Shiva Prakash – Maanisharu Ko Jangal

बस्ती छैन
उजाडिसकेको छ
मान्छे छैन
मरिसकेको छ
मानिसहरुमात्र उम्रिरहेछन्
मानिसहरुको जंगलमा ।
मान्छे बिनाको बस्ती
बस्ती हुदैन
र बस्तीमा जहाँ मान्छे हुदैन
त्यो जंगल हुन्छ
मानिसहरुको जंगल !
चितुवाहरु
ब्वाँसाहरु
बाघहरु
भालुहरु
गोहीहरु
अजिङरहरु
छेपाराहरु
सबै छन् त्यो जंगलमा
मानिसहरुको जंगलमा ।

फरक छ
मान्छे र मानिसमा
मानिस यावत् छन्
मान्छे थोरै
गान्धी मान्छे भए
टाल्सटाय मान्छे भए
मान्छे कृष्ण ईश्वर भए

न गान्धी, न टाल्सटाय, न कृष्ण
न एउटा नयाँ बस्तीको निर्माता
मात्र बाँचिरहेछु
मानिसहरुसँग
मानिसहरुको जंगलमा ।

बोस्टन, अमेरिका