टेकब कोईराला – दौंतरी
बुटो–बुटोमा चाहार्दै
कट्मेरो बेलौती टोकेर
आधा तिमी खान्थ्यौ
आधा म खान्थें
ब्याङ्ग–ब्याङ्गभित्र लुक्दै
ऐंसेलुको मसिना टोपी टिपेर
कसको सोली ठूलो
प्रतिस्पर्धामा तिमी जित्ने गर्थ्यौ
म हारिदिने गर्थे
हाँगा–हाँगामा लम्कँदै
काफलगेडीहरु बटुलेर
पोल्टा–पोल्टामा भर्थ्यौं
कसको बढी मीठो
मेरो काफल तिमी टोक्थ्यौ
तिम्रो काफल म टोक्थें
कठैबरी आज
तिमी गयौ नौ डाडापारि
म गएँ नौ खोला तरी
बालबयका ती सम्झनाहरु
सपनाभरि सलबल सलबल
आँखा वरिपरि झुल्किँदै बिलाउँदै
चाहेर पनि बिर्सन नसकिने
बर्सेर पनि बिर्सन नसकिने
यो कस्तो दौंतरी