Saroj Dhital – Muskurai Rahane Ye Yuvati

सरोज धिताल – मुस्काराइरहने ए युवती !

“पोको पारेर पीरहरूलाई थन्क्याउँछु म एकातिर
र बाँच्ने प्रयासमा
मुस्कुराइ दिन्छु ”
—यसै भनेकी थियौ तिमीले
मेरो प्रश्नको जवाफमा ।

मुस्काइरहने ए युवती !
केवल एउटा अर्को प्रश्न छ मेरो
त्यो कुन दिन
कुन घडी होला
त्यो कुन पल
कुन शुभ साइत होला
जब मन रुँदा तिम्रो
तिमी पनि रुन सक्छ्यौ
पग्लिँदा मनभित्र पीडाको बरफ
आँसु बनाइ झार्न सक्छ्यौ ?

त्यो दिन
त्यो घडी
त्यो पल पर्खिरहेको छु म
त्यस पलको
तिम्रो मधुर मुस्कान पर्खिरहेको छु म ।