टंक सुब्बा – सम्मोहन
हरेक दिन यो सडकमा ओहोर दोहोर गर्दा
थुप्रै थुप्रै र्इच्छा आकांक्षहरु फूलेको देख्छु
सपनाहरु झुलेको देख्छु
त्यसै वेला मैले टेक्दै गरेका सडकहरुले
आकार वदल्न थाल्छन्
दिशा परिवर्तन गर्न थाल्छन्
तव मैले नसोचेको परिस्थिती
मडारिएर आईदिन्छ
अनि त्यसले वेस्सरी कुल्चिन्छ
थाहा थिएन यहाँ यस्तै होला भनेर
तर हिड्दै जाँदा
अनगिन्ति चोटहरु सहन पुगे
अनगिन्ति दुखहरु भोग्न पुगे
लाग्थ्यो अव कसरी हिड्ने होला
यी सडकहरुमा ?
जहाँ अनेकौ वाधाहरुछन्
जहाँ अनेकौ अड्चनहरुछन्
तर त्यसलाई पन्छाएर हिड्नै पर्दोरहेछ
यसरी अप्ठ्याराहरुसँग
कतै ठोकिएर पनि
कतै चोईटिएर पनि
यात्राका क्रमहरु जोड्नै पर्दोरहेछ
लाग्थ्यो खुशीहरु कहिल्यै उदाउँने छैनन्
लाग्थ्यो आकांक्षहरु कहिल्यै छोइने छैनन्
तर उज्याला दिनहरुको आगमनले
सपनाहरु फूल्न थालेपछि
मैले नाप्दै गरेका सडकहरुले
आकार वदले पनि
दिशा परिवर्तन गरे पनि
मेरो उत्साह मरेन
मेरो यात्रा विथोलिएन
समयले अनेकौं प्राहार गरे पनि
मेरो बाच्ने र्इच्छा घटेन
वरु झन आशाका मुनाहरु पलाईरहे
तव नयाँ दिनहरुसँग सम्झौता गरेर
म हाँस्न मञ्जुर भैदिए
त्यसैले त विवशतामा पनि
सम्मोहित भएका छन् मेरा जिजीविषाहरु