शेखर ढुङ्गेल – कालो छायाँ
त्यो छायाँ
अँझै पछ्याई रहेछ
घुसेको छ रौं रौं अनि
मस्तिस्कको नसा-नसामा
जति घस्रिए पनि
दरिद्रताको छायाँ हटेको छैन
जति भोगे पनि
कुलिषताको संस्कार
पखालिएको छैन
मनको कालो कोठरीभित्र
ज्योतिको भण्डार हुले पनि
‘दंभ’को छायाँ भागेको छैन
त्यही छायाँ च्याप्नु थियो त
यहाँसम्म लखेटियौ किन ?
‘कोख’को बिषाक्त दात
निकाल्नु थिएन भने
‘TO BE POSITIVE ”
संस्कारको देश नै रोज्नु किन ?
आफ्नो भूत्ते ‘दंभ ‘लाई
‘सम्पूर्ण’ सम्झेका थियौ त
शालीनहरूको बस्ती पस्यौ किन ?
अझै कति बतासिन्छौ ?
‘अहम्’ छायाँको दास बनेर ?
अझै छायाँ लस्सिरहेछ मनमा
अनगिन्ती कालो योजना रचेर