यतिराज अजनबी – बिदाइ नववर्षलाई
जुवाका सोइला भाँचेर
हल गोरुहरु उन्मत्त भई
छाडा साँढे भएको बेला
तिनले तिम्रो कुमारित्वसँग
सिँघौरी खेल्न के बेर
त्यसैले ए नववर्ष !
धेरै सिंगारिएर नआऊ
अझ दुई चार वर्ष पर जाऊ
नत्र कलङ्कित हुन सक्छ
तिम्रो सुन्दर नाऊॅँ
दुईटै हात भाँचिएको बेला
पूर्णीमा होस् वा अमावश्य
म ठेलो ,जस्केलो पोत्न सक्तिन
भाँचिएको हलोको टुढोले
म तिम्रो गर्भ जोत्न सक्तिन
त्यसैले बाँझै रहोस्
त्यो ब्याड यस पालि
धोका होला
धेरै ठूलो धोको लिएर नआऊ
कोखो दुख्ला सधैंभरि
भोको भएर नआऊ
शुभकामना र कोसेली खोज्दै
रित्तो ढोको बोकेर नआऊ
भरिएको गाग्रो घोप्ट्याएर
भर्ने निहूँमा पंधेरीमा नआऊ
रल्लिएर रक्सी र मदिरामा नआऊ
पात्रो र कात्त्रोमा हैन
हिम्मत भए छाप्रोमा आऊ
आउँछ्यौ नै भने घडीमा मात्रै हैन
प्रत्येक् मानव नाडीमा आऊ
यहाँ तिम्रो आगमनको
अर्थ उल्टो लाग्न सक्छ
तिम्रो केशको गुजुल्टो पनि
सजिलो चुल्ठो लाग्न सक्छ
तिम्लाई स्वागत गर्ने बहानामा
दियो पनि पुल्ठो बन्न सक्छ
आँधिहुरी चलेको बेला
झिल्को पनि
अगुल्टो बन्न सक्छ
नत्र हेर म पनि
उल्टै गरिरहेछु
तिम्लाई स्वागत गर्ने अवसरमा
बिदाई दिइरहेछु
२५ माघ २०६० ,विराटनगर