Yagyesh Dhwoj Karki – Yo Samaj

यज्ञेशध्वज कार्की – यो समाज

यो मानिसको किनबेच चल्ने समाजमा
मजबुरीमा, लाचारीमा, बलजफतीमा, जबर्जस्तीमा
कयौं बेगुनाह चेलीबेटी बेचिन्छन्,
जो लज्जा र अपमानले
दिनभरी लुक्छन्,
रातभरी दिनलाई कुर्छन्,
सबका सामु झुक्छन्,
आफ्नो नसीबलाई धिक्कारी सुकुँसुकुँ रुन्छन्,
उनलाई अतीतले पोल्छ
भाग्यले पिरोल्छ
भित्रभित्र भावनाहरुले दुख्छ,
अनि यो समाजले पनि
उनै उपर थुक्छ!
तर,
आफ्नो इच्छाले,
आफूखुशी आफैलाई
आफ्नो इमान र मर्यादासँगै बेच्नेहरु चाहिं
रोव, रवाफ र शानसंग
दिनभरी भुक्छन्,
रातभरी चैनसंग घुर्छन्,
आफ्नो घुसियापन सबका सामु पुर्छन्,
ओहदामा माथि माथि उठ्छन्,
उनलाई न कानुनले छेक्छ
न नैतिकताले रोक्छ,
केवल कपटले बोक्छ
अनि यो समाज पनि
उनैलाई निहुरी निहुरी सलाम ठोक्छ!