दामोदर पुडासैनी किशोर – उपहार
गृष्मको चहकिलो साँझमा
तिमीले उपहार दियौ र गयौ
मैले भने तिमीलाई र तिमीले दिएको उपहारलाई
मन र कोठाको बगैँचामा सजाइरहेछु
मनका सुन्दर रँगहरू भरेर
तिम्रो मनजस्तै सफा
उपहार दिएकीथियौ तिमीले
उपहार पाएपछि भने
मैले पाइरहेछु तिमीलाई
हरेक क्षणका रेखाहरूमा
किन किन तिम्रै मात्र अनुहार देखिरहेछु
तिमीले दिएको उपहारमा
किन सँझनाले छोडदैन मनमा
तिमीले उपहार दिइरहेका क्षणहरूको
उपहार तिमीले दिएकी थियौ
कस्तो अचम्म
मलाई त पुरै लगिछौ तिमीले आफैँसँग
तिमीले दिएको उपहार सजाइरहेको बेला
थाहा पाएँ मैले
नौनी जस्तो मेरो मायालु मन
थाहै नपाई टाँसेछ कसैले
रँगिन पोष्टर बनाएर
उसकै मनका भित्ताहरूमा
मेरो मननै तिमीले कब्जागरेपछि
रित्तो भएकोछु म
त्यही रित्तोपन भएपनि
सुम्पने विचार गर्दैछु
तिमीलाई सुन्दर उपहार
तिमीबाट उपहार पाएपछि
यो सँसारलाईनै देखिरहेछु तिमीनै तिमी
तिमीले दिएका उपहारका पानाहरूमा
के के बनाउँ ड्रइगँ,डिज़ाइन र इष्टिमेट
तिम्रो गुलाबी मनमा रँग भर्न
म तिमीले दिएको उपहार छाम्दै सोचिरहेछु
तिमीले दिएको उपहार होइन
ढकमक्क फक्रेको पुष्पबृक्षझैं
उभिएको भेटिरहेछु
तिमी नै तिमी ,मेरो अघिल्तिर
-२०७६ जेठ २९ गते बुधवार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ