सरोज धिताल – छोरी र चित्र
मेरी सानी छोरी
एउटा चित्र कोर्छे
र
मलाई देखाउँछे ।
“के हो बाबा यो ?”
म सोध्छु
“यो ? म !”
ऊ लाडिँदै जवाफ दिन्छे
र
सानी पुतली जस्ती ऊ
आफैँजस्ती भएर हाँस्छे ।
म राम्ररी हेर्छु
र देख्छु–
चित्रमा केवल एउटा बिन्दु छ ।
“के हो बाबा यो ?”
उसको केटाकेटीपनमा हाँस्दै म सोध्छु
“मान्छे !’
अलि गम्भीर भएर ऊ भन्छे
सिसाकलम चपाउँछे
र थुकले भिजेका ससाना औँलाले
मेरो ओठ समाउँछे ।
म फेरि उसको कृतिमा घोरिन्छु ।
अचानक यस्तो लाग्छ
उसले साँच्चै केही बनाएकी छ
जो छ र पनि छैन
छैन र पनि छ
केही छ उसको चित्रमा
जसलाई म केवल अनुभूत गर्न सक्छु ।
आँखा मिच्दै, जिल्ल परेर म सोध्छु
“के हो छोरी, यो ?
भगवानको विराट स्वरूप ?
कि ब्ल्याक होल सिंगुल्यारिटी ?”
जवाफमा ऊ मुसुक्क हाँस्छे
संसारको सबभन्दा सुन्दर पूmलजस्तो
साँच्चै मान्छेकी छोरीजस्तो ।
मेरी सानी छोरीले कोरेको चित्रमा
म उसैलाई देख्छु
मान्छेको निष्कलङ्क आदि सुन्दरता देख्छु
मेरो सबभन्दा सुन्दर कल्पनाको मान्छे देख्छु ।