Bhupin Byakul – Tamagai Deshko Manchitra Bata Metindai Thiyo

भूपीन व्याकुल – तामागी देशको मानचित्रबाट मेटिदैं थियो !

शहरले अपहरण गरेको छ, तिम्रो आत्मा
र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी
देश, म त्यही आस्था र ढुकढुकी खोज्दै
यस्तो गाउंमा आईपुगेको छुं
जहां मान्छेहरु भन्दा बढी घरहरु छन्
जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

मेरो अनुहारनै
एउटा प्रश्न भएर अगाडि उभिए पछि
गाउंका बृद्ध मुखिया ओतेले भने –
“युवतीहरु सपना खोज्न शहर पसेका छन्
युवाहरु जिवन खोज्न बिदेश पसेका छन्
र प्राण थामि रहेका बुढा बुढीहरु
आंगनमा काल पर्खेर बसेका छन्
यो गाउंको तातो पसिना
बिदेशको माटोमा बगेको छ
यो गाउंको तातो रगत
बिदेशको पानीमा बगेको छ ।”

मैले सोधें –
“कसले रोपेर गए
लाहुरे फुलका यि उदास बोटहरु ?
कसले गोडेर गए
फुलबारी, करेसाबारी र खेतबारीहरु ?
खोई बिहान जगाउन
भालेहरु बासेको यो गाउंमा ?
खोई गाउं ब्युंझाउन
हिमालहरु हांसेको यो गाउंमा ?”

गाउंको जम्मै उज्यालो बिदेश लैजाने
छोरा छोरीहरु सम्झदै
बृद्ध मुखिया आतेले रुंदै भने –
“लाहुरे फुलहरु नओईलाउंदै
र बिहान ब्युंझाउन भालेहरु नबास्दै
उनीहरु आएनन् भने
मृत्यु आउने छ हाम्रा ओछ्यानहरुमा
हामीहरु सबै यसरी मर्नेछौंकी
मलामी जान पनि कोही बांकी रहने छैनन् !”

मैले देखि रहेको थिएं –
शहरमा एक रात पनि बास नपाएर
संवेदनामा संस्कृतिहरु गाउं पस्दै थिए
र यहि क्रममा
तामागी
देशको मानचित्रबाट मेटिदैं थियो !

– भुपीन व्याकुल, रचनास्थल: तामागी, २०५५

Bhairab Aryal – Khol

भैरव अर्याल – खोल

अस्पतालको सगाल पलङमा
सेतो सुकिलो ओच्छ्यान पाई
नयाँ रोगी रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याई
अहा ! कस्तो सफा विच्छौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कति मनोरम
खोपीभित्रको शैय्या जस्तो ।

तर जब ओल्टेकोल्टे गर्दा
तन्ना खोल अलि सर्न जान्छ ,
अनि रोगीको आँखा सहसा
भित्री तहमा पर्न जान्छ ।

ती सुकिला खोलहरूभित्र
कति थाङ्ना ती सिरह डसना
टाल्दैतुन्दै छोप्पिरहेको,
सयौं वर्षको अवशेषपना
छ्या! छ्या!! देख्दै डुङ्ग गनाउने
पीप रगतका टाटैटाटा
जति पल्टायो उति घिन लाग्दो
दिशापिशाबले कुहिँदा पाटा
देख्दछ जब यो रोगी
अनि पो खुल्दछ उसमा भित्री पोल
नब्य झैँ लाग्ने, भव्य झैँ लाग्ने,
ओछ्यान रहेछ केवल खोल
दारा किट्छ अनि त्यो रोगी
चिच्याउन लाग्छ च्यात्तै खोल
खोल खोलमै कति दिन धान्छौ
जगजीवनको मोल ।

तर नारी समाई भन्दछ डाक्टर
छैन यसको ब्रेन कन्ट्रोल
अनि धाइले प्याइदिन्छे
मुसुक्क हाँस्तै रङ्गिन झोल ।