Sarita Tiwari – Ma Timi Sanga Saha Astitwa Banchdina

सरिता तिवारी – म तिमीसंग सह-अस्तित्व बाँच्दिनँ

जब अस्तित्व बोकेर महासत्तको
मिथकहरू
मेरो सीमाभित्र प्रवेश हुन्छन्
आमाहरुका सपनाहरु
चोरी हुन थाल्छन

जल अवस्थितिपुर्ण
मेरा सीमाहरुबाट
पानीहरु हराउँछन

क्रमश:
हामी काकाकुलको स्थितिमा आइपुग्छौं

तिमी कस्तो देशभक्ति गाँउछौ ?
पत्थरहरु त गीत गाउँदैनन्
पत्थरहरुभित्र मुटु हुदैन
माया हुदैन
जेसुकै भनौं
पत्थर संवेदनामा कहिल्यै रुँदैन

नखरा नपार
मैले बुझिसकें
तिमी स्वाभिमान बेचेर
देश भुट्ने सपना किन्छौ

म त
आफ्नै पाखुरीले सृजना रोप्ने मान्छे
आफ्नै पसिनाले माटो भिजाएर
आफ्नै औंलाहरुले
भाग्य खेप्ने मान्छे
मलाई सपना देख्न मन लाग्छ – मुक्तिको
यतिखेर भयानक अग्निमा होमिएर
मानचित्रभरी दुखेको छ देश

ए मिथकहरू !
रगत उम्लन देऊ

अप्रितम संचेतेनाको चिराग बालेर
बस्तीहरुमा आउनेछु
तिम्रो शमनीसत्तालाई चिर्दै
मान्छे-मान्छेसम्म आउनेछु

२०५५ / १ / २७