Shiva Gautam – Bachne Bani

शिव गौतम – बाच्ने बानी

वाँच्नु पानि एउटा नशा पो हो कि क्या हो,
आज वाँची सके पछि
भोलि फेरि वाँच्न मन लाग्ने,
एक पल्ट माते पछि
फेरि फेरि पनि मात्न मन लाग्ने।

यो आदत छुटाउनलाई
वाँच्ने यो लत छुटाउनलाई
समुन्द्रका सुनामी छालहरुले
छल गरेनन् कि,
भुईँचालाहरुले
आफ्ना चालहरु चलेनेन् कि,
अनादि काल देखि नै
झैझगडा, माहामारी र खडेरी
अनि अनेकौं अनिकाल आएनन् कि।

जुनसुकै बहानामा होस्
बाँच्ने यो लतलाई
यो आदतलाई
कालको अदालतले
जति पल्ट साहदातको सजाय सुनाए पनि
यो त एउटा लत न हो आखिरमा,
गएर यो फेरि लागी हाल्छ
जागी हाल्छ यो फेरि
कुनै नया मनुवामा
कुनै नया पालुवामा।

वाँच्नु पानि एउटा नशा पो हो कि क्या हो,
आज वाँची सके पछि
भोलि फेरि वाँच्न मन लाग्ने,
एक पल्ट माते पछि
फेरि फेरि पनि मात्न मन लाग्ने।

(Sent to Sanjaal Corps via Email)