टंक सुब्बा – विभाजित छन् आकासहरु
आकांक्षहरु
थोपारेर आफ्नै उजाड छातीमाथि
एक डंगुर
बा“धिएका छौं हामी समयसंग
सम्मोहनमा
न्यानो आभाषले नछुट्ने गरी
थुम्थुम्याउछौ दुःख सुखलाई
समयको आलिभरी
फोडिरहेछौ दुःखको पहाड
कर्तव्यको आवादी खेतहरु बिराउन
असारमासको रोपाहार झैं
हस्याङ्ग फस्याङ्ग गर्दै
धरतीको वक्षस्थलमा
रोप्दै छौं विश्वासहरु
समयको पाखाभरी
खण्डित जीवनका कालखण्डहरु
कुल्चदैं प्रतिवद्घताले
बोकेका छौं आखाभरी
भविष्यका सुन्दर प्रतिविम्वहरु
आस्थाको खलेगराबाट
आत्मसाथ गर्दा जीवन
भोग्न बाध्य हुन्छौं व्यवधानको उत्तारचढावहरु
अब यहा जीवन मुहर्तलाई
जुनसुकै परिवेशबाट
इतिश्री किन नगरौं
संसार हो त्यो मानवताको
देश हो त्यो बन्धुत्वको
तर यहा विभाजित छन् आकासहरु
उस्तै जिजीविषाहरु उभिएको
ब्रम्हाण्डमाथि
उस्तै मान्छेहरुको शीरमाथि