Shiva Prakash – Rupantaran

अस्तिसम्म
मान्छे थियो
उ पनि,
हिजोदेखि
सिंहदरबार
छिरेछ,
आज
अचानक
जनावरमा
रुपान्तरण भएछ !
अस्तिसम्म
पाठ पढाउथ्यो
उ पनि,
नीतिका,
न्यायका,
निष्ठाका,
नैतिकताका,
इमानका
हिजो
सिंहदरबार
छिरेपछि
आजै सबै
बेचेर खाएछ !
संचार माध्यममा
भोलीपल्ट
जताततै
अन्तर्वार्ता
उसैको आएछ
“समय अनुरुप
हामीले
आफूलाई
निरन्तर
रुपान्तरण
गर्न सक्नु पर्छ !”
उ अझै भनिरहेछ ।

(अश्रृंगार कविता अभियान ……)