Yagyesh Dhwoj Karki – Ishwar Bhetiyema Awashya Sodhnechhu

यज्ञेशध्वज कार्की – ईश्वर भेटिएमा अवश्य सोध्नेछु

ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन्
या ज्यूस छन् या जूपिटर?
मृत्यु पश्चातको यात्रामा,
वैतर्नि तर्नुपर्ने हो कि
सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो?
स्वर्ग पुग्न के-के गर्नु पर्ने हो?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु।

भयाटिकन, मक्कामदिना, चारधाम
जेरुसुलम, लुम्बिनी, अमृतसर
मलाई कोही बताइदेऊ पृथ्वीमा ईश्वरको घर,
ईश्वर तिमी नै कहीं बोलाऊ
जहाँ म साक्षात तिम्रो दर्शन पाउँ,
अन्योलमा,
जाउँ पनि त म तीर्थ कहाँ जाउँ?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

जिससका बोलीमा बुद्ध

बुद्धका बोलीमा सरस्वती,
शिवका अलौकिक जटामा गंगासँग
नाइल र मिसिसिपी निर्झरी,
आखिर शरीर
दफ्नाएपनि जलाएपनि माटोमै मिल्छ,
आत्मा परमात्मामै,
तिम्रो परमात्मालाई जे नाम बोलाऊ!
सृष्टिको सुरुवात आदम थिए या मनु,
यो जीवनको सुरुवात त गर्भबाटै हुन्छ,
धर्मबाट त होइन,
नत्र धर्मैधर्मले हराबरा यस पृथ्वीमा
शान्ति को शोक किन मनाइन्छ?

पृथ्वीलाई धर्मकै रणभूमी किन बनाइन्छ?
जहाँ फादरका रोब, मौलानाका दाडी र पण्डितका धोति
प्रतिपक्षीका ध्वजा भएका छन्।

ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

मानिसले खोजे ईश्वरलाई,
ढुंगा र पत्थरमा,
सुन र चाँदीमा,
पृथ्वीमा बस्न बनाइदिएको डेरामा;
मन्दिरमा खोजे, मस्जिदमा खोजे,
चर्चमा खोजे, गिर्जाघरमा खोजे
मानिसले सायद खोज्न बिर्सेकी आफ्नो मनमा?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

बाटो एक मार्गदर्शन अनेक!
इतिहास एक कहानी अनेक!
सृष्टि एक त सृष्टा कसरी अनेक?
विश्व एक त स्वर्ग कसरी अनेक?
सेन्ट होस् या ऋिषिमुनि
वेद-बाइबल लेख्ने हुन् या के के कुन्नि?
आस्था हृदयको कुनाकाप्चामा पाइन्छ
अक्षरका मन्त्र र बोलीको प्रवचनमा होइन,
त्यहि कुनामा सायद,
झूटा आश्वासनले बन्दी ईश्वर
मुक्तिको प्रतीक्षा गरिरहेछन्,

त्यसैले हे ईश्वर!

भेटभएमा म सोध्न चाहन्छु
धर्म धर्मात्मा ले बनाए कि परमात्माले?