Dibya Giri – Bartaman

दिव्य गिरी – वर्तमान
(Source: मधुपर्क माघ, २०६८)

पुरानो काम नलाग्ने
चौबाटोमा फ्याँकिँदा
टुक्राटुक्रा र छरपष्ट
फुटेको घ्याम्पोजस्तै विभत्स
यो वर्तमान !
टपरीभरि खरानीको कालो डल्लो
छरवालीको मुठो र काँचो हाँडी
रातो खुर्सानी र लसुनको पोटी
चिउराको भुस र आधा बलेका धूप-बत्तीहरू
चौबाटोमा मन्छिएकोे देखेर
भूत लाग्ला भनी
मान्छेहरू थु…थु… थुकेर हिँड्छन्
मान्छेहरू छेउ लागेर हिँड्छन्
हो दुरूस्त त्यस्तै
भूताहा चौबाटो भएको छ
यो वर्तमान !
न कसैको अधीनमा बसेको छ
न त कसैको आदेशमा चलेको छ
गुजुल्टिएको धागोको डल्लोझैँ
न छेउ भेटिन्छ
न त सँगाल्नै सकिन्छ
आफू भित्रभित्रै आफै अल्झिएको
अशान्ति, अन्याय, अभाव
र अन्यौलको भूमरीमा रूमल्लिएको
जर्जर अनि वर्वर
यो वर्तमान !
हत्या, हिंसा र आतङ्कको ओदानमाथि
महत्त्वाकाङ्क्षाको हाँडी बसाली
विपनाको आगो बालेर
बन्दुकका कप्टेराहरूले
मान्छेका सपनाहरू भुटिरहेछ
मानवताको खिल्लि उडाउँदै
आतङ्क ! आतङ्क !! आतङ्क !!!
मात्र आतङ्कको उपहार दिइरहेछ
यो वर्तमान !

टीकाथली-५, ललितपुर

Dibya Giri – Paatra Kupaatra

दिव्य गिरी – पात्र–कुपात्र

मञ्चमा चहल–पहल
कतै अँध्यारो अँध्यारो
कतै उज्यालो उज्यालो
अर्थात मधुरो प्रकाशको छायाभित्र
सलबलाईरहेका मानिसहरूको आकृति
नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि
पूरै अन्धकार ओढेर
मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक
केही शसङ्कीत
तर धेरै आतङ्कीत ।

मञ्चमा निमेषभर प्रकाश फैलिँदा
पात्रहरूको हात–हातमा
बम, बन्दुक, तरवार, र लाठी देखेपछि
दर्शकहरू भित्रभित्र डराउँदै
एक–आपसमा कानेखुसी गर्छन्–
यहाँ युद्ध हुँदैछ हो !?
यहाँ लडाईं हुँदैछ हो !!??
यहाँ नाटक देखाउने कि काटमार !!!???
प्रश्नको जवाफ कस्ले दिने ?

सबै अनभिज्ञ दर्शकहरू
मञ्चको एकछेउदेखि अर्को छेउसम्म
पात्रहरू दौडन्छन्, उफ्रन्छन्, कराउँछन््
अनि शुरु हुन्छ हल्लैहल्ला र खल्बली
न कसैले बुझेको हुन्छ तिनीहरूको क्रियाकलाप
न कसैले सुनेको हुन्छ तिनीहरूको वार्तालाप
न कसैले चिनेको हुन्छ मुखुण्डोभित्रको अनुहार
यौटा पात्र हातमा
देशको झण्डा फर्फराउँदै आउँछ

अर्को पात्र
त्यो झण्डामा आगो लगाउन दौडन्छ
यौटा पात्र दुबै हातले
देशको नक्सा फैलाउँदै आउँछ

अर्को पात्र
त्यो नक्शा टुक्राटुक्रा पार्न झम्टिन्छ
कोही देशको झण्डा जलाउन उद्यत
कोही देशकै नक्शा च्यात्न तल्लिन
यो कस्तो नाटक ?
यो कस्तो खेल ?
दर्शक दीर्घाबाट यौटा आवाज आउँछ
पूरै नाटकघर थर्किने आवाज
बन्द गर यो नाटक !
बन्द गर यो नौटङ्की !!
तिमीहरू यो नाटकको पात्र होइन
तिमीहरु सबै कुपात्र हौ !
यो देशको
यो मातृभूमिको ।

टीकाथली–५, ललितपुर

Dibya Giri – Raksi Ra Mayalu Ko Maat Ustai Ustai (Nepali Gajal)

दिव्य गिरी – रक्सी र मायालुको मात उस्तैउस्तै
(मधुपर्क २०६६ जेठ)

रक्सी र मायालुको मात उस्तैउस्तै
मायालु र रक्सीको जात उस्तैउस्तै ।

आँखाभरि आँसु अनि छातीभरि चोट
दुखाई र वेदनाको खात उस्तैउस्तै ।

आˆनै Continue reading “Dibya Giri – Raksi Ra Mayalu Ko Maat Ustai Ustai (Nepali Gajal)”

Dibya Giri – Ma Arthat Hami


अर्थात
हामी
यतिबेला तपाईं सामु
यौटा निवेदन सहित उपस्थित छौं
सरकार!

अर्थात
हामी
तपाईंजस्तै यो देशका नागरिक
तपाईंकोजस्तो यो हाम्रो पनि जन्मभूमि
तपाईंलाई जस्तै प्यारो छ
स्वाधिनता
स्वतन्त्रता
र, Continue reading “Dibya Giri – Ma Arthat Hami”

Dibya Giri – Timi Nai (Nepali Gajal)

दिव्य गिरी – तिमी नै (गजल)

यो तनमा तिमी नै, यो मनमा तिमी नै
सधैँ सम्झनाको आँगनमा तिमी नै ।

छामेर हेर, मेरो यो छातीमा
मुटुको हरेक धड्कनमा तिमी नै ।

चौतारीको पीपल छहारीमा छु म
बिहानीको शीतल पवनमा तिमी नै ।

गाउँघर, सहरमा तिमी खोज्दै हिँडे
भेटेँ आराधनाको मधुवनमा तिमी नै ।

यो तनमा तिमी नै, यो मनमा तिमी नै
सधैँ सम्झनाको आँगनमा तिमी नै ।

-टीकाथली-५, ललितपुर