टङ्कप्रसाद चौलागाईं – नानु निकै पर भयौ (गजल)
नानु निकै पर भयौ अलि वर सरिदेऊ
मग्मगाउँदै बास्नाले सोह्र शृङ्गार गरिदेऊ ।
आँखा तर्दै, रिसाउँदै, तकियालाई अठ्याउँदै
प्रेमीको स्वागतार्थ पलङछेउ झरिदेऊ ।
थाकेको यो शरीर सम्पूर्ण सुम्पिदिन्छु
मनभित्रको प्रेमाग्नि चारैतिर छरिदेऊ ।
पन्चेबाजा, डोली चढ्दा कति राम्री देखिएकी
त्यही लुगामा सजिएर सिउँदो रातै भरिदेऊ ।