सरोज धिताल – मेरो प्रिय कवि
मेरो प्रिय कवि
आजकाल कविता नै लेख्दैन ।
भोकाएको बेला
छटपटिए पनि, रोए पनि
अँगेनाको छेउमा बसेपछि
मुख रसाउँछ
दुई चार गाँस परेपछि
सुकेको आँत नै रसाउँछ
र भोक मरिसकेपछि
म कविता लेख्छु—भोककै बारेमा
तर मेरो प्रिय कवि
कविता नै लेख्दैन ।
मुख थुनिएको बेला
बोल्नै नपाएर छट्पटिए पनि
धुरु धुरु रोए पनि, रिसले मुर्मुरिए पनि
परबाट आएको धुन सुन्दा
म पनि गुन्गुनाउँछु
रिस मरेपछि, पीडा घटेपछि
म कविता लेख्छु—अभिव्यक्ति स्वतन्त्रताको बारेमा
तर मेरो सबभन्दा मन पर्ने कवि
आजकल बिल्कुलै कविता लेख्दैन ।
जुन, २००२