सरोज धिताल – साँझ
कालै देखिन थालिसकेछ धर्ती त !
क्षितिजमा देखिएको
त्यो सुन्तला रङको सुन्दर घेरा के हो ?
बुढेसकालको हाम्रो प्रेमजस्तो ।
त्यसमाथि हाँसेको फिक्का सुनौलो रङ के हो ?
भगवानको मूर्तिअघि बलिरहेको दियोजस्तो !
अहा ! त्यो खुलेको उज्यालो आकाशे रङ्ग
पखालिएर सफा भएको सुन्दर मनजस्तो
अनि यो सबलाई पर्खाल लगाएर बसेको गाढा नीलो रङ्ग
बाँचू–बाँचू लागिरहने जीवनको मोहजस्तो
साँझ !
बाँचेर हेर्नुपर्छ
अनि पो सुन्दर देखिन्छ ।