Tulasi Prawas – Ye Priya Man

तुलसी प्रवास – ए प्रिय मन !

म अक्षरहरूको बुई चढेर
दूर अक्षरयात्रामा जान चाहन्छु
ए प्रिय मन !
मलाई नरोक
दूर देशका दूर कवितामा
म आफूलाई हराउन चाहन्छु ।

मलाई के दियो र खै
यो शहरले ?
म बस्ती बस्तीमा पुगेर
मन सँग मन साट्न चाहन्छु
म अक्षरहरूको बुई चढेर
दूर अक्षरयात्रामा जान चाहन्छु ।

जहाँ भोक छ, जहाँ रोग छ
यो देशभित्र रोपिएको
अव्यवस्थाको शोक छ
तिनै निर्धन बस्तीहरूमा
म अक्षरहरूको बुई चढेर
अक्षरहरूकै मलम लगाउन चाहन्छु ।

मलाई नरोक ए प्रिय मन !
म दूर देशमा एउटा
बुद्घ जन्माउन चाहन्छु
यी खोला, कन्दरा, हिमाल
अनि सुसेलीहरूमा
सेतीको पानी जस्तै
सेता सेता मनहरूको माझमा
म अक्षर रोप्न चाहन्छु ।

मलाई नरोक,
म अक्षरहरूको बुई चढेर
अक्षरयात्रामा जान चाहन्छु
चहराइरहेका मनहरूमा
अक्षरकै मलम लगाउन चाहन्छु
म दूर देशमा एउटा
बुद्घ जन्माउन चाहन्छु ।।

पोखरा

ViBid Rose – Sharir Ra Atmaa Bahek

शरिर र आत्माबाहेक

शास्त्रले भन्दछ
भनेर एकपटक पन्डित बाले भनेथे-
म म होइन
शरिर र आत्मा हुँ अरे

र आत्मा वृद्द जन्मन्छ
शरिर जन्मदाँ शिशू हुन्छ अरे ।

त्यस वखत लौरी बाटोको बाधा हुन्थे
पन्डित बाका कुरा कहाँ सुन्थेँ र ?

आज लौरी शहारा छ
म बुझ्छु सब, मेरा कुरा को टेर्दछ ?

तर खिज्याउन्न प्रकृती मलाई म वृद्ध छु
ठान्दैनन् पशूपङ्क्षी म शिशू अशक्त छु

विचरा तिनीहरू! म त कहिल्यै थिदैँथिइन-
थियो मेरो शरिर जो आज वृद्ध अशक्त छ
थियो मेरो आत्मा जो आज शिशू अशक्त छ ।

हिजो दुवै जवान हुदाँ
कति भ्रमित थिएँ म
कि शरिर र आत्माबाहेक पनि
कहीँ कतै

म छुँ ।