Sanju Bajagain – Murkatta Haru

सन्जु बजगाईं – मुर्कट्टाहरु

मुर्कट्टाहरुको राज्यमा
भेटिन्नन् टाउका बोक्ने नागरीकहरु
र,
भेटिन्न आँखाहरु अनि थलथलाउँदा तिनका मगजहरु !
भेटिन्छन् त केवल
छातीभित्र उम्रिएको ओढाराकार मुर्कट्टे मुख
कहिल्यै नभरिने
अतृप्त मुर्कट्टे पेट ।

मुर्कट्टाहरुको राज्यमा
छिनालिएका छन् टाउकाहरु
गिडिएका छन् गर्धनहरु
अनि
थुनिएका छन् गोटागन्तीमा
कयांैजोर आँखाहरु
अनि कयौं गोटा गर्धनहरु
खिया परेका चिहाने बाकसहरुमा
र केवल
छोडिएका छन् मुर्कट्टे स्वरुपहरु
यत्रतत्र र सर्वत्र ।

दिनहरु बन्द छन् मुर्कट्टे राज्यमा
तर बजारहरु मस्त छन् रातभर
छ्यापछयाप्ती क्षितिजपारीका दोखहरुको
सिक्के उपस्थितिमा ।
आमाको मोलतोलाईको चर्काचर्की
दोखहरुका सिक्के आवाजको सनसनाहटले थिचेपछि
धामीझाक्री समेतका टाउकाहरु
निमिटयान्न बिलाएका छन् ।
मुर्कट्टे राज्यमा,
के सिक्के तालमा धामीझाक्री
मुर्कट्टे नाच नाच्न थालेकै हुन् ?
खै ! दोख मन्छाउने मन्त्र कसले फुक्ने ?
लौ न ! कस्तो अत्यासलाग्दो ?
ए ! मुर्कट्टे राज्यका नागरीक हो,
तिम्रा टाउकाहरु थुनिएका चिहाने बाकस खोई ?
तेजिला आँखाहरु र खँदिला मगजहरु खोई ?

के तिम्रा आँखा र मगजहरु बिकेकै हुन ?
यस्तो त हुनै सक्दैन ।
तिम्रा गर्धनहरुको अभावमा
तिम्रो राज्य मुर्कुट्टे भएको छ
कमजोर भएको छ
हेपिएको छ
तर्सिएको छ
अर्धमुर्छित भएको छ ।

खिया लागका चिहाने बाकसबाट
एकपटक चिहाएर त हेर
तिम्रो मुर्कट्टे राज्यको घिनलाग्दो स्वरुप
यहाँ,
आँखा नभएका अर्ध शरीर
ठेलमठेल गर्छन एकअर्कामा
कोर्तछन्–चिर्तोछन आफ्नैलाई
र चिच्याउँछन्
पीडा पोखेर आधारातमा ।
त्यसैले,
खिया लागेको फलामे बाकस तोडेर
निकाल तिम्रा गर्धन बाहिर
अनि
फर्काउ तिम्रा आँखाहरु
ती खँदिला मगजहरु
ए! ब्युँत अब मुर्कुटे स्वप्नबाट ।

Sanju Bajagain – Valentine Day

सञ्जु बजगाईं – भ्यालेन्टाईन डे

सखारै भालेको डाकले
‘भ्यालेन्टाईन डे’ ल्यायो कि ल्याएन साँईली,
तिम्रो बिस्ताराको छेउछाउमा ?
तिम्रा बारीका काँल्लामा
कठयाङग्रिने चिसो झेल्दै फुलेका गुलाबका फुल
कतिवटा छन् हँ ?
आज त निमोठेरै टिप्न भन है
तिम्रो प्रेमी साँईलालाई ।

देउराली के धाउँछयौ दिनदिनै !
आजभोली त,
चुच्चे ढुंगामा तितेपाती चढाएर माया भाकिन्न पो भन्छन् त,
बुकीफुल शिरमा सजाएर सौन्दर्य नापिन्न पो भन्छन् त,
भन्देउ– तिम्रो प्रेमी साँईलालाई,
प्रेम देखाउने स्वरुप बदल ।
‘भ्यालेन्टाईन’ आएको छ
प्रेम बुझाउने प्रारुप बदल ।

तिम्रो घरको चुल्हो नतारेर के भो ?
तिम्रो लाज ढाक्ने बस्त्र ठाउँ–ठाउँ फाटेर के भो ?
तिम्रा चरचरी फुटेका पैताला असैह्य दुखेर के भो ?
हात–मुख जोड्ने चिन्तामा फसेकी छयौ,
दुईछाक भोकै बसेर के भो ?
माटो कोतर्ने तिम्रा सलसलाउँदा औलाहरु,
काला नङ्ग्रा नै भएर के भो ?
तिम्रो प्रेमी साँईलाले आज देखाउने प्रेम कल्पेर त हेर,
बारीको काल्लाबाट फुत्किएर तिम्रा सामु आएका
सुकोमल गुलाबका थुङ्गाहरु त हेर,
तिमी पुग्नेछयौ…,
तिमीले कहिल्यै नकल्पेको रोमन साम्राज्य,
तिमी बुझ्नेछयौ…
ईशाईहरुको उत्सब ‘लुपरकेलिया’
अनिभ्यालेन्टाईनको डरलाग्दो मृत्युदण्ड ।

हुने छैन त तिम्रो ‘अल्टिमेट प्राप्ती’ ?!
तिमी एकैदिनमा कहाँबाट कहाँ…!!

छेउघरे कान्छाको ‘भाले-टाईम’भन्दा त,
भ्यालेन्टाईन कति राम्रो–राम्रो !
होइन त?
कखराभन्दा माथि उठ्नु पर्छ साँईली तिमीले
आफ्नो धरातलबाट बिर्सिदेऊ एकैछिन…।

तिमीलाई के थाहा?
आज तिम्रो देशका शहरहरु
गुलाबी भएका छन् अचम्मै गरी,
मखमली मुटुहरु टाँगिएर बजारहरु,
कोमल भएका छन् अचम्मै गरी,
हातेमालो गरेर जोडीहरु
प्रेमिल भएका छन् अचम्मै गरी,
पासासाहुकी क्यासियर श्रीमती कस्तरी रमाएकी
‘भ्यालेन्टाईन’को ब्यापार नाफाले पीसा टावर हेर्न मन छ रे…।

तिमीपनि,
गाउँभरको सन्नाटा,
गुराँसे पाखाको दिक्दारे सुसाई,
कठालोमा बाँधेका भोका गाईबस्तु
तिम्रो गरिबि,
तिम्रा पीडा,
उकाली–ओराली,
कहीँकतै थन्क्याएर
आज तिम्रो प्रेमी साँईलासँग ‘ भ्यालेन्टाईन डे’ मनाँउ ।
तिम्रो साँईला गुलाबका थुङ्गाहरु
तल्तिर काँल्लामा निमोठ्दै होला ।