Anna Dhungel – Kritika Ko Adaan

आन्ना ढुङ्गेल – कृतिकाको अडान

उनको आगमनमा घरका सबै परिवार सुखी र खुसी देखिन्थे । सुकोमल गोडाका कुर्कुच्चा ढाकिने गरी लगाएको रातो साडी, अलिक लामो र चुच्चो नाकमा अडिएको कालो चस्मा त्यसमाथि आफ्नो मधुर मुस्कानसँगै सधैँ सजिएर बस्ने कृतिको आगमन यस घरमा १२ वर्ष अघि भएको थियो । आ–आफ्ना बास्तविक नाम भएर पनि घर परिवारका सदस्यले उनीहरूलाई राम र सीताको उपनाम दिएका थिए । झन् भन्ने हो भने त श्यामलालले कृतिलाई विहे गरेर ल्याएदेखि आफूले संसार नै जितेको महसुश गर्दथ्यो । उसले कृतिलाई आफूभन्दा पनि बढी माया गरेको थियो । श्यामलाल र कृति दुवैले आफूलाई यति विश्वासको भुमरीमा होमिदिएका थिए कि त्यसको कुनै सीमा नै थिएन । ती दुईका आ–आफ्ना स्वभावमा केही भिन्नता भने थियो । श्यामलाल सधैँ ठट्यौली मै रमाउन चाहन्थ्यो भने कृति अलि भावुक थिइन् । एकदिन श्लामलालले ठट्यौली पारामा सोध्यो– “कृति हाम्रो बिस्वासै विश्वासले भरिएको मायामा कुनै दिन कुनै किसिमको बाधा अड्चन आई लागे अथवा हामी दुई एक–अर्काबीच अलग्गिएर बस्नुपर्ने भयो भने तिमी के गर्छेऊ नि ?” कृतिले भावुक हुँदै जवाफ दिइन्– “यो संसारमा हामीलाई सँगै बाच्न नदिए पनि हामीलाई सँगै मर्नबाट त कसैले वञ्चित गर्न सक्दैन होला नि, होइन र ? कृतिको मुखबाट यस्तो सुनिसकेपछि दुवैले एक–अर्काको अँगालोमा बाँधिएर हर्षका आँसु झारेका थिए । म भने यी दुईको प्रेम बीचमा रमिते बनेर हेरिरहन्थे र सोच्दथे– “के साच्चै माया भन्ने चीज यस्तै हुन्छ त ? “यस्तो सुन्दर जीवन बाच्ने इच्छा सबैमा हुनु स्वभाविकै हो । आफूले इच्छाएको कुराहरू सबै सफल र सार्थक हुने पनि कहाँ हो र ? जीवन संघर्षशील हुन्छ । विभिन्न किसिमका बाधा अड्चनलाई पन्छाउँदै र जीवन आइपर्ने समस्यासँग सुध्दै अगाडि बढ्नु नै मानव जीवन हो । जीवन जिउने क्रममा थुप्रै मोडहरू आउँछन् । प्रत्येक मोडमा प्रत्येक मानिसले संघर्ष गर्नु नै पर्दोरहेछ । कसै–कसैलाई मायाको विश्वासको फल कहिले काहीँ हृदयको घाउ पनि बन्दो रहेछ । यस्तो सोच्दा सोच्दै एक छिन म कता कता हराएँछु ।

आज कृति तीनै आफ्ना मायालु श्रीमानलाई जीवन–मरणको दोसाँधमा देखेर आफ्ना विगतका दिनहरू सम्झदै एकोहोरो उनको मुखमा टुलुटुलु हेरिरहन्छिन् । उनलाई आज खपिनसक्नु भएको छ । आफ्नो श्रीमानको यस्तो अवस्था उनले सोच्न पनि सक्दिनन् । आफ्नो काँधमा निकै ठूलो जिम्मेवारी आइलागेको उनलाई आज राम्रोसँग महशुस हुन थालेको छ । आफ्ना कलिला दुई छोराछोरीको अन्यौलपूर्ण भविष्य देख्दा उनको मुटु काप्नु स्वभाविक नै भयो । आफ्ना आँखा भरि टलपल–टलपल भरिएका आँसुलाई भित्रभित्रै उनले सुकाउँछिन् र आजका दिनसम्म श्लामलालले निभाएको कर्तव्य र जिम्मेवारी अब आफूले कतै पनि तलमाथि हुन नदिइकन निभाउनु पर्ने कुरामा उनले दृढ संकल्प गर्दछिन् । श्यामलाल बढो मिहिनेती थिए । आफ्नो जिम्मवारीलाई उनले कहिल्यै पनि दुःख र बोझ भन्ने सम्झदैनथिए । शारीरिक रूपमा जति नै परिश्रम गरे पनि मानसिक रूपमा उनी सधैँ प्रफुल्लित देखिन्थे । उनी “बेइमानी गरेर कमाएको धनले चौरासी व्यञ्जन खानुभन्दा मिहिनेतको कमाइले एकछाक नूनसँग भात खानु नै राम्रो” भन्थे । जीवनलाई कहिल्यै पनि बोझ नसम्झने श्लामलालको परिवार आर्थिक रूपमा विपन्न परिवार हो । जीवनमा जस्तो सुकै संकट पर्दा पनि उनको आत्तिने स्वभाव भने थिएन । यसमा कृतिको पनि ठूलो हात रहन्थ्यो । सँधैजस्तो ठट्यौलीमै रमाउन चाहने श्यामलाले आज निकै भावुक हुँदै भने– “कृति मैले तिमीलाई भौतिक सुख दिन सकिनँ, हाम्रो विवाह भएको पनि यतिका वर्ष बितिसके । तिम्रा पनि त रहरहरू होलान् । तिमीसँगैका सबै साथीहरू सम्पन्न घरमा परेका छन् । तिम्रो भने हामीजस्तो गरिबको घरमा विवाह हुन पुग्यो । कतै तिमीले मलाई गाली त गरेकी छैनौं नि ? कृपया मलाई माफ गर ।”

आफ्ना श्रीमानको मुखमा यस्तो नैराश्यता छाएको देखेर कृतिले मलिन स्वरमा भनिन्– “धत् लाटो मान्छे, यस्ता कुरामा पनि चिन्ता लिने हो ? मैले तिमीबाट सबै भन्दा बढी माया पाएको छु । यही हो मेरा लागि सबैभन्दा ठूलो कुरा । म यसैमा रमाउन चाहन्छु, यसैमा खुसी हुन चाहन्छु । हेर, तिमीले यस्ता झिना मसिना कुरामा अल्झेर हुँदैन । अरुले जस्तै हामीले पनि खाना खाएकै छौं । तिम्रो इमान्दारीताको कमाइले हामीलाई खाना लगाउन त गाह्रो भएको छैन नि ? आखिर धनी पनि एक दिन न एकदिन मर्नै पर्छ । जन्मँदा जुन रूप लिएर हामी यस संसारमा आएका थियौं आखिर मर्दा पनि उसै गरी यस संसारबाट बिदा हुनुपर्छ । अरुको मन दुखाई दुखाई बेइमानीका साथ कमाएर थुपारेको धन– सम्पत्तिको मलाई कुनै लोभ लालचा छैन र तिमी पनि आजदेखि यस्ता कुराहरू दिमागबाट हटाइदेऊ । तिम्रो परिश्रममा म पनि सधैँ साथ दिइरहने छु ।” आफूले यस्ती जीवनसंगिनी पाएकोमा श्यामलाल गर्वले फूलिए । कृतिले भनेजस्तै श्यामलाले ज्याला मजदुरी गरेरै भए पनि इमानदारीका साथ आफ्ना परिवार पाल्दै आएका थिए । आफूले जति नै दुःख गरे पनि उनले आफ्ना सन्तति र श्रीमतीलाई सकेजति सुखसयल दिनुपर्छ भन्ने सोचाइले उनी दिन रात कडा परिश्रम गर्दथे । धन–सम्पत्ति प्रसस्त नभए पनि उनीहरूको परिवारमा माया र ममता साटासाट गर्ने शैलीमा भने कुनै कमी थिएन । श्यामलाल जति नै खटे पनि उनको एक्लो कमाइबाट ४–४ जनाको परिवार पाल्नुपर्दा उनलाई कहिले काहीँ समस्या आइ नलागेको पनि होइन । जस्तोसुकै समस्या आइलागे पनि उनी हिम्मत भने हार्दैनथे । इमानदारी र मेहनतका साथ काम गर्दै गयो भने एक दिन न एक दिन त गन्तव्यमा पुगिन्छ भन्ने उनलाई विश्वास थियो । उनको यस विश्वासमा कृतिले झन बेला–बेलामा ऊर्जा थप्ने काम गर्दथिन् र यही अटल विश्वासलाई कृतिले पनि हरहमेशा साथ दिँदै आएकी थिइन् । आफ्नी प्राणभन्दा प्यारी श्रीमतीको हौसलाले गर्दा पनि उनी झनै बढी मिहिनेतका साथ सधैँ काम गरिरहन्थे । यही क्रममा उनीहरूको दिनचर्या बित्दै थियो । दैवको लीला अपरम्पार भने जस्तै उनको परिवारमाथि पनि यस्तै हुन गयो । एकदिन सबेरै उनी हँसिया र डोरी साइकलको पछाडि च्यापी दाउरा लिन भनी आफ्नो घरबाट दक्षिणको जंगलतिर लाग्छन् । सँधैजसो श्यामलालमा त्यसदिन उस्तो जाँगर थिएन । आज उनलाई घरबाट बाहिर निस्कन उतिसारो मन थिएन । मन नलागी नलागी पनि उनी जंगल भित्र छिर्छन् र आफूले बोक्न सक्ने जति दाउरा काटी साइकलमा भारी कसेर घरतिर लाग्ने तरखरमा हुन्छन् । एक्कासी उनले गोली चलेको आवाज सुन्छन् । सोही जंगलमा सरकार र विद्रोही पक्षबीच भिडन्त भइरहेको रहेछ । गोली चलेको आवाजले श्यामलाल त्रसित हुन्छन् । उनले आफ्नो जीवन बचाउनका लागि दाउराको भारी बाँधिएको साइकल त्यही छोडी भाग्छन् । एक्लै जंगलमा भागेको देखेर सरकार पक्षले विद्रोही नै हो भन्ने सम्झन्छ र गोली चलाउँछ । सरकारी पक्षले चलाएको गोली विचरा निर्दोष श्यामलालको छातीमा लाग्न पुग्छ ।

सधैँजसो विहान ११ बज्दा श्लामलाल कामबाट घर फर्कने गर्दथे । आज पनि ११ बज्यो कृति श्लामलालको बाटो हेर्न थालिन् । १२ बजिसक्यो उनी फर्केनन् । अब घडीले पनि दिउँसोको ४ बजाउन थालिसकेछ । कृतिका आँखाहरू श्यामलालको बाटो हेर्दाहेर्दै थाकिसकेछन् । त्यो घाम पनि थाकेको हुनुपर्छ । त्यसैले होला डाँडा पारी थकान मेट्ने जमर्कोका साथ सुस्तरी ढल्कँदै थियो । छोराछोरी भोक लाग्यो भनी रुन थाल्छन् । विहानैदेखि पकाएर राखेको खाना भाँडामा जस्ताको तस्तै हुन्छ । छोराछोरीलाई सोही खाना खुवाउँछिन् अनि आफू भने श्रीमानको आगमनको प्रतिक्षामा हुन्छिन् । हुँदा हुँदै अब त बेलुकाको ७ बजिसकेछ । उनी अझै पनि फर्केनन् । कृति निकै आत्तिन थालिन् । खुल्ला आकाशमा तछाड मछाड गर्दै जुनताराहरू प्रतिस्पर्धा गर्न थालिसकेका थिए । कृति आत्तिदै गाउँतिर लागिन् । सबैलाई आफ्ना श्रीमान विहान दाउरा लिन भनी जंगल गएका र यतिका बेरसम्म पनि घर नफर्केको खबर सुनाइन । उनले गाउँलेसँग हारगुहार गरिन् । आफ्ना श्रीमानको खोजी कार्यका लागि । रातको बेला जंगलमा गएर श्यामलालको खोजी गर्न कसैले पनि मानेनन् । गाउँलेहरू सबैले उनलाई भोलि विहान जतिसक्दो छिटो खोजी कार्य गर्ने भनी आवश्त गराए । कृति निन्याउरो अनुहार लगाएर घर फर्किन् । छोराछोरी बाबा खोई, आज किन बुवा घर नआउनुभएको ? भनी प्रश्न माथि प्रश्न गर्न थाले । उनले भोलि बिहान तिमीहरू उठ्ने बेलामा बुवा आउने भन्दै छोराछोरीलाई सुताइन् । तर उनलाई भने छटपटी भइरह्यो ? घरमा कलिला छोराछोरीलाई अलपत्र छाडेर रातको समयमा श्रीमान्को खोजीमा जान पनि सक्दिथिन् । रात छिप्पिदै जान्छ । कृतिलाई आजको रात वर्षदिन जतिकै लामो लाग्न थालेको हुन्छ । गाउँ पुरै चकमन्न हुन्छ । उनी बाहिर र भित्र गरिरहन्छिन् । आँगनको डिलमा बसेर एकोहोरो उनी बाटोतिर हेरिरहन्छिन् । खुल्ला प्रांगणमा आकाशको छानो, धर्तिको विच्छ्यौना अनि आफ्नै हातको सिरानी लगाएर खै उनी कति बेला निदाइछिन् पत्तै भएन । बिहानको ४ बजिसकेछ । आफ्नै घरमा पालिएका दुईवटा कुखुराका भाले पोथीले उनलाई निद्राबाट बिउँझाउँछन् । हतार–हतार उठेर छोराछोरीलाई खानाको प्रबन्ध मिलाउँछिन् अनि गाउँलेको साथ लागेर उनी आफ्नो मायालु श्रीमानको खोजी गर्न जंगलतिर लाग्छिन् ।

घामका सप्तरङ्ी किरणले धर्तीलाई लालीमय बनाइसकेको हुन्छ । बीच जंगलको सानो गोरेटो छेउमा अचेत अवस्थामा उनले श्यामलालाई देख्न पुग्छिन् । आफूलाई भन्दा पनि धेरै माया गर्ने श्रीमान्को यस्तो अवस्था देखेर उनलाई खपिनसक्नु भयो । गाउँले सबैले वरिपरिबाट घरिसकेका थिए । श्याम ……… श्याम पागलझै बाटाबाटै कराउँदै कुदेर चटारिँदै मानिसको भिडमाझ ठोकिदै र छेलिँदै उनी अगाडि बढ्छिन् । उनलाई गोली लागेको कुरा थाहा हुन्छ । यस घटनाले उनको परिवारमाथि बज्रपात हुन गयो । जतिसक्दो छिटो उनलाई अस्पताल पु¥याउनु पर्ने अवस्था देखिन्छ । टोल छिमेकका मानिसहरू जम्मा भई उनलाई अस्पतालसम्म पु¥याइयो । अस्पतालको भनाइअनुसार जतिसक्दो छिटो अपरेसन गरेर उनको छातीको गोली निकालिनु पर्छ भन्ने थियो । विरामीको अस्पताल भर्नापछि पल–पलमा पैसाकै कुरा आउँथ्यो । विचरा कृतिसँग अपरेसनका लागि चाहिने पैसा थिएन । उनलाई के गरुँ र कसो गरुँ पैसाको प्रबन्ध कताबाट पो मिलाउँ भन्ने भयो । श्यामलाललाई अस्पतालकै बेडमा छाडेर उनी घर फर्किन् । उनीसँग उनका माइती पक्षले विवाहमा दिएको लगभग एक तोला सुन सुरक्षित थियो । जतिसक्दो छिटो अपरेसनका लागि खर्च जुटाउनु पर्ने भएकाले उनले त्यही सुन बन्दकी राख्ने निर्णय गरिन् र हतार–हतार सोही गाउँका एक पण्डितकहाँ पुगिन् । श्यामलालको अवस्था र कृतिको समस्या पण्डितलाई थाहा भइसकेको थियो । उनलाई देख्ने वित्तिकै पण्डित आफूले कुनै सहयोग पो गर्नुपर्ने हो कि भनेर पन्छिन खोज्दै थिए । पण्डित निकै लोभी र धूर्त स्वभावका थिए । ती सबै जान्दा जान्दै पनि उनले नजिकै गएर पण्डितलाई आफ्नो समस्या बताइन् र आफूले सुनको गहना ल्याएको र उक्त गहना बन्दकीमा राखी पैसा दिन विनम्र अनुरोध गरिन् । यसपछि पण्डितले उनले लिएर गएको उक्त सुनको गहनालाई आफ्नो हातमा लिएर तौले झैं गर्दै भने– यो सुनमा रसायनको मात्र धेरै रहेछ, त्यति राम्रो छैन, अरुले यसरी ल्याएको भए म लिन्नथें तर तिमीलाई अप्ठेरो परेको रहेछ त्यसैले म लिइदिन्छु । यस्ता बेलामा मद्दत गर्न पाए मलाई पनि धर्म हुन्छ ।

कृतिले हतारिँदै पण्डितका कुरालाई बीचमा काटेर भनिन्– चलेको भाउ अनुसार कति दिन मिल्छ अहिलेलार्य हिसाब गरेर दिनुहोला । पछि म तपाईको पैसा फर्काउनेछु र मेरो सुन लिएर जाने नै छु । तपाईंले त्यति गर्नुभयो भने मेरा लागि ठूलो सहयोग हुने थियो । पण्डितजी यसबेला म साह्रै अप्ठेरोमा परेको छु । त्यो पनि तपाईंलाई थाहा छँदैछ । तिम्रो कुरा त राम्रै हो नानी, तिमीलाई साह्रो गाह्रो परेको पनि हो, त्यो पनि हामीले देखेकै हौं । तर सुन भने गतिलो नपरेको हुँदा अहिलेलाई २५ हजार रूपैँया मात्र लैजाऊ । कृतिको सहमतिको कुनै प्रतिक्षा नै नगरी उनले कन्तुरबाट २५ हजार रूपैयाँ झिकेर गनिदिए । आफ्नो सामानको अवमूल्यन भएको उनलाई राम्रैसँग थाहा थियो । तर पनि यसको मोलमोलाई र वादविवाद गर्ने समय उनीसँग थिएन । यही भए पनि अहिलेका लागि मेरा श्रीमानको उपचारका लागि दैवले जुराइदिएको सम्झी पैसा लिएर अस्पतालतिर लागिन् । यता धूर्त पण्डित भने एकाविहानै लक्ष्मीमाता खुशी भएको भन्दै दंग थिए ।

अस्पतालमा पैसा डिपोजिट गरिन् । त्यसपछि डाक्टरहरूले अप्रेशन तुरुन्तै हुने जानकारी दिए । उनलाई अप्रेसन थिएटरभित्र नलगिएको पनि होइन । केही छिनमै उनको प्रेसर निकै बढेको कारण अप्रेसनमा कठिनाइ भएको भन्दै पुन अर्को डेटको प्रतिक्षा गर्न भनी अस्पताल स्रोतले जानकारी गराउँछन् । डाक्टरले फेरि १५ दिनपछिको अप्रेसनको डेट मिलाइदिन्छन् । उनलाई थप केही दिन अस्तालमा नै राख्नु पर्ने भएकाले अरु खर्चको बन्दोबस्त गर्न समेत सल्लाह दिए । १५ दिन बित्यो फेरि उनको त्यही अवस्था उनको प्रेसरले अप्रेसनमा साथ दिएन । विना अप्रेसन उनको छातीमा लागेको गोली निकाल्ने कुरा पनि थिएन । यतिका दिनसम्म उनलाई लागेको गोली निकाल्न नसकिँदा उनको अवस्था झन् झन् गम्भीर हुँदै गएको थियो । कृति जति नै आपतमा परे पनि हिम्मत भने हार्ने खालकी महिला थिइनन् । दुःख पर्दा नआत्तिनु अनि सुख हुँदा नमात्तिनु भन्ने भनाइलाई मनन गर्दै उनी आफ्ना श्रीमानको थप उपचारका लागि चाहिने खर्चवर्चको बन्दोवस्त गर्नतिर लागिन् । आफ्ना श्रीमानले विवाहमा लगाइदिएको तिलहरी उनीसँग अझै बाँकी रहेछ । त्यही तिलहरी साथमा लिएर उनी पुनः सोही पण्डितकहाँ पुगिन् । उनी यस गाउँमा कर्मकाण्ड गर्ने पण्डित पनि हुन् । आज फेरि पनि पण्डितले १ तोला बराबरको तिलहरी १० हजारमा बन्दकी राखिदिएर उनी माथि ठूलो उपकार गरे ।

तीन दिनपछि उपचारमा सुधार आएको कुरा अस्पतालले जानकारी दियो । तर श्यामलालको होस आएको थिएन । न त अप्रेसन नै भएको थियो । आज भन्दा, भोली भन्दा अस्पतालमै महिनौं दिन बिते । अझै उनको होस आएन । अब भने कृति अली आत्तिएकी जस्ती देखिन थालिन् । सहरको यस्तो महँगाई, औषधी खर्च अनि डाक्टरी आदेश– एक्सरे, रगतको परीक्षण, दिसा–पिसावको परीक्षण, थप विशेष परीक्षण आदि आदि के–के हो के–के ? यी सबैका पछाडि पैसाको पोको नै झुण्डिएको थियो ।

गर्दा गर्दै धेरै समय अस्पतालमै बिते, तर श्यामलालको होस आएन । गोठका गाईबस्तु सकिए, खेती गरी खाने जमिन खोटियो, गलाका गहना सकिए । तर पनि उनले हिम्मत हारिनन् । उनी आफूले गर्दा हुनेसम्म गर्दै गइन् । तर पेशेवार डाक्टरहरू पनि पैसामा नै बिक्दा रहेछन् । उनीहरूले तोके बमोजिम पैसा दिन सकेमात्र उपचार राम्रो हुने नत्र भने त यसै भन्न पनि सकिने रहेनछ । आज भोलि त उनलाई डाक्टरहरूले आफ्ना श्रीमानप्रति उतिसारो ध्यान दिएको जस्तो लाग्न छाड्यो । सोध्यो भने विस्तारै–विस्तारै निको हुन्छ भन्छन् । यस्तै गर्दा गर्दै अन्तिममा आएर श्लामलाललाई अस्पतालबाट निकालेर घर लैजाने सुझाव दिन्छन् ।

उनी आफ्ना श्रीमानको स्थिति देखेर धेरै रोइन् । जीन्दगीको हरेक कहानी सम्झी सम्झी रोइन् । हुने हार दैव नटार भन्ने सम्झी कता कता आफ्नो मन आफैं बुझाउन खोज्दथिन् । तर पनि उनको आँखा ओबानो थिएन । घरमा विरामी भेट्न सबै टोल छिमेकी लगायत उनका माइतीहरू पनि आउन थाले । विचरा कलिला बालबालिकालाई टुहुरा बनाएर जान लागेछ, दैवको लीला, विरामी भेट्न आउनेहरूका मुखबाट निस्किएका आदि आदि शब्दहरूले उनलाई झन् झन् पीडा बोध गरायो । कसैले पनि उनलाई धैर्यता र उर्जा दिएनन् । त्यसैबीचमा उनले अर्को एक आवाज सुनिन् । त्यो आवाज तिनै पण्डितको थियो । उनी विरामीको मृत्युञ्जय जप गर्नुपर्छ भन्दै थिए । कृति पण्डितको आवाज सुनेर स्तब्ध भइन् । पण्डित भन्दै गए– यो जप धेरै शक्तिशाली हुन्छ । त्यसले त कालका मुखमा परेकालाई जीवन दान दिन्छ । तिमी पनि आफ्ना श्रीमानलाई यस कालजयी परिस्थितिबाट पार गराउन चाहन्छ्यौ भने मृत्युञ्जय जप गराऊ । गाउँका कतिपय व्यक्तिहरूले पनि पण्डितको कुरामा सहमति जनाउँछन् । अस्पतालको उपचारबाट समेत सुधार हुन नसकेको श्लामलालको अवस्थालाई हेर्दा अनि पण्डितको यस्तो भनाई सुन्दा अब चाहिँआफू चूप लागेर बस्न नहुने ठान्छिन् । उनी सोच्दछिन्– मैले हुनेसम्म त गरेकै हो, अझै पनि गर्नेछु । आफ्ना श्रीमानको जीवन रहुञ्जेल आफू कडा परिश्रम र संघर्षका साथ उनलाई जीवन जीवनउका लागि साथ दिनेछु । तर यस्तो अन्धविश्वासका पछाडि लागेर भने होइन भनेर उनले मनमनै दृढ संकल्प गर्छिन् । कृतिको मौनता देखेर पण्डितले पुनः झस्काउँछन् । तिमीले चिन्ता गर्न पर्दैन । परेका बेला मद्दत गरौंला नि । आपत परेका बेलामा मद्दत गर्नु नै गुरु पुरोहितको धर्म हो । तर यसमा अलमल भने गर्न हुन्न । जप भोलिदेखि नै थालिहाल्नु पर्छ ।

कृतिले भनिन्– पण्डतजी मलाई त यस्तो कुनै जप तपले श्यामको स्थितिमा सुधार आउला जस्तो लाग्दैन । आजको यस्तो विज्ञान र प्रविधिको युगमा आएर पनि तपाईंले यस्तो कुरा गर्न सुहाउँदैन पण्डितजी । भयो म त यसको पक्षमा छैन । उनको जीवन रहुञ्जेल म मेरो बलबुताले भ्याएसम्म औषधीमूलो गर्दछु । त्यति गर्दा पनि भएन भने ठिकै छ जस्तो परे पनि सहूँला । तर म यस्ता अन्धविश्वासका पछाडि लागेर समय बर्बाद भने पार्न चाहन्न । समाजमा विकृत रहेका यस्ता विकृति र अन्धविश्वासलाई आफूले कदापि प्रश्रय नदिने कुराको जानकारी समेत गराइन् ।

कृतिको मुखबाट यस्ता किसिमका शब्दहरू सुनिसकेपछि पण्डितजीले– आफ्नो धर्म परम्परालाई लात हान्नेलाई कहिल्यै पनि भलो हुँदैन । तिमीले धर्मलाई लत्याएका कारण अनि धर्मप्रति तिमीले गरेको अनादरको कारण पनि आज श्यामेको यो गति भएको हो । हेर्दै जाउ अझै के के हुने हो, भन्दै पण्डित रिसाएर त्यहाँबाट उठेर हिंडे । गाउँलेले पनि पण्डितकै समर्थन गरिरहेका थिए । विचार सोझा गाउँलेलाई के थाहा यी पण्डित आफ्नो दूनो सोझ्याउन कतिको धूर्त स्वभाव देखाउँछन् भन्ने कुरा । अब त उनलाई श्यामलालको स्थिति झन् झन् क्षीण हुँदै गएको भान हुन थाल्छ । टुलुटुलु आफ्ना विछ्यौनामा परेका श्रीमानको अनुहार हेर्दछिन् अनि फेरि ती अबोध छोराछोरीको भविष्य सम्झिन्छन् । कहिले पण्डित आएर मृत्युञ्जय जप गर्नुपर्छ भन्छन्, कहिले वैतरणी गर्नुपर्छ भन्छन् त कहिले धर्मप्रतिको अनास्थाका कारण यस्तो भएको भन्छन् । खै के–के हो के–के ? कोही कसैले पनि श्यामलाल बाँच्ने कुरामा विश्वास गर्दैनन् ।
यी सबै कुराहरू सम्झँदा उनलाई आकाश नै खसेर आफूलाई थिचेजस्तो भान हुन्छ । तर पनि आफूले औषधि उपचारको प्रबन्ध मिलाउन सकेमा आफ्नो श्रीमानलाई बचाउन सकिन्छ भन्ने विश्वास अझै पनि बाँकी छ । आफ्ना श्रीमानलाई बचाइराख्न अनि ती कलिला बालबच्चाको पठनपाठन र लालनपालनका लागि अब आफू यसरी चुप लागेर बस्न नहुने, होइन भने आफ्नै छायाँले पनि उनी आफैंलाई गिज्याइ रहेको जस्तो भान हुन थाल्यो । आफू यसरी दिनदिनै विरामीको छेउमा बसेर आँसु खसाल्नुभन्दा उनको जीवनरक्षाका लागि आर्थिक रूपमा कहीँ कतैबाट सहयोग पाइएला कि भन्ने सम्झी उनले विभिन्न संघसंस्था, नागरिक समाज र आम जनसमुदायसँग अपिल गर्न थालिन् । विवाहपूर्व कक्षा १२ सम्मको अध्ययन गरेकी कृतिले आफ्ना श्रीमानको अवस्था र यस्तो अवस्थामा हुनुको कारण दर्शाई विभिन्न पत्रपत्रिकामा समाचार छपाइन् । यसले पनि उनलाई केही हदसम्म राहत मिल्यो । त्यसपछि गाउँका २–४ जना बुद्धिजीवी र विभिन्न संघसंस्थाका पदाधिकारीद्वारा सरकाले यस घटनाको नैतिक जिम्मेवारी लिनैपर्ने कुरामा दवाव दिन थालियो ।

यसै दवावका फलस्वरूप श्यामलालको उपचारको व्यवस्था सरकारले गर्ने भयो । अब कृतिलाई श्रीमानको उपचारका लागि आर्थिक भार नपर्ने भयो । यस्तै यस्तै अनेकौं समस्या आइलाग्दा पनि उनले श्यामलाल प्रति गर्ने मायामा कुनै कमी गरिनन् । श्यामलालाई पनि बाँच्ने इच्छा जागेर आयो । उनको स्थितिमा पहिलेको तुलनामा निकै सुधार आइसकेको छ । कृतिले त्यस गाउँकी एक नमुना महिलाको रूपमा आफ्नो पहिचान बनाइन् । उनी श्रीमानका उपचारका लागि अब भौंतारिनु नपर्ने भयो । अब फेरि उनी सुन्दर भविष्यको कल्पनामा डुब्न थालिन् । विभिन्न समस्याका बाबजुद पनि उनले पुनः आफ्नो अध्ययनलाई अगाडि बढाउँदै लगिन् । पढाइप्रतिको लगनशीलताले गर्दा नै उनलाई छात्रवृत्तिको अवसर प्राप्त भयो । उनको आँट, विश्वास र धैर्यताले गर्दा पनि हुन सक्छ, अध्ययनलाई पनि सफलताका साथ अघि बढाउँदै लगिन् । आज उनी गाउँकै एक सरकारी विद्यालयमा माध्यमिक तहको शिक्षिकाको रूपमा कार्य गर्र्दैछिन् । आफ्ना दुई बालबालिकाको अध्ययनमा कृतिले निकै ध्यान दिने गरेकी छिन् । श्यामलालको परिवार आज त्यस गाउँकै नमुना परिवार बनेको छ ।
विचार सोझा आफूमा कठिन परिस्थिति सृजना हुँदा भाग्यलाई दोष दिँदै कर्म गर्नबाट बञ्चित हुँदै पुरपुरोमा हात राखेर भाग्यलाई धिक्कार्दै थिए अनि यस्ता धूर्त पण्डितका पछि लागेर धार्मिक अन्धविश्वासलाई प्रश्रय दिनुपर्छ भन्दै थिए आज तिनै गाउँले “भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्नुपर्दोरहेछ” भन्ने पाठ कृतिबाटै सिक्दैछन् र सोही अनुसार अनुसरण पनि गर्दैछन् । यसरी नै थालिन् कृतिले समाजमा परिवर्तनको सुरुवात ।

नयाँ बानेश्वर, काठमाडौं

– शनीबार, 1 मङ्गसीर, 2070

Bhudhara Upadhyay – Sirf Mero Chhoro

भूधरा उपाध्याय – सिर्फ मेरो छोरो

लक्ष्मीलाई आफू जन्मेको ठाउँ राम्रो लाग्छ। उसले हिडेका बाटा, पढेको स्कुल र खेलेकुदेका ठाउँ नै रमाइलो लाग्छ तर अहिले पशुलाई बेच्दा घाँटीमा दाम्लो लाएर डोहोर्याउँदै लगेजस्तो उसलाई पनि सिन्दूर अनि पोतेले डोर्याए झैँ लाग्न थालेको छ। पशुलाई लगेर जसको घरमा बाँधिदियो, त्यो नै‌ उसको घर र जसले खान दियो ऊ नै मालिक भएजस्तो लक्ष्मीले पनि आफ्नो ठानेको घर माइती र अर्काको घरलाई आफ्नो बनाउनु परेको छ। आफ्नो घरबाट अर्काको घरमा बसाई सर्दा कस्तो बुहार्तन र पीडा सहनु पर्छ भन्ने कुरा भोग्नेलाई मात्र थाह हुदो रहेछ। देख्नेले त सबै सुख नै देख्दो रहेछ।

परिस्थिति, बाध्यता वा रहर के हो उसलाई थाह छैन तर दुई सन्तानकी आमा बनेर पनि पेटमा अर्को गर्भ बोकेकी छ। कतिवटा सन्तानकी आमा बन्नु पर्ने हो त्यसको तय सासु ससुरा र पतिले नै गर्थे। लगातार दुई छोरी जन्मनु उसको कमजोरी भन्ने सासुको गन्थन मात्र बुझेकी छ। लक्ष्मी आफू छोरी भएर जन्मिएको र आफ्ना पनि छोरी मात्र भएकामा भगवानलाई भन्ने गर्थी_ ‘हे भगवान यदि मेरो अर्को जन्म हुन्छ भने मलाई छोरो मान्छेको जन्म देउ।’

एकदिन अनिकेत यानी उसको पतिले खुबै माया गरेर सहर घुमाउन लैजाने भए। दङ्ग पर्दै पतिको पछिपछि लागी। उसलाई एउटा साडी रोजाएर किनिदिए। दुवैजना आमुन्ने सामुन्ने बसेर होटलमा चिया नास्ता पनि खाए। त्यसपछि लक्ष्मीको चेकजाँच गराउन दुबै जना एउटा क्लिनिकतिर लागे। पतिको साथमा घुम्न‌ पाएर मख्ख परेकी लक्ष्मीलाई नर्सले भित्र एउटा बेडमा सुत्न लगाइन्। पति र डाक्टर कुरा गरिरहे कै थिए।

डाक्टर आए पतिलाई छेउमै बसाए। उसको पेटमा मेसिन राखियो। फेरि पनि छोरी नै भएको ठहर्याइयो। अब फेरि तेस्री छोरी अनिकेतको लागि स्वीकार्य थिएन। उनले डाक्टरसँग गर्भ पतन गराउन सल्लाह गर्न थाले। लक्ष्मीका आँखा भरिए। गर्भमा भएको बच्चालाई बाहिरबाटै स्पर्श गरी। उसको मातृत्व सल्बलायो। छाती चरक्क भयो। उसको सासभन्दा छिटोछिटो पसिना बग्न थाल्यो।

अनिकेतलाई हात जोड्दै गर्भ पतन नगराउन अनुरोध गरी।दुबै हात जोडेर लाख बिन्ती गरी तर उसको केही सीप लागेन। न त गर्भ बोक्न उसलाई सोधियो, न त गर्भ पतन गराउन नै उसलाई सोध्न जरुरी ठानियो। उसको गर्भ त अरु कसैको मर्जीमा चल्ने भाँडो न थियो। आफ्नो भाँडो खाली गराएकोमा पसिना र पीडाले निथ्रुक्र भई। एउटा भ्रुणको अन्तसँगै एउटी निर्दोष चेलीको अन्त्य गरियो। मातृत्वले पतिको बिरोध गर्न उक्साइ रह्यो तर शारिरीक र मानसिक पीडाले उसको हातको साहारालाई स्वीकार्दैसँगै हिडायो।

घर सल्लाह नै भएको रहेछ, लक्ष्मीलाई बुझ्न समय लागेन।तीन तीनवटी बैसे के गर्नु र ? ठिकै गरिस् छोरा! एउटी आमा आफ्नै नातिनीको हत्यारालाई स्यावासी दिदै थिइन्। लक्ष्मीको शरीर छियाछिया भएको तथा बिछिप्त र दर्खरिएको मातृत्वको कुनै चिन्ता थिएन कसैलाई।

केही दिन बिते। लक्ष्मी उठेर घरधन्दा गर्न थाली। घरधन्दा सकेर अोछ्यानमा पल्टेकी मात्र थिई ,अनिकेत छेउमै आएर लक्ष्मीलाई हेर्दै मुस्कुराए। अनिकेतको अनुहार शान्त देखिन्थ्यो, ठूलै पुरुषार्थ गरेजस्तो। लक्ष्मीका आँखा भने ओभाना थिएनन्। एक निमेष उसका आँखामा हेर्दै अनिकेतले भने_” अर्कोपल्ट छोरो पाउलिस्। छोरोले हाम्रो बंश चलाउला। हाम्रो अंश खाने पनि त कोही चाहियो नि होइन? घरमा बुहारी ल्याउँला। घर उनीहरुलाई सुम्पिएर शान्तिले मरौँला। हामी मरेपछि दागबत्ती दिएर स्वर्गको बाटो देखाउने छोरो ……..।”

लक्ष्मीको आँखाबाट अविरल आँसु बर्से। यतिञ्जेलसम्म आँसु पुछिदिदै गालामा चुम्न पनि भ्याइसकेको थियो । पति न ठहरियो, पत्नीको इच्छाको के नै मतलब थियो र ? उसलाई त केवल लक्ष्मीको शरीररुपी भाँडोको आवश्यकता थियो, मन लाग्यो प्रयोग गर्यो, मन नलागे फर्केर पनि नहेर्यो। चाहना पूरा नहुञ्जेलसम्म खेलिरह्यो उसको शरीरसँग।

लक्ष्मीले स्वाँ स्वाँ गर्दै मस्त निदाएको पतिप्रति घृणाले हेर्दै नाक खुम्च्याई। एक मनले सोची यही निदाएकै बेला घाँटी थिचेर मारिदिउँ। आफ्ना दुबै हात उसको घाँटीसम्म लगी।रिसले दाह्रा किटी। फेरि तुरुन्तै सम्झी आफ्नो शरीरमा सेतो साडी बेरिएको। चिमोटिएको मातृत्व र छटपटीका कारण निद्रादेवी उसँग रिसाएकी थिइन् सायद आँखा झिमिक्कै भएनन्।

लक्ष्मी दिउँसो घाँस काट्न डोको, नाम्लो र हँसिया बोकेर घरबाट निस्की। निशालाई भेटेर मनभरिका कुरा सुनाउनु थियो । सबै बेलिबिस्तार लाइसक्दा दुबैजना खूव रोएका‌ थिए। निशाको सल्लाहमा‌ दुबै स्वास्थ्य चौकी पुगे। लक्ष्मीले कसैलाई थाह नदिने शर्त गराई र गर्भ निरोधक चक्की लिएर आई।

एकदिन दुईदिन गर्दै वर्षदिन बिते। सासूससुराको नाति खेलाउने रहर ज्युँका त्युँ थिए। सासूका घोचपेचलाई लक्ष्मीले सहेकै थिई। लक्ष्मीलाई महिनावारी भएको थाहा पाएर सासू भन्दै थिइन् _’तेरो त सौता पाउने कर्म छ कि के हो लक्ष्मी?’

फेरि एकदिन अनिकेतले भने _’ आमालाई जसरी भए पनि नाति चाहिएको छ। खोई तेरो गर्भ पनि रहेन। पल्ला गाउँमा केटीको कुरा चलाउनु भएको रहेछ । हेर्न जाने रे आज।’

‘अनि तपाई नि केटी हेर्न जाने? तपाईलाई पनि छोरै चाहिएको हो ?’ लक्ष्मीले सोधी ।

‘म चाहिँ अपवाद हुन सक्छु र?’ अनिकेतले ऊतिर नहेरी जवाफ दियो ।

छोरीले पनि दागबत्ती दिदाँ हुन्छ नि ! छोरै किन चाहियो र? छोरो पाउन धेरै परिश्रम गर्नु पर्ने र छोरी पाउदा कम त पक्कै होइन। नौ महिना पेटमा राख्दाको कष्ट, प्रसव बेदना र आमाको दसधारा दूध सबै उस्तै त हो तर यो घरका मान्छेका मनस्थिति कस्तो हो? सौता भित्र्याएर भए पनि छोरो चाहिएको छ । लक्ष्मी एकोहोरो बोलिरही। अनिकेत कतिबेला कोठाबाट निस्किसकेको थियो उसले पत्तै पाइन।

लक्ष्मी दिउँसो पिडित मन लिएर स्वास्थ्य चौकी गई। स्वास्थ्य चौकीकी दिदीलाई सबै कुरा बिस्तारमा बताई।

स्वास्थ्य चौकीकी दिदीले भनिन्-‘ तिम्रा पति पढेलेखे कै छन् होइन र? त्यही पनि स्वास्नीले छोरा पाइन भनेर अर्को बिहे गर्न खोज्ने मुर्ख पो रहेछन् त! छोरी वा छोरा जन्माउने एक मात्र कारक बाबु हो नि। तिमीलाई थाह छैन ?’

‘कसरी नि दिदी ? त्यस्तो पनि हुन्छ?’_ लक्ष्मीले सोधी।

किन नहुनु ? ल सुन_’ बाबुको गुणसूत्रमा x र y दुई प्रकारका गुणसूत्र हुन्छन् भने आमामा x गुणसूत्र मात्र हुन्छ‌। गर्भधारण हुँदाको समयमा बाबुको x गुणसूत्र र आमाको x गुणसूत्र मिले छोरी जन्मन्छ र बाबुको y गुणसूत्र आमाको x गुणसूत्रमा मिले छोरा जन्मन्छ।’

लक्ष्मीले धेरैबेर सोची। स्वास्थ्य चौकीकी दिदीले भनेको कति कुरा बुझी वा बुझिन ठम्याउन सकिन तर उसलाई आफ्नो पति नामर्दो झै लाग्यो । उसकै कारणबाट छोरो नजन्मेको चाहिँ पक्कै बुझी। मनमा एक तमासको एक्लोपन छायो। आँखाका आँसु गालाबाट बग्न थाले।

‘किन पीर गरेकी? म भोलि सहर जाँदैछु। सहरमा नाम चलेको एउटा डाक्टर मैले चिनेको छु। हामी भोलि नै त्यहाँ गएर उनैसँग सल्लाह गरौँला हुन्न?

भोलिपल्ट दुबैजना डाक्टरकोमा पुगे। सबै कुरा बेलिबिस्तार लाए।

‘डाक्टर साब मलाई जसरी भए पनि छोरो चाहिएको छ।’_ लक्ष्मीले दुबै हात जोडेर भनी।

डाक्टरले आश्वासन दिदै भनिन्_’ठिक छ, म कोशिश गर्छु तर तिमीले तिम्रो पतिलाई पनि ल्याउनु पर्छ।’

नाई डाक्टर साब म उसलाई ल्याउँदिन। ऊ त अर्को बिहे गर्न ठिक परेकोछ। मेरो लागि खर्च गरेर दबाई गराउँदैन। मेरा माइतीले दिएका केही गहना छन्। त्यही बेच्छु अनि दबाई गर्छु। अविरल आँसु झार्दै लक्ष्मी बोली।

‘त्यसो भए के गर्ने त ? कि अर्कैको छोरो पाउने?’ _ डाक्टरले सोधिन्।

”राम! राम!! राम!!!….. के भनेको डाक्टर साब त्यस्तो?’_ जिब्रो टोक्दै लक्ष्मीले रातो अनुहार बनाई।

‘तिमीलाई अरु कसैसँग अनैतिक काम गरेर छोरो पाउ भनेको हो त? कस्ती लाटी रैछौ तिमी ! कसको छोरो हो भन्ने तिमीलाई पनि थाह हुदैन। म तिम्रो पाठेघरमा स्वस्थ्य वीर्य छानेर राखिदिन्छु। तीन महिनापछि फेरि यहीँ आउ। तिम्रो गर्भमा छोरा छ कि छोरी हेरौँला हुन्न?

कुरो बुझे झैँ लक्ष्मीले टाउको हल्लाई। केही दबाई लिएर सात दिनपछि आउने सल्लाह गरी ऊ घर फर्की। मनमा धेरै तर्कनाहरु आइरहे । छोरो अर्काको ? मनमनै प्रश्न गरी। उसले अर्की स्वास्नी बिहे गर्न केटी हेर्दै हिड्न हुने तर मैले (अरुको वीर्य) दबाइद्धारा छोरो पाउन नहुने? मेरो पाठेघरमा मेरो मर्जी किन नचल्ने? लक्ष्मी यस्तै प्रश्नै प्रश्नमा अबेरसम्म छटपटाइ रही।

सात दिन बित्यो लक्ष्मी स्वास्थ्य चौकीकी दिदीसँग सहर गई र गर्भवती हुने दबाइ राखी। उसको महिनावारी रोकियो। ऊ गर्भवती भई। तीन महिनापछि गर्भ जाँच गराई। छोरो नै रहेको पक्का भयो तर घरमा सुइकोसम्म दिइन।

पतिले पहिलेको जस्तै जचाउँन जान कर गरिरह्यो तर लक्ष्मी चुपचाप बसिरही। अहिले भनेको मान्दिन पछि फेरि छोरी जन्मी भने तँलाई घरबाट निकालिदिन्छु भन्दै अनिकेतले धम्क्याइ रह्यो ।

लक्ष्मी प्रसव वेदनाले छटपटाई। आँसु र पसिनाले भिजेर निथ्रुक्क भई। सासु भित्र र बाहिर गर्नथालिन्। अनिकेत र ससुरा बाहिर बसिरहे। सबैको अनुहार मलिन थियो। ससुरा के सोच्दै थिए थाह भएन। घरिघरि आकाशतिर हेर्दै थिए । लक्ष्मीको स्वास्थ्यको कामना गरेका त पक्कै होइनन्, नातिको माग गर्दैथे सायद। अनिकेतको अनुहारभरि चिटचिट पसिना देखिन्थ्यो। फेरि पनि छोरी नै जन्मे के गर्नेभन्ने चिन्ताले होला अनुहार मलिन थियो। लक्ष्मीको चिच्याहटसँगै बच्चा रोएको आवाज बाहिरसम्म आइपुग्यो। सासु हस्याङ्फस्याङ् गर्दै बाहिर आएर नाति जन्मिएको सूचना दिइन्। सबैको अनुहार अँध्यारोमा बिजुली चम्किदा देखिएको जस्तो चम्किलो देखियो। अनिकेत बुबालाई हेरेर फिसिक्क हाँस्यो र केही लजायो।

त्यो घरको रौनक नै बेग्लै भएको थियो। दिनरात कर्कश आवाजले गन्गन् गर्नै सासु नरम बोल्न थालेकी थिइन्।लक्ष्मीलाई खसीको झोलसँग मसिना चामलको भात दिन्थिन्। बाटो हिड्दै गरेका गाउँका मान्छेलाई पनि बोलाएर नाति देखाइन्थ्यो। सबै परिवारलाई स्वर्गको बाटो देखाउने नाति जन्मिएकोमा घर नै उज्ज्यालो भएको थियो।

केही महिनापछि नाति हाँस्न थाल्यो। ससुरा नाति खेलाउँदै घरमै बस्न थाले। अनिकेत पनि गाउँ डुल्न छोडेको थियो।जाडो महिना सासु, ससुरा र अनिकेत छोरो खेलाउँदै घाममा बसेका थिए। ससुराले नाति खेलाउँदै भन्दै थिए _’ नाति त ठ्याक्कै अनिकेत कै अनुहार लिएर जन्मिएछ हेर् त बुढी ।’
सासुले दङ्ग पर्दै नातिलाई हेरिन्। अनिकेत चाहिँ मुसुमुसु हाँसिरहेको थियो।

लक्ष्मीले हजुरबुबा नातिलाई पुलुक्क हेरी अनि मनमनै भनी _’नाति जोसुकैको होस् तर छोरो चाहिँ मेरो मात्र हो। सिर्फ मेरो छोरो। दबाइ राखेर जन्मिएको मेरो छोरो।’

काठमाण्डाै

Raju Adhikari – Sarkari Surakshya Griha

राजु अधिकारी – सरकारी सुरक्षा गृह

मध्य रातमा अमेरिकाबाट छोराले फोनमा खुशीको खबर सुनाए पछि एकछिन् त उसलाई निकै खुशी लाग्यो। छोराको बर्षौ देखिको अमेरिकी नागरिक बन्ने सपना पुरा भएकोमा एउटा बाबु भएको नाताले सन्तानको लागि खुशी हुनु स्वाभाविक नै थियो। तर त्यसको मतलब उसलाई थाहा थियो – अब उसको छोरो नेपाल फर्कने छैन। अनि त्यो सोंचेर उसको त्यो खुशी बिस्तारै उसले थाहा नपाइकनै दु:खमा परिणत भयो। बास्तवमा मनमनै उसले छोराको अमेरिकी नागरिकताको निबेदन अस्वीकृत होस् भन्ने पुकारा गरिरहेको थियो, तर खुलेर कसैलाई भन्न नमिल्ने। जसले जे भने पनि हरेक मानिस स्वार्थि हुन्छ, उसको त्यो जन्मजात गुण हो। मानिसले सबभन्दा पहिले आफ्नै बारेमा सोंच्छ अनि मात्रै अरुको बारेमा। त्यसैले उसले पनि आफ्नो बारेमा सोंचेर नै छोराको निबेदन अस्वीकृत होस् भन्ने पुकारा गरेको थियो। उसलाई डर थियो कि छोरो उताको नागरिक भए पछि नेपाल फर्कने छैन अनि आफ्नो बुढेसकालको सहारा कोहि हुने छैन। त्यतिमात्रै होइन उसको अपार सम्पत्तिको देखभाल गर्ने कोहि हुने छैन। के गर्नु बुढीले एक्लै छोडेर आफु भन्दा पहिले बाटो तताईहाली, अबको आशा भने पनि सहारा भने पनि त्यहि एउटा छोरो थियो त्यो पनि टाढा हुने भयो।

छोराको त्यो फोनले त्यो दिन उसलाई रात भरि निद्रा लागेन। अब छोरो पनि अमेरिका बिलय हुने भयो भनेर उसलाई निकै एक्लोपन महशुस भयो। हुन त आज भोलि कसका छोराछोरीले बाबु आमालाई स्याहारेर बसेका छन र? तैपनि सास हुदाँसम्म आश हुन्छ भनेर कतै छोराको दिमागमा एक्लो बाबुलाई स्याहार्नु पर्छ भनेर बुद्धि पलाई हाल्छ कि भन्ने झिनो आशामा ऊ बसेको थियो। तर छोरोको पनि के गल्ति छ र? उसले बाबुलाई अमेरिका लगेर सुबिधा सम्पन्नसंग राख्छु भनेकै छ, त्यो भन्दा उसले पनि के गरोस त? उसको लागि आफ्नो र उसका छोराछोरीको भबिष्यसंग खेलवाड गर्न पनि त भएन। के गर्नु संसार यस्तै हो, माया पनि खोला जस्तै रहेछ, तलतिर मात्रै बग्ने- उसले छोराको लागि आफुले गर्न सक्ने सबै गरेको थियो छोरोले पनि आफ्ना छोराछोरीको लागि आफुले गर्न सक्ने सबै गर्ने नै भयो। ऊ अमेरिका गएर उनीहरुसंगै नातिनातिना संग रमाउँदै बसे पनि हुने हो तर उसलाई ती म्लेच्छहरुको देशमा मरेर अगति पर्नु छैन। जे जस्तो भए पनि पशुपतिको आर्य घाटमा जलेर बैकुण्ठ जाने उसको इच्छा छ।

त्यसैले अब के गर्ने होला भनेर उसलाई निकै छटपटी हुदै गयो। न मर्न सकिने न बहुलाउन सकिने।

एउटा सजिलो उपाय थियो वृद्धाश्रममा गएर बस्नु तर पशुपतिको छेउछाउमा रेहेका वृद्धाश्रम देख्दा उसलाई ती वृद्धाश्रमम भन्दा पनि मर्न कुरेरे बस्ने घरहरु जस्तो लाग्छ। त्यहाँ गए पछि खुशीसँग बाँकी जीवन बिताउँला भनेर त सोच्दै नसोंचे हुन्छ- त्यहाँ त निराशामा टोलाएर बस्दै दिन काट्ने काल पर्खिने बाहेक अरु काम छैन।

तर एउटा गजबको ठाउँ थियो उ जान चाहेको- सरकारले समाजका विशिष्ट व्यक्तिको लागि भनेर सरकारी सुरक्षा गृह खोलेको थियो केहि समय अगाडी। कतै जोरजाम गरेर त्यो सुरक्षा गृहमा छिर्न पाए त जीवन आनन्दमा बित्ला जस्तो उसलाई लाग्यो। इज्जत पनि, रमाइलो पनि सुरक्षा पनि, दुवै हातमा लड्डु।

तर एउटा समस्या थियो- ऊ विशिष्ट थिएन, त्यसैले सरकारको त्यो सुरक्षा गृहमा उसलाई प्रवेश दिने? तर पैसाले किन्न नसकिने कुरो के नै छ र? उसको विशिष्ठता पनि उसले पैसाले किन्ने विचार गरेर एकदिन आफ्नो पुरानो साथी भेट्न गयो। उसको साथीको भान्जा नयाँ सरकारमा मन्त्रि भएको थियो। सानो हुँदा आफ्नो मामाघर आउँदा उसले पनि त्यो भान्जालाई चिनेको थियो तर सोझै गएर भन्न उसलाई अलि अप्ठ्यारो लाग्यो। उसको भान्जा सानै देखि निकै मुर्ख भएकोले उसलाई सबैले महास्वाँठ भनेर बोलाउँथे पछि राजनीतिमा लागेर ठुलै मन्त्रि भएको थियो।

उसको साथीले भनसुन गरिदिएछन्, केहि दिन पछि उसलाई त्यहाँबाट खबर आयो अनि खुशी हुँदै ऊ मन्त्रिलाई भेट्न पुग्यो। तर मन्त्रीले अलि बढि नै पैसा लाग्ने सुनायो- ‘लाखमा होइन करोडमा, त्यो पनि एक दुइ करोड होइन दश बीस करोड नै लाग्छ। अरु जस्तो भएको भए त मैले कुरै अगाडी बढाउने थिएन तर हजुरको केस भएकोले म कुरा राख्छु, सायद हुन्छ पनि होला।’
तर पैसाको उसलाई के चिन्ता? त्यसैले निर्धक्कसंग उसले मन्त्रीलाई ‘पैसाको चिन्ता नगर बाबु। खालि मलाइ त्यहाँ पस्नु परेको छ।’ भन्यो।

उसको कुरा सुनेर मन्त्रीले पनि अलि उत्सुकता राख्दै सोध्यो- ‘तर हजुरको खास केस के हो? मिडियामा पनि आएको जस्तो लाग्दैन।’

आफ्नो बास्तविक कुरा भन्न उसलाई अलि अप्ठारो पनि लाग्यो अनि फेरी व्यक्तिगत कुराहरु सबै किन भन्नु भनेर उसले- ‘अलि व्यक्तिगत कुरा हो बाबु। त्यसैले भन्न अलि अप्ठ्यारो छ।’

मन्त्रीले मनमनै सोंच्यो- स्वास्नी नभएको एक्लो बुढो, यो उमेरमा सायद नियन्त्रण गर्ने सकेन होला बुढाले, अनि जोशको बेला होश गुमायो होला, पछि थाहा पाए पछि पैसाको भरमा केश दवाउन नसके पछि यहाँ शरणमा आएको होला। अनि मुसुमुसु हाँस्दै मन्त्रीले भन्यो- ‘यो उमेरमा यस्तै हो हजुर। यस्ता केस धेरै छन्, त्यसमा लाज मान्नु पर्दैन, ल मैले तपाइको कुरा बुझें। अब भोलि पैसा लिएर मेरो सचिवलाई दिनुहोला। अनि बांकी कुरा म मेरो मान्छेलाई भनेर मिलाइदिन्छु।’

अनि ऊ मख्ख पर्दै अब सरकारले सुरक्षा प्रदान गर्ने अति विशिष्ट मान्छेहरुसंग जीवनको उत्तरार्ध खुशीमा काट्न पाइने भयो भनेर मन्त्रीको कोठाबाट बाहिरियो। उसले सोंच्यो त्यहाँ पक्कै पनि पूर्व राष्ट्रपति, पूर्व प्रधान मन्त्रीहरु, ठूला ठूला समाजसेवीहरु, कलाक्षेत्र र खेलकुद क्षेत्रमा योगदान पु-याएका विशिष्ट व्यक्तिहरु होलान भनेर। त्यति ठूला मान्छे संग कसरी घुलमेल गर्ने, कसरी उनीहरुसंग कुरा गर्ने भनेर उसले योजना बनाउन थाल्यो।

भर्खर गठन भएको दुइ तिहाइ बहुमतको सरकारले केहि काम गर्न सकेन, उखान टुक्कामै पाँच बर्ष सकाउने भयो, गुण्डागर्दी, भ्रष्टाचार, आतंक, बलात्कार पहिलेको भन्दा बढेको छ, अपराधीहरुलाई सरकारले नै सुरक्षा दिएर राखेको छ भनेर सरकारको निकै आलोचना भै रहेको थियो, उसलाई पनि हो कि जस्तो लागेको थियो। तर मन्त्रीलाई भेटे पछि उसलाई त्यस्तो लागेन। उसलाई लाग्यो कामहरु त भैरहेका छन नि, केहि समय त लागि हाल्छ नि, जादु गरेको हो र एकैछिनमा सबै बदलिने? भित्रभित्रै सरकारले कति राम्रो काम गरिराखेको रहेछ- जस्तै यो सरकारी सुरक्षा गृह बनाएर देशका विशिष्ट व्यक्तिहरुलाई सुरक्षित र सम्मानजनक रुपले राख्न। यस्ता नदेखिने महान कामहरु कति भएका होलान तर त्यो कुरा जनताले देख्दैनन त्यसैले विपक्षीको लहलहैमा लागेर गरेर सरकारको आलोचना गर्छन। उसलाई सरकारको महान कार्यको मुक्तकण्ठले प्रशंशा गर्न मन लाग्यो। घर फर्केर निकै दिन पछि खुशी हुँदै त्यो रात गहिरो निद्रामा ऊ आरामले सुत्यो।

ऊ सरकारी सुरक्षा गृह प्रवेश गर्ने दिन पनि आइपुग्यो। उसले कल्पना गरे जस्तै त्यो गृह निकै सुरक्षित थियो, दुइ तहको सुरक्षा थियो। भित्र छिर्नुभन्दा पहिले सबै जांच गरिन्थ्यो। सबै प्रक्रिया पुरा गरेर ऊ पनि भित्र पस्यो।

एउटा राम्रो सार्बजनिक पार्क पनि नभएको उकुसमुकुस राजधानीको मुटुमै त्यति फराकिलो, त्यति स्वच्छ अनि सुन्दर ठाउँ पनि रहेछ भन्ने उसलाई पहिले थाहा थिएन। त्यहाँको बातावरणले उसलाई एकैछिनमा मोहित बनायो। आफु पनि तिनै विशिष्ट व्यक्तिहरु बस्ने त्यो सुबिधा सम्पन्न अनि उच्च सुरक्षाको घरमा बस्न पाउँदा उसको खुशीको सिमाना थिएन।
निकै सुन्दर त्यो ठाउँमा उसले त्यहाँ बस्ने अरुलाई नियाल्यो। उसलाई अलि अप्ठ्यारो लागेको थियो- त्यति विशिष्ट मानिसहरुको बिचमा आफु खासै नचिनिएको अनि देशको लागि केहि योगदान नगरेको मान्छे बकुल्लाको बथानमा काग पो भइन्छ कि भन्ने। उसले यताउता हे-यो त्यहाँ उसले चिनेका मान्छेहरु कोहि पनि थिएनन। उनीहरुले नचिने पनि पूर्व राष्ट्रपति, पूर्व प्रधान मन्त्रीहरु, ठूला ठूला समाजसेवीहरुलाई त उसले चिन्नु पर्ने हो। तर उसले कसैलाई पनि चिन्न सकेन। उसलाई लाग्यो उसले नचिनेका त्यति धेरै विशिष्ट व्यक्तिहरु रहेछन।
फराकिलो सफा चौरमा ऊ बाहिर एक्लै टोलाउँदै थियो, त्यहाँ एउटा अधबैंसे मान्छे चुरोटको धुँवा उडाउँदै उतिर आयो अनि उसलाई सोध्यो- ‘नयाँ हो?’

‘हजुर।’ उसले सोझो अनि छोटो उत्तर दियो अनि उसलाई सोध्यो- ‘हजुरको परिचय?’

‘ए, म? त्यो ३८ टन सुनको कुरा त सुन्नु भएकै होला नि, म त्यसैको मान्छे हुँ। ठुलो माछो भन्थे नि, म त्यहि मध्यको एक हुँ, हुन त म भन्दा ठूला माछा सरकारमै छन।’ त्यति भन्दै चुरोटको धुवाँ उडाउँदै ऊ आफ्नो बाटो लाग्यो।

उसलाई अलि कुरो नबुझे जस्तो लाग्यो। त्यसैबीचमा अलि परबाट भर्खरको युवक कानमा हेडफोन लगाएर गीतमा झुम्दै उतिरै आयो अनि आफु भन्दा ठूलो मान्छेलाई आदर गरेर बोल्नु पर्छ भन्ने सामान्य शिष्टताको पनि ख्याल नगर्दै उसले ‘लाइटर छ?’ भनेर सोध्यो।

लाइटर त उसंग थिएन नै तर यति कलिलो उमेरमै विशिष्ट बन्न सफल भएको त्यो युवक को रहेछ भनेर उसलाई निकै उत्सुकता जाग्यो अनि उसले लाइटरको उत्तर नदिई उसलाई उल्टै सोध्यो- ‘तपाई?’

‘म?’ हास्दै उक्त युवकले भन्यो- ‘सुदुर पश्चिममा एउटी पाखे केटीको बलात्कार र हत्या भएको कुरा त थाहै होला नि? म त्यहि बलात्कारी र हत्यारा हुँ। अनि मैले सुनेको तिमी पनि त्यहि कारणले लुक्न आएका हौ रे, हो? तिमीचाहिं यो बुढेसकालमा किन जोस्सिएको त?’

त्यो युवकको कुरा सुनेर उसको दिमाग झनन्न ग-यो। उसले त्यहाँ अरुहरुलाई पनि भेट्दै गयो। ठग ठेकेदारहरु, काला बजारीहरु, कर छल्ने व्यापारीहरु, गुणस्तरहिन सामान उत्पादन गर्ने कारखानाका मालिकहरु, मानब तस्करीहरु, गुन्डा र हत्याराहरु सबै तिनै सरकारले दिएको उच्च सुरक्षामा थिए।

त्यो देखेर उसलाई चिटचिट पसिना आयो। उसलाई आफ्नै बुद्धिले गर्दा तावाबाट फुत्केर भुंग्रोमा छिरे जस्तो भयो। त्यति उच्च सुरक्षायुक्त सरकारी सुरक्षा गृहमा पनि उसले आफुलाई निकै असुरक्षित महशुश ग-यो। के थाहा बुढाबुढी, केटाकेटी, गर्भवती, सुत्केरी केहि नभन्ने बलात्कारीहरुले कुनदिन महिला र पुरुष पनि नछुट्याई उसलाई पनि बलात्कार गर्ने पो हुन् कि? उसको सम्पत्ति धेरै छ भन्ने थाहा पाए पछि उनलाई त्यहिँ भित्रै मारेर सम्पत्ति पनि कुम्ल्याउने हुन् कि?

त्यो सरकारी सुरक्षा गृहभित्र पस्न उसलाई जति हतार थियो अहिले आएर त्यहाँबाट उम्कन उसलाई त्यो भन्दा पनि धेरै हतार थियो।

Harihar Khanal – Chiso Juneli Raat

हरिहर खनाल – चिसो जुनेली रात

आकाश छ्याङ्ग खुलेको थियो । गोधुली साँझमा पश्चिमको क्षितिजरेखा र त्यसको आसपासमा अबीर छरिएको थियो । पूर्वतिर भने पूर्णिमाको जून भर्खरै डाँडाका कापबाट बाहिर निस्केर विस्तारै माथितिर घस्रँदै थियो । संपूर्ण प्रकृति चन्द्रमाको त्यो स्निग्ध, शितल छहारीमा नुहाएर शान्त मुद्रामा सुतिरहेजस्तो देखिन्थ्यो । मङ्सिर महिनाको अन्त्यतिरको त्यो साँझमाथि शिशिरऋतुका प्राथमिक सङ्केतहरू क्रमशः देखिन थालेका थिए । बाहिरको वातावरणमा चिसो मौसमको प्रभाव दिन–प्रतिदिन घनिभूत हँुदै गैरहेको थियो । ल्याम्पपोष्टबाट बाहिरतिर हुत्तिएको बिजुलीको उज्यालो सडकभरि छरिएको थियो । धरतीमा भर्खरै साँझ खसेको थियो, तर त्यो सेरोफेरो भने सम्साँझै सुनसान हुन थालेको थियो । मानिसहरू सडकमा फाट्टफुट्ट मात्र हिँडिरहेका थिए । सहरका पसलहरू बिस्तारै बन्द हुँदै थिए । गाउँ फर्कने मानिसहरू तिनीहरूका बाहनको खोजीमा हतारहतार स्थनीय बसपार्कतिर लम्किइरहेका थिए । पैदलयात्रीहरू चामलका बियाँसरि सडकमा कताकति मात्र देखा पर्दै थिए ।

सहरको एक छेउमा रहेको सरकारी विद्यालयको घन्टी बजेपछि फोनिक्स साइकल पेलेर घरतिर लम्किइरहेको कृष्णबहादुर झन्डै तीन किलोमिटर परको उसको घरमा पुग्दा गाउँको सडकमा एकजना पनि मानिस भेटिएन । सडक सुनसान थियो । त्यसको बाटोमा अल्मल्याउने कोही थिएन । एक प्रकारले उसलाई सजिलो पनि भयो । सरासर बाटो काट्न पाएको स्थिति थियो त्यो । अर्को हिसाबले हेर्दा त्यसलाई भित्रभित्रै त्यसै अत्यास लागेर आयो । विगत बीस वर्षदेखि ओहोरदोहोर गरिरहेको उसको त्यो सुपरिचित ठाउँ पनि यति बेला त्यो सुनसान, त्यो चकमन्न वातावरण बीच कताकता बिरानो लाग्न थालेको थियो । मनमा अलिकति नियास्रोपन र अलिकति उकुसमुकुस बोकेर घरको बाटो लम्किइरहेको त्यसले पीपलचोकमा पुगेपछि त्यसको घर अगाडिको पोलमा बिजुली बत्ती झल्ल बलिरहेको देख्यो । बिजुलीको उज्यालोमा आँगन र गोठतिर मान्छे हिँडेको परैबाट देखियो । घरै नजिक पुगेपछि उसले देख्यो, सरिता भर्खरै भैंसी दुहेर फर्कदै थिई ।

“कति ढिलो गर्नु परेको हो घर फर्कन पनि ? जुग–जमाना यस्तो छ !” ऊ आँगनमा पुग्न पाउँदा–नपाउँदै सरिताले भनी । कृष्णबहादुर केही बोलेन । उसलाई थाहा थियो, सरिताको कुराको पष्टिकरण दिनु भनेको विवादको सिर्जना गर्नु हो । यद्यपि राजमार्गको लामो सवारी जाँचमा उसले लामै समय लाममा बसेर सडक पार गर्नु परेको थियो, तथापि त्यसले त्यो कुरा त्यहाँ दोहो¥याएन । त्यो समयमा सडकमा उसले जे देख्यो त्यो सबै सुनाएर साध्ये लाग्ने कुरा पनि थिएन । बिहान राजमार्गछेउ पुग्दा हातमा थ्री नट थ्री बोकेको एकजना शैनिक झलक्क हेर्दा पहलमानै हो कि जस्तो लाग्ने अर्को एकजना नागरिकलाई बीच सडकमा समातेर गालैगालामा चड्कन लगाइरहेको थियो । बाहिरबाट हेर्दा निकै बलियो बाङ्गो देखिने त्यो युवक दुवै हातले आफ्नो अनुहार छोपेर त्यसको प्रहारबाट जोगिने निरर्थक प्रयत्न गरिरहेको थियो । बटुवाहरू, रमितेहरू र त्यहाँ भएका जो कोही पनि चोर आँखाले मात्र त्यता हेर्थे र त्यहाँ मानौ केही भएकै छैन, तिनीहरूले केही देखेकै छैनन् कि झैं गरी त्यै बाटो भएर आउने र जाने गरिरहेका थिए ।

चेकपोष्टको पल्लो छेउमा पुगेपछि कृष्णबहादुरले त्यै दिन बिहान अर्काे एउटा दुर्घटना देख्यो । सबारी साधनहरू विस्तारै घस्रँदै सडकबाट अगाडि बढिरहेका थिए । ती सबारी साधनमा सबार यात्रुहरू आआफ्ना हाते झोला भिरेर सेनाको प्रत्यक्ष निगरानीमा सडकको त्यो खन्ड पैदल हिँडेर छिचोलिरहेका थिए । तिनीहरूका आँखा एक्कासी सडककिनारा उत्तरपट्टिको खेतको डिलमा पर्न पुगे । एउटा ठिटो शैनिक एकजना अधबैंसे मानिसलाई घोक्य्राउँदै खेतबाट बाहिर ल्याउँदै थियो ।

“यो ठाउँमा किन मुतिस् ?” त्यो जवान अधबैंसेलाई हकार्दै थियो ।

“चिसोले खप्नै सकिन । अँसी आलीको छेल परेर बसेको हुँ बाबु ।” त्यो स्पष्किरण दिँदै थियो ।

“यतिका मानिसले देख्ने गरी मुत्न तँलाई लाज लागेन ?” त्यसको कठालोमा समातेर त्यो कड्किइरहेको थियो । त्यहाँ पनि बटुवाहरू छड्के आँखाले तिनीहरूतिर हेर्दै मानौ केही पनि भएको छैनझैं गरी बाटो लागिरहेका थिए ।

कृष्णबहादुर खुला आकाशमुनि सास फेरिरहेको थियो, तर त्यसले त्यस प्रकारको सजिलो महसुस गर्न छाडेको धेरै समय भैसकेको थियो । ऊ त्यसैत्यसै थिचिएको, मिचिएको र पिसिएको अनुभव गथ्र्यो । पैंतालिस वर्षे त्यसको यो जीवनमा त्यति असजिलो स्थितिको उसले त्यस अघि कहिल्यै अनुभव गरेको थिएन । उसले देखिरहेको थियो, त्यसका छिमेकीहरूका अनुहारको मुस्कान हराएको छ । त्यसका सहकर्मीहरूको हाँसो लोप भएको छ, त्यसका स्वजनहरूको खुसी विलुप्त भएको छ । यो दुनिया के भएको होला भन्ठानेर ऊ घरिघरि टोलाउन थालेको थियो । ऊ मात्र होइन, उसले जसलाई पनि उसैको स्थितिमा देख्न थालेको थियो । देशमा शङ्कटकाल लागेको पन्ध्र दिन पनि नपुग्दै मानिसहरूमा एउटा भयङ्कर विषादको सुरुआत भएको उसले महसुस गर्न थालेको थियो ।

“छोराछोरी सबै आइसके ?” सरितासित बोली मिसाउने सिलसिलामा कृष्णबहादुरले सोध्यो ।

“अँ सबै फर्किसके ।” बरन्डातिर उक्लँदै सरिताले भनी । उसको पछिपछि कृष्णबहादुर पनि भित्र पस्यो र त्यसपछि तिनीहरूले तत्कालै ढोका लगाए ।

रातको करिव आठ बजेको आसपासमा तिनीहरूले खानपिन गरीवरि घरधन्दा सके । त्यसपछिको काम भनेको ओछ्यान रुङ्ने नै हुन्थ्यो । त्यति चाँडै कसैलाई पनि निद्रा लाग्ने बेला भैसकेको हुँदैनथ्यो, तर त्यो एक किसिमको बाद्यता थियो । सारा गाउँ चकमन्न भैसक्थ्यो । बत्ती निभाएर ओछ्यानमा पल्टिएपछि कृष्णबहादुरले झ्यालबाट बाहिर हे¥यो, पूर्णिमाको जून छताछुल्ल भएर धरतीभरि पोखिएको थियो । रात पनि दिउँसैजस्तो देखिएको थियो । उसको घर अगाडिबाट गएको सडकमा गाडा र गाडीका चक्काले पेलिएर अलिकति कुलेसो परेको भागसमेत प्रष्टै देखिएको थियो । सडक र सडक पारिको सपाट फाँट र त्यो सम्पूर्ण सेरोफेरो जूनको उज्यालोमा नुहाइरहेको थियो तर त्यहाँ कुनै गति थिएन । परतिरबाट आएको कुकुर भुकेको आवाजबाहेक वातावरण विल्कुलै सुनसान थियो । कृष्णबहादुरले उसको विगततिर फर्केर हे¥यो, त्यहाँ धेरै कुरा फरक थियो । ऊ बिना हिच्किचाहट निर्धक्क भएर कुनै पनि समयमा घरबाट बाहिर निस्कन्थ्यो र त्यसरी नै घर फर्कन्थ्यो । रात र दिनमा त्यसलाई कुनै पनि अन्तर भएजस्तो लाग्दैनथ्यो । तर अबको स्थिति भने त्यस्तो छैन । साँझ पर्दा–नपर्दै मानिसहरू घरभित्र छिरिसक्नु पर्ने एक प्रकारको वाध्यता छ । त्यसपछि एउटा सिङ्गो जुग जत्तिकै लामो लाग्ने रात चिप्लेकीराको गतिमा घस्रन थाल्दछ । उज्यालो खस्नुअघि कोही पनि बाहिर निस्कन मान्दैन ।

कृष्णबहादुर ओछ्यानमा पल्टिएको निकैबेर भैसक्यो तर त्यसका आँखामा निद्रा पर्ने कुनै लक्षण देखिएन । ऊ यसो चल्मलायो र बिस्तारै कोल्टे फर्कियोे । देख्यो, सरिता पनि निदाएकी छैन । छोराछोरी भने सुत्न बाँकी नै छ । तिनीहरू दुवै परीक्षाको तयारीमा छन् र आआफ्ना कोठामा अध्ययनमा व्यस्त छन् ।

“सरिता ?” कृष्णबहादुरले बिस्तारै सरितालाई बोलायो । दिनभरिको घरधन्दा र याबत् कामको बोझले गलेका तन्तुहरूलाई बिश्राम दिइरहेको शरीरलाई शिताङ्ग छाडेर सरिता बिस्तारै बोली :“हजूर !”

कृष्णबहादुरलाइ थाहा थियो सरिता निकै थाकेकी छ । त्यसको नियमित दैनिक काममा कुनै फेरबदल देख्तैन ऊ । सरिताको तुलनामा बरु ऊ आपूmलाई सुखी सम्झन्छ । विगत २५ वर्षदेखि ऊ नित्य त्यै काममा लागिरहेको छ । अलिकति वुद्धि लगाउनु पर्ने, त्यत्ति हो । कुनै शारीरिक श्रम गर्नुपर्ने प्रकारको काम छैन उसको । ठीक समयमा स्कुल जानु, आफ्नो कक्षामा पुगेर पढाउनु र छुट्टी भएपछि घर फर्कनु । यो उसको नियमित काम हो । हिउँदको समयमा घाम चाँडै नै लोजाउन थाल्छन् । साँझ पनि झट्टैनै धरतीमा खस्छ । तर त्यो कुराले पनि उसलाई धेरै फरक पार्दैन । छुट्टी हुनासाथ सहकर्मी साथीहरूसित ऊ पनि विद्यालयको प्राङ्गणबाट बाहिर निस्कन्छ र मूलसडकमा पुग्नेवित्तिकै साइकल पेलेर घरको बाटो सोझिन्छ । विगत लामो समयदेखिको उसको त्यो नियमित कार्य आजपर्यन्त जारी छ । देशमा शङ्कटकाल लाग्नुपूर्व त्यो एकनासको काम सधैंनै उस्तै लाग्थ्यो, तर पछि आएर बाटोघाटो, गौंडागल्छी सरकारी गुप्तचरहरू छरिएर बसेका छन् र मूल सडकमासमेत हरेक पल मानिसहरूका पाइलापिच्छे तिनीहरूले शङ्कालु नजर फिँजाइरहेका छन् । त्यो त्रासदीपूर्ण बातावरणको असर आजभोलि गाउँबाट शहर पुग्ने मानिसमा मात्र नभएर गाउँघरमानै घरधन्दा रुँगेर बस्ने सरिताजस्ता घरेलु महिलाहरूमाथि पनि पर्न थालेको छ । कृष्णबहादुर ठान्छ, सरिताका तुलनामा ऊ धेरै सुखी छ । सरितालेझैं उसले रातदिन चुलोचौकोमा समय बिताउनु पर्दैन । कहिलेकाहीँ छोराछोरीले पनि पालो दिन खोज्छन् तर सरिता भने, तिनीहरूलाई सामान्य लाइमिली गर्नुबाहेक पूरै व्यबहार छोड्न पटक्कै खोज्दिन । त्यसै बस्न त सरिताको मनै मान्दैन ।

आफ्नै तन्द्रामा रुमल्लिइरहेको कृष्णबहादुर कति बेला निदाएछ कुन्नि, त्यसले आफै थाहा पाएन । सरिता पनि झकाइछ । पातलो तन्द्रामा परेका बेला एकाएक ढोका ढक्ढक्याएको आवाज आयो, त्यसपछि कृष्णबहादुरको निद्रा खल्बलियो । उसले टाउको उठाएर बाहिरतिर हे¥यो, टहटह जून लागिरहेका थिए । जूनको उज्यालो सर्वत्र फैलिएको थियो, तर बाहिर आँगनमा भने कोही पनि देखिएन । उसले सरितालाई पनि घचेटेर उठायो र साउतीको स्वरमा केही भन्यो । त्यै बेला फेरि ढोका ढक्ढक्याएको आवाज आयो । ऊ उठ्यो र “को हो ?” भन्दै अलि ठूलो स्वरले सोध्यो ।

“हामी हौं सर । ढोका खोल्नोस् ।” परिचितझैं लाग्ने एउटा स्वर सुनियो । तैपनि ती जोइपोइको मन ढक्क फुल्यो ।

कृष्णबहादुरले उठेर बत्ती बाल्यो र तल झ¥यो । झ्यालको पर्दा उचालेर बाहिरप‌िट्ट हेर्दा उसले देख्यो, छ सातजना मानिसको जत्था बरन्डामा उभिइरहेको छ । उसलाई झन् डर लागेर आयो ।

“ढोका खोल्नुस् सर । हामी केही समयको लागि तपाईकहाँ बसेर फेरि बाहिर जानुछ ।” पहिलेकैझैं उही परिचित आवाज बोल्यो । उसले यसो चियाएर बाहिर हे¥यो । नवआगन्तुकहरूको पहिलो लहरमा उभिएकी एउटी महिला आफन्तझैं उसलाई सम्बोधन गर्दै थिई । त्यो जमातमा उसले उसको छिमेकी तेजबहादुर घर्तीलाई पनि देख्यो । कृष्णबहादुरको मन झन् डरायो । तेजबहादुर विगत सात वर्षदेखि जनयुद्धमा लागेर भूमिगत भएको थियो । उसले बुझ्यो, उसको बरन्डाभरि विद्रोहीहरू छन् । ढोका नखोली त्यसले धर पाएन । धर्मसङ्कटमा परेको त्यो मूलढोकामा पुग्यो र त्यसको गजबार खोल्यो ।

ढोका खुल्नासाथ तिनीहरू पालैपालो भित्र पसे र फेरि ढोका लगाए ।

“हामीले बिहानदेखि केही पनि खाएका छैनौं सर । सबभन्दा पहिले हामीलाई भात पकाउने मेसो मिलाउनु प¥यो । भित्र पसेर अलिकति सुस्ताएपछि सहज हुने प्रयत्न गर्दै तेजबहादुरले भन्यो ।

“यति बेला सबै सुतिसकेका छन् । सबै जना दिनभरको कामले लखतरान परेका छन् ।” कृष्णबहादुरले भरसक पन्छाउने सुर ग¥यो ।

“त्यसको चिन्ता नगर्नुस् । सामलतुमल दिनोस् । हामी आफै पकाउँछौं ।” उसले विल्कुलै सहज भावमा भन्यो । त्यसपछि भने स्थिति टार्न सकिने प्रकारको भएन । कृष्णबहादुरले सरितातिर हे¥यो । सरिता पनि ऊतिर नै हेरिरहेकी थिई । तिनीहरूका आँखा जुधे । मौन भाषामा अलिकति सल्लाह गरेझैं ती दुवै भान्छाभित्र पसे । अब अलमल गर्नुको कुनै औचित्य थिएन । कृष्णबहादुरले सरितालार्इृ चामल झिकिदिन भन्यो । ती दुवै मिलेर एकैछिनमा दाल, चामल, नून, तरकारी मसला आदि झिकिदिए र ती दुवै भान्छाबाट बाहिर निस्किए ।

नवागन्तुकहरू सबै अब भान्छामा पुगे । कसैले भात बसाल्ने तरखर गर्न लागे, कसैले तरकारी पकाउने साँगा मिलाउन थाले, कसैले तिनीहरूलाई सघाउन थाले । तिनीहरूले खाना खाइवरि त्यहाँबाट बिदा भएर तल्लो गाउँतिर सोझिँदा रातको करिव बाह्र बजेको हुँदो हो । तिनीहरू त्यहाँबाट हिँडेपछि घरका सबैले लामो सास फेरे र बत्ती निभाएर आआफ्ना ओछ्यानतिर लागे ।

लगभग एक घन्टा बित्यो, तिनीहरूका आँखामा निद्रा परेन । कसैलाई पनि निद्रा लागेको थिएन तथापि तिनीह्रू चुपचाप ओछ्यानमा पल्टिइरहेका थिए । जूनको मधुरो उज्यालोलाई चिर्दै अलिकति घाइँघुइँसँगै उत्तरतिरबाट आएको गाडिको हेडलाइटको बत्तीले अगाडिपट्टिको बाटोमा प्रकाशको लामो धर्सा को¥यो । त्यो गाडी तिनीहरूको घर अगाडिको बाटोमा पुगेपछि रोकियो र त्यसबाट सशश्त्र शैनिकको एउटा सानु डफ्फा निकै फुर्तिसाथ बाहिरतिर हामफाल्यो । प्रत्येकसित हातमा मसिनगन थियो र तिनीहरू सबै शैनिक पोशाकमा थिए ।

कृष्णबहादुर र सरिताको हंसले ठाउँ छोड्यो । तिनीहरूको जिउ जिरिङ्ग फुलेर आयो । ढोका कक्ढक्याएको आवाज सुनेपछि कृष्णबहादुरले बिस्तारै को हो भनेर सोध्यो ।

“ढोका खोल् ।” तिनीहरूको कमान्डरले कडा लवजमा हकारेर भन्यो । कुनै उपाय बाँकी थिएन । ऊ लुरुक्क परेर गयो र ढोका खोल्यो । त्यसपछि तिनीहरू ग्वारग्वारती भित्र पसे । घरका चोटाकोठा सबैतिर बत्ती बाल्न तिनीहरूले आदेश दिए । उसले त्यसै ग¥यो । तिनीहरूले सबै ठाउँ घुमेर घरका कुनाकन्तर छामे ।

“माओबादीलाई भात खुवाउने तैँ हैनस् ?” तिनीहरूमध्ये एकजनाले उसलाई हका¥यो ।
“खै कहाँ छ माओबादी ? देखा ।” अर्कोले ऊतिर मसिनगन तेस्र्यायो । सरिता, कृष्णबहादुर, भर्खरै १२ कक्षामा पढ्दै गरेकी तिनीहरूकी छोरी प्रवीना र छोरो अनिल सबैको अनुहार सोहोरिएर पँहेलो भयो ।

“मेरो बुबाको के बिराम छ र यस्तो अत्याचार गर्नुहुन्छ ?” प्रविना कड्केर बोली । कृष्णबहादुरले भित्रभित्रै अलिकति साहस थएिको अनुभव ग¥यो ।

“ए, नेता चैं त यो पो रैछे । ल यसलाई समात् ।” फौजीको नाइकेले आदेश दियो । त्यसको बोली भुइँमा खस्न पाउँदानपाउँदै दुइजना बन्दुकेले त्यसलाई पाखुरामा समाते । त्यो जोडले कराई । कृष्णबहादुर, सरिता र अनिल सबैजना प्रविनाको एउटा पाखुरामा समातेर भित्रतिर तान्दै थिए, तिनीह्रू बाहिरतिर । त्यै बेला मसिनगनको मोहोराबाट निस्केको गोली कृष्णबहादुरको छातीमा गएर धसियो र त्यो हाँगाबाट खसेको चरासरि त्यहीँ ढल्यो । त्यो अत्यास लाग्दो चिसो जूनेली रातमा त्यो पूरै सेरोफेरो थर्कने गरी निस्केको बन्दुकको आवाज विस्तारै हावाको तरङ्गमा पैmलँदै गयो र परपरसम्म पुगेर मानिसहरूका कानमा ठोकियो । तिनीहरूले त्यो आवाज सुने । तिनीहरू सबै बिउँझिए । तर, फेरि पनि तिनीहरू सास दबाएर भित्रै बसिरहे । कोही चल्मलाएन, कोही बाहिर निस्केन । आँगन कृष्णबहादुरको तातो रगतले लत्पतियो । सरिताहरू चिच्याएर रोइकराइ गर्न थाले । शैनिक टुकडी बिस्तारै पछि हट्यो र ती सबै गाडीमा खाँदिए । एकैछिनमा गाडी त्यहाँबाट बिलुप्त भयो । एकदमै स्तब्ध भएको कृष्णबहादुरको परिवारका सबै सदस्यहरू त्यो चकमन्न, चिसो, निर्जन रातको छातीलाई चिर्दै चिच्याउन थाले ।

निकै बेरपछि प्रविनाले कृष्णबहादुरको निधारमा हात राखी । त्यो पूरै शिताङ्ग भैसकेको थियो ।

धापासी ७, काठमाडौं

Dr. Rabindra Sameer – Digbhram

डा. रवीन्द्र समीर – दिग्भ्रम 

ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ‘डाइट’ खाएको भ्रममा पर्दछ । एक टुक्रा मास्क किनेर उसले प्रदूषणसँग लड्न दीर्घायु किनेको सपना देख्छ ।

घामको ताप र हावाको स्पर्शलाई पङ्खा र हिटरसँग साट्दछ । बोसो घटाउन ऊ विहान एक घण्टा मेसिनमा दौडिन्छ तर कुनै देउरालीमा पुग्दैन । विहान एक मुठी र बेलुका एक मुठी राता, नीला, सेता, पहेँला, काला तथा मिश्रति रङ र रूपका चक्की र क्याप्सुलको ब्रेकफास्ट र डिनर गर्दछ अनि अरूलाई स्वस्थ रहन ‘यो खानु’, ‘त्यो नखानु’ भनेर उपदेश दिन्छ ।

बाटो, पत्रिका तथा टेलिभिजनमा देखिने तरुनीहरूको राप र ताप मेट्न उसले शिलाजित र भियग्राका संस्करणमा यौन किन्छ । त्यति मात्र होइन, इसाबगोलको भूमी विना ऊ शौचालय जान सक्दैन । पाखण्डी र शिखण्डीहरूको प्रवचन र भाषणमार्फत् विचार खरिद गर्दछ । अनि दिनभर ऊ ‘भोक, निद्रा, यौन, विचार आदि मान्छेका प्राकृतिक, जन्मसिद्ध तथा नैसर्गिक अधिकार हुन्’ भनेर पण्डित्याइँ छाँट्दछ ।