सरोज धिताल – ईश्वर, मान्छे र सैतान
जिन्दगीको अपूर्व उपहार
गजबको टिम छ मसँग
हामी तीनको ।
एउटा म,
एउटा ऊ
र अर्को ऊ ।
एउटा ऊ
पतरपतर बोलिरहन्छ
र भन्छ
ऊ सधैँ सही छ
सधैँ विजयी छ
विषाद, ग्लानि कहिल्यै देखिन्न उसको मुहारमा
रिस, आवेग, गति र आकर्षणको धनी ऊ
फकाउन फुल्याउन, झुक्याउन र झुलाउन
उत्तिकै सिपालु छ ।
अर्को ऊ
चुपचाप मधुर मुस्कान छरिरहन्छ
न हो भन्छ, न होइन भन्छ
न सक्छु भन्छ, न सक्दिन भन्छ
तर करुणा जस्तो केही सधैँ देख्छु म उसका आँखामा
जहाँबाट अविरल टप्किन्छ सुन्दर कोमल निमन्त्रणा ।
म, मान्छे
दुवैलाई रिझाउने प्रयत्नमा
जिन्दगीको अर्को उपहार –
समयलाई
पाखण्डको भट्टीमा जथाभावी उडाइरहेछु
आफैंलाई ढाटिरहेछु
ती दुईलाई ढाँटिरहेछु ।
के ती दुई
सैतान र ईश्वर पनि
सबैलाई ढाटिरहेका त छैनन् ?
३-२-२००४