडसम्म
महाकवि तिमी हरेक मुटुमा टम्म

हरेक सोचाइको मिलन बिन्दु
शिक्षाको प्रकाश भाइ र बन्धु
साहित्य थलमा हाम्रो एउटै बोली
जोड्दै अँगाल्दै सारा नेपाली

मोबाइल कम्प्युटरमा नेपाली बाजा
संस्कृति चाडबाड सबैमा साझा
कृति कृतिमा दिपावली साँझ
धन्य देवकोटा हाम्रो सधैँ माझ

– लस् एन्जेलस्

Rakesh Karki – Aba Deshma Arko Aandolan Chahinchha

राकेश कार्की – अब देशमा अर्को आन्दोलन चाहिन्छ

कानुन बनाउछु भन्नेले
गैर कानुनी गर्न थाले
कहिले सासु कहिले बुहारी गर्दै
कुर्सी मात्र फेर्न थाले
छसय एक भुँडी बढाएर
भोका नांगाको बली चढाएर
जनता झुक्काउनेलाई
अलमल्लाउनेलाई
सबक सिकाउने झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

विदेशीको इशारामा
देशको माटो उडाउन थाले
हिमाल तराई भनेर
हाम्रो देश टुक्राउन थाले
जनताको पसिना पिएर
सदन हल्लाउनेलाई
जनताको घोडा चढेर
कानुन समाउनेलाई
जनताकै दह्रो झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

लस् एन्जेलस्

Rakesh Karki – Mrityu Ko Khabar

राकेश कार्की – मृत्युको खबर

सर्सर्ती समाचार पढें आज राती
कठै मरेछ बिचरा मेरो मिल्ने साथी
साह्रै खल्लो लाग्यो शोक मनाएँ
जानेको गिन्तीमा फेरी एक बढाएँ ।
कलेज पढुंन्जेल मित्रता गाढा रह्यो
कमाउन परेछी बिस्तारै टाढा भयो
इमेल लेख्छु भन्दाभन्दै त्यसै व्यस्त भएँ
दोर्याई तेर्याई मृत्युको खबर पढदै गएँ ।
साथीको निम्ति ज्यानको बाजी थाप्थ्यो
उ समिप हुँदा मेरो आत्मविश्वास जाग्थ्यो
कांध थापी थापी मलाई यति माथी चढायो
कस्तो आत्मियता मरेपछि पनि खबर सुनायो ।
जो साथीसंग लामो समय बिताएँ
ज्ञानवर्द्धक विचार उसैको पछ्याएँ
ऐर्श्वर्य सम्मानले मलाई ऊ देखि छेकिदियो
परन्तु आंखा अघि मृत्युको खबर लेखिदियो ।
दुःखमा सघाउंथ्यो ऊ साह्रै जाती
सुख पाएपछि अनायास मैले विर्से साथी
जरुरी कामले सम्झिने फुर्सद कहाँ
मृत्यु उप्रान्त सम्झी पछुताई रहेछु यहाँ ।
छातीभरी अर्ति उपदेश प्रेमको ऋण
यत्रो सम्मान, सम्पति मित्रकै देन
गुणै गुणको त्यत्रो पैंचो अब कैले मैले तिर्ने
मृत्युको खबर आंशु बनि मित्रकै स्नेह झर्ने ।।

Rakesh Karki – Thappad Le Pani Najhaskane Gala Bhayo

इन्जिनियर राकेश कार्की – थप्पडले पनि नझस्काउने गाला भयो

गर्छन् भनि जिताउदा गलामा माला भयो
सिद्धान्तको कुरा गर्नेको पछि अर्कै चाला भयो

नेताज्यू अध्यक्षज्यू हजुरहरूको
खान पाए अनुसारको छाला भयो

रातोपिरो चिल्लो पुक्क बाक्लो
थप्पडले पनि नझस्काउने गाला भयो

हजुरहरुसंग मात्र ढुकुटीको साँचो
राष्ट्रको लागि बन्द ताला भयो

मुख भए पनि बोल्न नपाउनेको
बोलीदिने हजुरको साला भयो

योजना कमिसन हजुरहरु मात्र ओढ्ने
बिचरा नाङ्गा जनतासंग टाला भयो

करोडौँको महलमा करोडौँको चर्पी
नारायणहिटीको पर्खालमा नाला भयो

घरधन्दामा पहिले पट्पट् फुटेका हातमा
अहिले श्रीमतीज्यूलाई सुनको बाला भयो

हजुरको मुटुमा फुल्दो हो रङ्गीचङ्गी फूल
गरिबको मुटुमा अभावको भाला भयो

Rakesh Karki – Aba Piyera Ke Garnu

इन्जिनियर राकेश कार्की – अब पिएर के गर्नु

अब पिएर के गर्नु
आफैँले आफैँलाई गिराए पछि
झन् झन् गिर्दै जाने छौ
नशाले मोहनी लगाए पछि

खोइ त्यो सुरक्षा वरिपरी
शान इज्जत थरीथरी
शक्तिधारी रानो पाए पछि
उडेर गए सबै मौरी

कता भाग्ने कता लाग्ने
सामर्थ छैन फेरी जाग्ने
निभाउने, बल्ने माथि माथी
अँध्यारोमा लड्यो साथी

समयले हो कि बिराएर हो
धन सम्पतिले तिर्मिराएर हो
गर्नु नगर्नु गर्दै जाँदा
पल्टियो जनताकै रगत खाँदा

त्यो मजा त्यो आनन्द
खुल्दैन अब सधैँलाई बन्द
ढोग्नेहरुले सरापी थुक्न थाले
बिराजमान हुने सामु झुक्न थाले

कोही भन्छन् तँ जनता भइस्
कोही भन्छन् तँ सिद्धिइस् गइस्
बाजे बराजुको पौरख आफ्नै देश
बिरानो भयो सब भाषा भेष

अब अर्कै बसे दरबारमा
साँध लगाउँदैछन् तरबारमा
भण्डार सबै मिलिजुली खाए
के गर्छौ ? टुलु टुलु हेर्नु सिवाय

– लस् एन्जेलस्

Rakesh Karki – Suta Timi (Nepali Geet)

इन्जिनियर राकेश कार्की – सुत तिमी (गीत)

सुत तिमी परेलीमा म छाउनेछु
सम्झ मात्र सधैँ नजिक आउनेछु

नरम औँलाले छोउ
म गितारको झंकार बनुँला
अंतर मनले छोउ
प्रकृतिको उपहार बनुँला

विविध रंग सजाउ
मुस्काउदै म दर्पण हुँला
पवित्र प्रेम सजाउ
भावनामा समर्पण हुँला

Rakesh Karki – Shanti

इन्जिनियर राकेश कार्की – शान्ति

शान्ति
कतै पनि भेटीदैन
क्षितिजसम्म देखिदैन
हातहतियार सिवाय
हो हल्ला सिवाय

तर
शान्ति
हामी ल्याऊन खोज्दैछौं
जबरजस्ति लाद् न खोज्दैछौं
खुकुरीको धारले
बारुद र गोलीले

हो
शान्ति
रोएको बच्चालाई हकारेर
रीसले भुँईमा पछारेर
कहाँ आउँछ
ऊ झनै रुन्छ

अब
शान्ति
संविधानमा आएन भने
बुद्धको भुमीमा छाएन भने
न त जन्मभुमी रहन्छ
न त कर्मभुमी रहन्छ ।।

Rakesh Karki – Swar, Shanti Ra Sambidhan

इन्जिनियर राकेश कार्की – स्वर, शान्ति र संविधान

एउटा भिँड स्वर मच्याउँदैछन्
अर्का थरी शान्ति जुलुस गर्दैछन्
हरेक दिनको होहल्लामा
संविधानका अक्षर मर्दैछन्

स्वरहरु मुठ्ठी उठाउँदैछन्
शान्तिहरु गाला थाप्दैछन्
लेख्दैनन् अब च्यात्छन् भनि
संबिधान थर् थर् काँप्दैछन्

स्वर भन्छ भनेजस्तो हुनैपर्छ
शान्ति भन्छ सबै मिल्नुपर्छ
हुँदैन पनि मिल्दैनन् पनि
संबिधानले सधैँ निराश हुनुपर्छ

– लस् एन्जेलस्

Rakesh Karki – Jaba Sarbahara Haru Mahal Ma Baschhan

इन्जिनियर राकेश कार्की – जब सर्वहाराहरु महलमा बस्छन्

जब सर्वहाराहरु महलमा बस्छन्
व्यापारीहरुको चहलपहलमा बस्छन्
बिर्सन्छन् आफू जन्मेको झुप्रोलाई
सुमसुम्याइ रहन्छन् सुनको थुप्रोलाई

डनहरु अघिपछि Continue reading “Rakesh Karki – Jaba Sarbahara Haru Mahal Ma Baschhan”

Rakesh Karki – Matayera Malai

राकेश कार्की – मताएर मलाई

कर गरी मलाई नपिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

सल्लाह लिन पो आएको आफ्नो ठानी
बिर्सन सकिनँ दिमागलाई नसाले हानी

प्यालामा प्याला नमिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

बाधासंग लड्दै अझै कोशिश गर्नुछ
शक्ति बटुल्दै मलाई पक्कै जित्नुछ

बुँद बुँद थप्दै नडुबाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

Rakesh Karki – Rasayan

इन्जिनियर राकेश कार्की – रसायन (कविता)

विषाक्त रसायन सल्वलाए
स्वच्छता वर्षिने बाटोमा
अंग अंग पक्षघात पारे
सिर्जेन कतै केही माटोमा

जोडिन्छन् गुनिन्छन् थप्दै
व्यालेन्स मिलाउन खोजिन्छन्
हचुवाका एक्सपेरिमेन्टहरुले
डरलाग्दा मिश्रण थपिन्छन्

रटाएका सूत्र कोही बक्छन्
प्रतिफल बारे अनभिज्ञ छन्
कतै पड्काउछन् जलाउछन्
कतिलाई जिउँदै गलाउँछन्

कर्तव्य गर्नेलाइ जमीन सिँच्नु छ
बाँच्नेलाइ हातमुख जोर्नु छ
अम्ल क्षारले कन्टामिनेट हावा
सास त तिमीलाइ पनि फेर्नुछ

जन्माउने जमिन एउटै हुन्
स्तनपान गराउने गौरी हुन्
रसायन बन या अमृत झर
बनाउ या मास आफ्नो घर

– लस् एन्जेलस्

Rakesh Karki – Prahari Jawan

राकेश कार्की – प्रहरी जवान

बेपत्ता पारी मारीएका
प्रहरी जवान धनबहादुर
विहृ्वल भै रोइरहेकी
धर्मपत्नि मनहजूर
अनिश्चित भविष्यमा रुमल्लिएका
टुहुरा टुहुरीको के कसूर –

जीवन कति सजिलै उजाडिएछ
भयावह पिंडामा घोप्टिएछ
जीवन केवल एकचोटी रहेछ
रुंदा रुंदा शून्य नयन पनि निचोरीएछ

जीवनको चालक नै वितेपछि
बांकी जीवन कतिदिन चल्ला र ?
घीस्रींदै घीस्रींदै जीवनले
कठोर अंधकार कसोरी छल्ला र ?

उ थियो त कर्तव्यको प्रहरी
जसको सत्ता उसैको प्रहरी
राष्ट् र जनताको प्रहरी
बेरोजगारी र भोकमा पाएको पद प्रहरी

त्यसैले जहिले पनि
खटाइएको ठाउंमा जानैपर्ने प्रहरी
तर अहिले केवल
धर्मपत्निको आंशुमा खसीरहने प्रहरी

Rakesh Karki – Detroit River

इन्जिनियर राकेश कार्की – डेट्-र्-वाईट रिभर (गीत)

तिमी विना नफूलेका पारिजातहरु
तिमी विना नसुतेका हर रातहरु
कता कता छमछम पाइलाको आवाज
उजालिएर फूले खुसी अहा मुटु माझ

डेट्-र्-वाईट रिभरको सँङ्लो पानी Continue reading “Rakesh Karki – Detroit River”