टंक सुब्बा – एउटा युग
एउटा युग लेख्नलाई
श्रमजीवी हातहरुले देशको छाती-छातीमा
हलो र कोदालोले बारीको कान्ला-कान्लामा
खेतहरुको गरा गरामा
गाउघरको दलान दलानमा
निधारबाट परिश्रम बगाएर
जो बिहानीको घामसंग उदाउछ
त्यही मान्छे ।
केवल एउटा युग बनेको हुन्छ ।
हरियाली बसन्तको आचलसंग
फूलवारीका फूलहरुसंग
खेतवारीको बालीनालीसंग
जिएको हुन्छ एउटा युग
नपत्याए आफ्नो परिश्रममा रमाउने कृषकहरुलाई सोध
नपत्याए आफ्नो पाखुरी बजार्ने श्रमजीवीहरुलाई सोध
पसिनामा मान्छे भिजेको छैन भने
अन्नमा मान्छे धन्य भएको छैन भने
अथवा युगमा मान्छे उभिएको छैन भने
किनकी सपना हो युग
हिमाल उभेको हुन्छ
र उभेका हुन्छन् आकांक्षाहरु
अनि अठोट धरतीमा सिचाइ हुदा
फुल्छन् सिर्जनाका फूलहरु
त्यसैले टागिन्छन् अनन्तसम्म
सन्ततीका पुलहरु
जसबाट सजिलै हिड्ने गर्छ युग
र समयका नदीहरु तर्दै
आइपुग्ने गर्छ हामीसम्म
तसर्थ
एउटा युग लेख्नलाई
चाले हुन्छ जोसिलो कदमहरु
बोके हुन्छ भरिला उद्देश्यहरु
जहा रङ्गीएर आफ्नै श्रममा
मान्छे
एउटा युग बनेको हुन्छ ।