टंक सुब्बा – प्रेम सागर
जब म ति म्रो हातेमालो बनेर
किनारा लाग्छु, समुद्रको
तब हल्लन थाल्छन् केशराशीहरु
सुमधुर पवनले
सुस्तरी सुस्तरी खुल्ला हिडाइ
प्रेममा चुर्लुम्म डुबेको जीवन
सुवास्ना चारैतिर फैलिएको यौवन
उदाउन लागेको घाम जस्तो मुस्कान
मोहनीले लठ्ठ परेको यो मन
भुलिरहेछ तिम्रो प्रेमको सहरमा
झुलिरहेछ तिम्रो वैंशको उन्मादमा
समुद्रको अनगिन्ती तरङ्ग जस्तै
नरित्तिने मायाको भण्डार
फैलिएर हृदयको नजिक आइपुग्छ
अनायस हराउछु तिम्रो सौन्दर्यमा
मृगनयनका लज्जालु हेराइ
मुलायम मुलायम हातहरुको स्पर्श
पग्लिएर यो मन तिमीसम्म पुग्दा
सल्बलाउन थाल्छ यो छाती
कोइली हरियाली वसन्तमा हराए झैं
भमरा फूलमा भुले झैं
म हराएको छु तिम्रो मदमस्त जीवनमा
म डुबेको छु तिम्रो प्रेमको सागरमा
एउटा अवर्णनीय बिहार जस्तो
खुल्ला-खुल्ला मैदान जस्तो
नलेखिएको खुल्ला कागजको पाना जस्तो
तिम्रो नजिक उभेर
क्षितिजसम्म आखा फैलाउदा
निशानी कही नदेखिए जस्तो अवरोध कही नभेटिए जस्तो
अथाह समतल समतल फैलिएको छ
प्रेम सागर ।