चिनी–पानी खुवाएर
गाउँको हालखबर सुनायो
बसिर मुसलमानले ।
रोहिणी खोलाले घेरेको छ गाउँ
र भयभीत छ वर्षा–आतङ्कबाट
गाडाको बगरको गिटी टिपेर लादिरहेका
काली कन्याहरूका आँखामा
देख्न सकिन्छ अनौठो तेज
मध्याह्नको धुपले डामेको छाला
र बसिरको राजनीतिमा
केही पाइनेछैन अन्तर
तर उसले गर्धन आफ्नै थापेर
बचाएको थियो कुनै नेता
(जो प्रधानमन्त्री छ आज)
कुरा सुरु गर्छ बसिर यस्तै कुराबाट ।
चिनी–पानीको घुट्कासँगै
सुरजपुराको कथा पनि मिसायो
बसिर मुसलमानले ।
के सोच्छन् गिटी टिपिरहेका
यी काली कन्याहरू
नदीको कटान
उर्लँदो भेल
र आफ्नो चढ्दै गरेको जवानीबारे ?
के सोच्छन्
यी काली कन्याहरू
गोरुलाई सारेर आफ्नो बोझ
आफूलाई हलुङ्गो हुने वा नहुनेबारे ?
बसिरको इतिहास–नायक
र रोहिणीमा मिसिएर आउने खोलाहरूबारे ?
के सोच्छन् उत्तरको सेतो पहाड
पग्ले–नपग्लेको बारे ?
के सोच्छन् कुन्नि
आफ्नै घरमा लगाउनुपर्ने आगोको बिउबारे
अब चाँडै सँगै सुत्नुपर्ने जङ्गली बाघहरूबारे
म सोच्छु बसिरलाई
के सोच्छन् यी कन्याहरू
आफूजस्तै अरू कन्याहरूबारे ?
“केही सोच्दैनन् यिनीहरू
हो, सोच्नै सक्दैनन्”
भन्यो
र चिम्लिदियो आँखा
बसिर मुसलमानले ।