Samarthya – Man Ek Tamas Ko Bhaye Pachhi

सामर्थ्य – मन एकतमासको भएपछी

विकासको कुरा
निकासको कुरा
निरास हुँदामा हतासको कुरा
केही ठीक लाग्दैन
प्राकृतिक लाग्दैन;

भर्खरै आइपुगेर एक हात पानी पिउने रहर
बटिदारले आफ्नो बनाइदियो
बुखार लागेछ गिरत भन्दैछ अब्बास
निधार छाम्ने हर्कत गर्न मन छैन
निधारसम्म पुग्ने तागत पनि छैन
योपल्ट मौसमले बडो घात गरिदियो
व्यग्र भएर भनिरहेछ आफ्नो कुरा
एकाग्र भएर सुनिदिनुछ उसको कुरा
र यससँगै,
चार मन पैचो तिर्ने रहरले
फेरि अर्को टिकट काटेको छ
बडो अदबका साथ उसले गरेको नमस्कारले
मानसिकता त्रस्त भएको छ
मन एकतमासको भएपछी
बतासको कुरा
आकाशको कुरा
निरास हुँदामा अब्बासको कुरा
केही ठीक लाग्दैन
प्राकृतिक लाग्दैन
कारण:
भर्खरै उसकाे जाबाे एउटा समाचारले
समय संकटग्रस्त भएकाे छ;

मन एकतमासकाे भएपछि…….॥

Samarthya – Jhanda

सामर्थ्य – झण्डा

हेर्दाहेर्दै धेरै भयो
तिमीले यहीँ आगो रोपेर गएको
अहिले तिमी फेरि मसँग
आफैँभित्रको आगोले पोलेर आएका छौ
मेरो फरफराहटले यदि
तिम्रो आगो निभ्छ भने
ठीक छ
म मण्डलाको झण्डा
तिमीलाई निभाउने भरपुर कोसिस गर्नेछु

आउ एकछिन बात गरौँ तिम्रा लप्काहरुका बारेमा
जसको बलले
तिमीले सडक मात्र ततायौ
रगत मात्र ततायौ
तात्नुपर्ने चुल्हाहरु चिसै छन्
चम्काहरु चिसै छन
उता चामल कुहिएर गएका छन्
तिमी पाल ओछ्याएर कृत्रिम भोकमरी बस्छौ
र भन्छौ सरकार खान पुगेन
तिमी सर्वाङ्ग नाङ्गिन्छौ
अनि झण्डा ओढेर आउँछौ
र भन्छौ झण्डाले लाज छोप्दैन
उता बिरामी शय्यामा छाडेर तिमी
डाक्टर बन्न दे भन्दै आएका छौ
उता दिनभरीको काम छाडेर तिमी
रोजगार दे भन्दै आएका छौ
यस बुझाइमा
मैले त तिमीलाई बुद्धसँग उभिएको देख्नु थियो
मधेससँग बाझिएको होइन
या त तिमीले बिर्सेको हुनुपर्छ
कि अहिले भागबन्डा हुन्थ्यो भने
बुद्ध तिमीले नै घृणा गर्ने पात्र हुन जान्थ्यो
तर तिमी माटो देख्दैनौ
बगर बनेका गाउँ देख्दैनौ
सुकेका नहरहरु
बाँझा खेतहरु
हराएका पिल्लरहरु
क्रुद्ध परेडहरु
तिमी देख्दैनौ
तिमीलाई देशको माया छ
तर देश के हो देख्दैनौ
सीमानाको माया छ
सीमाना खोज्छौ तर देख्दैनौ
तिमीलाई लाग्छ
कि स्वयम्भूका दुई आँखाले सबै देख्छन्
तर तिमीलाई थाहा नहोला
कि उपत्यकाले कहिल्यै मधेस देखेको छैन
तिमीले पनि देख्दैनौ
अभाव नै हेर्ने हो भने
दुखाई नै दुख्ने हो भने
तिमीले बुझ्नुपर्छ
कि मण्डलाबाट निस्केर तिमी
कहिलेकाहीँ आफ्नो इमानको सगरमाथा चढ्नुपर्छ
र तल तराई हेर्नुपर्छ
कहिलेकाहीँ उपत्यकाबाट ओर्लिएर
को कति पानीमा छ बुझ्नुपर्छ
तिमी देख्नेछौ
देश आधा डुब्नै लागेको छ
तिमी भने
मेरो फरफराहट मुनि
मण्डलामा
कुन्नि के को प्राप्तिका लागि
आगो बाल्न खोजिरहन्छौ

Samarthya – Sapana Ka Baare Ma

सामर्थ्य – सपनाका बारेमा

याे कविता जाे म लेख्न चाहन्छु,कसैमा समर्पित छ
ती सपना जाे म देख्न चाहन्छु, कसैमा आधारीत छ;

हामी सानैदेखि सिक्दै जान्छाैँ भन्ने बुझ्दासम्म
मलाई कसैले सिकाइसकेकाे रहेछ
कि हात समातेर नहिँडाएसम्म
हामी हात र खुट्टा टेकेरै हिँड्छाैँ रे
काेही राेएकाे नदेखुन्जेलसम्म
आफ्नै घाउ काेट्याएर दुख्छाैँ रे
त्यतिबेला मैले मेरी आमाकाे अनुहारमा पसिना
र ओठहरुमा कलेटी मात्र देख्थेँ
अनि माग्थेँ आमाकाे जस्तै पसिना र कलेँटीहरु
उबेला मलाई थाहा थिएन कि
उनका ओठमा कलाहरुकाे बेग्लेै दुनियाँ बस्दाे रहेछ
उनकाे अनुहारबाट ज्ञानकाे अर्कै नायग्रा खस्दाे रहेछ

समयलाई अङ्कहरुमा गन्दैगर्दा अचेल
आमाकाे बिछट्टै याद आउँछ
आमाका लागि अङ्कहरु आकाशभरि छरपष्ट थिए
समयहरु उज्याला थिए,
उनी ठाडाे शिरले आकाशतिर हेरेर समय भन्थिन्
ताराहरु आमाका निम्ति समय हुन्
समयहरु आमाका निम्ति तारा हुन्
म निहुरिएर घडि हेर्नमात्र जान्दछु
लाग्छ अङ्कहरु मेरा निम्ति समय हुन्
र समयहरु डरलाग्दा अँध्यारा हुन्

मलाई मेरी आमाले क र ख मात्र सिकाइनछिन्
काेदालाे र खर्पन
कलम र खरी
कागज र खेस्रा
सबै सिकाइछिन्
अनि भन्थिन्
कामरेड र खेलाडीहरु नबन्नु भनेर
कमसल र खराबहरु नबन्नु भनेर
कारागार र खाडीहरु पार गरिसकेकाे म
जीवनकाे अर्काे काल-खण्ड बाँचिरहँदा
भएजति बेचिसकेर बचेकाे
स्याउले डाँडाेकाे टुप्पामा बनाएकाे
आलिसान महलमा छाेरीलाई भन्दैछु
करेसा र खेत एउटै हाे भनेर

प्यारी छाेरी,
तिमीपनि अामा बन्नेछाै
तिम्रालागि पनि समय चाहिन्छ
कला चाहिन्छ
हेराइ चाहिन्छ
भाेगाइ चाहिन्छ
स्वीकृत अस्वीकृत
विकृत प्राकृतिक
मैले गुमाएका सबै चीज चाहिन्छ
मैले हारेका सबै जीत चाहिन्छ
त्यसैले म याे कविता तिम्रालागि लेख्दैछु
मैले बिर्सिएकाे एउटा दरिलाे सपना,
तिमीलाई देखाउने अाशामा
याद राख
लेखिनका लागि शब्दहरुकाे एउटा आधार आवश्यक छ
देखिनका लागि सपनाहरुकाे एउटा आकार आवश्यक छ॥

Samarthya – Aagat

सामर्थ्य – आगत

अग्घोर बनेर जमाना पचाइसकेका ईश्वरले पनि आफैँलाई सम्झाउँदै हुनेछन्,
जब मानिसहरु रित्तिएर,सिद्धिएर खाली बाेतल बजाउँदै हुनेछन्,
समय यस्ताे पनि आउनेछ कि समय बाटाे बिराएर कहिल्यै आउनेछैन
जब रातहरु सपना बर्साउनेछन् अनि सपनाहरु सधैँ तर्साउनेछन् ॥

Samarthya – Bastabikata

सामर्थ्य – वास्तविकता

आजको प्रमुख समाचार!
गाँसहरुको जोखिम उठाउँदैछ सरकार,
लाखमरि अनि चटामरिका दिवास्वप्नबीच
भोकमरि लोकभरी व्याप्त छ,
लार्भामानव झुसिल्किरो जीवन बाँच्दछ,
त्यसलाई पनि डर छ
टोड्को परिसकेको बुढो रुख समाजमा,
चल्ने हो हैन त्यसको जीवनचक्र,
फुल्ने हो हैन करबीरेको फूल,
पाउने हो हैन त्यसले रात्रिभोज
आह!
यो अमन चैनबीच जीवन
कत्ति निरीह,निस्सार,निरस
बडो अदबका साथ कामरेडबाट,
मनाइनेछ त्यागदिवस;

सपनाहरुको मूल भोटमै सुकेको खबर छ,
आँकडाअनुसार
अब स्वप्नाकारहरूबीच हाहाकार हुनेछ,
हतार,
कतार,
अनि शून्य घरबार हुनेछ;

अलिखित प्रतिवेदन-
जीजीविषाहरु टाट पल्टिन सक्छन्,
अश्रुग्याँसको असरले ज्ञानचक्षु अन्धा छन्;
योपल्ट,
बर्खा नलाग्दै योगमाया समाधिस्थ भइन्,
एकपाथी निराशाका साथ,
गङ्गामाया परास्त भइन्,
कुन्नि कुन क्लाइन्टमार्फत,
चरिमाया उम्केर आइछन्,
घरैछेउकी हर्कमाया छ्याङ्ग बेचिरहिछ,
उसका निम्ति यी सब,
मानौँ
मातपश्चात्तको शुभप्रभात
या बेमौसमको बर्सात,
आघात गर्दै उसको सपना हाराकिरी गरिरहेछ;

समय चलायमान छ,
बडेमानको सपना देख्ने राममानकी छोरी पनि ठूली भएकी छ,
उसलाई अब गाउँघरको सट्टा छाउघर पढाइनेछ,
उसका सपना देखिनुअगावै तिनलाई कठै भनिनेछ,
राममानकी छोरी बग्नुअगावै उसलाई दुलही भनिनेछ

आशा:
समाज अब गठबन्धित भएको छ
वानर विद्रोह शून्य,
सत्तामोह शून्य,
आरोह अवरोह शून्य,
यसै शून्यताबीच
म चाहन्छु
करबीरेको फूल फक्रियोस
राममानकी छोरीको बैँसको आहुतिका साथ,
झुसिल्किरो जीवन पुतली बनोस्,
जीवन्त सपनाले कहिल्यै हाराकिरी नगरोस्,
ज्ञानचक्षुको सम्मानहेतु,
भोकमरि निर्दोष ठहरियोस्॥

Samarthya – Nitse

सामर्थ्य – नित्से

“भगवान खोज्न
नित्से दिउँसै लालटीन लिएर निस्कन्थे”
दर्शनशास्त्रको एक कक्षामा प्राध्यापक भन्दैथिए
सबै अचम्मित भएर सुनिरहेकै बेला
कोही कुनाबाट बोल्न चाह्यो
उसले हावामा बिस्तारै हात हल्लायो
र भन्यो
“भगवानको परिभाषा के हो?”,
“देख्यौ! यस्तो छ स्थिति!
दानवहरु!”
उसले भगवान मान्ने गरेको
गुरुको कुराले उसलाई
देवतामाथि शङ्का उत्पन्न भयो
कहिल्यै नआउने गरी
उ कक्षाबाट निस्कियो

त्यसपछि उसलाई जसले देख्यो
उ भन्ने गर्थ्यो
“उसको हातमा ठूलो लालटिन थियो”

Samarthya – Pati

सामर्थ्य – पाटी

गन्तव्य बोकेर हिँडेका
केही हुल छापामारहरुले
शहीदका नाममा
एउटा पाटी बनाइ छाडेका थिए
जसमा
बालकहरु युद्धको सिको खेल खेल्थे
युवकहरु जम्मा हुन्थे र घण्टौँ टोलाउँथे
अनि वृद्धहरु मृत्यु पुकार्थे
यो प्रकृया चलिनैरह्यो
जबसम्म
केही लेख्न बुझ्न सक्नेहरुले सोचे
अब यो पाटीका भित्ताहरुमा केही लेख्नुपर्छ
उनीहरुले निक्कै मर्मस्पर्शी लेख्ने प्रयासमा
लेखे-
“यहाँ बस्ने तपाईं
या गन्तव्यमा हराउनु भएको छ
या गन्तव्य हराउनु भएको छ”

उनीहरुले यो बिर्सिसकेका थिए कि
गन्तव्य बोकेर हिँडेका
केही हुल छापामारहरुले
शहीदका नाममा
एउटा पाटी बनाइ छाडेका थिए

Samarthya – Iritation Analogy

सामर्थ्य – इरिटेसन एनालाेजी

मन एकतमासको भएपछी
विकासको कुरा
निकासको कुरा
निरास हुँदामा हतासको कुरा
केही ठीक लाग्दैन
प्राकृतिक लाग्दैन;

भर्खरै आइपुगेर एक हात पानी पिउने रहर
बटिदारले आफ्नो बनाइदियो
बुखार लागेछ गिरत भन्दैछ अब्बास
निधार छाम्ने हर्कत गर्न मन छैन
निधारसम्म पुग्ने तागत पनि छैन
योपल्ट मौसमले बडो घात गरिदियो
व्यग्र भएर भनिरहेछ आफ्नो कुरा
एकाग्र भएर सुनिदिनुछ उसको कुरा
र यससँगै,
चार मन पैचो तिर्ने रहरले
फेरि अर्को टिकट काटेको छ
बडो अदबका साथ उसले गरेको नमस्कारले
मानसिकता त्रस्त भएको छ
मन एकतमासको भएपछी
बतासको कुरा
आकाशको कुरा
निरास हुँदामा अब्बासको कुरा
केही ठीक लाग्दैन
प्राकृतिक लाग्दैन
कारण:
भर्खरै उसकाे जाबाे एउटा समाचारले
समय संकटग्रस्त भएकाे छ;

मन एकतमासकाे भएपछि…….॥

Samarthya – Hawa Haru

सामर्थ्य – हावाहरु

हावाहरुमा सत्तामोह
छ,
कणहरु यत्रतत्र छन्,
फुट्दै,
भेट्दै,
एकीकृत हुँदै
हावामा मिस्सिदै छन्,
सबैलाई यत्ति थाहा छ,
हावाबिना जिउन
बिछट्टै गाह्रो छ….
कणहरु व्यग्र छन्,
चियापसलमा,
भट्टीमा,
कणहरुकै हावा-सम्मेलन
हुन्छ,
कणहरु रक्सीका पेग
थप्तछन्,
तर
मात चढ्छ हावा
राजनीतिको…
भट्टीमै,
एक कण,
जसको छोरो बेपत्ता छ,
उस्का आफ्नै दस्तावेज
हुन्छन्,
प्रतिवेदन हुन्छन्,
भन्छ-
राजनीति नशा हो,
कारण,
उसको छोरो शहीद
नायक भएको छ,
अर्को कण,
उस्का भिन्नै आदर्श छन्,
फरक घोषणापत्र,
फरक प्रतिवेदन छन्,
भन्छ-
राजनीति जन्मदै एकखुट्टे
जन्मिएको कुखुरोको
उफ्राई हो,
कारण,
कणकै समाजबीच ऊ
नालायक भएको छ…
यसरी नै,
देशभरिका भट्टीबाट
विचार ओढेका कणहरु
तात्दछन्,
अनि हावा तात्दछ,
कणहरु बहकिन्छन्,
अनि हावाले गति पाउछ,
प्रक्रिया चलि नै रहन्छ,
फुट्दै,
भेट्दै,
एकीकृत हुदै,
वामपन्थी हावाहरुको
बृहत वाम एकता हुन्छ,
कणहरु एकीकृत हुन्छन्,
र बन्दछन् चट्टान,
हावाहरुमा चट्टान खेप्ने
तागत हुदैन….
चट्टान बाँच्नलाई हावा
चाहिन्न ।

-सामर्थ्य

Samarthya – Bahas

सामर्थ्य – बहस

पाभेल,नेपाल गएका छौ?
अहो,
अजिब छ,
दन्त्यकथाजस्तै
त्यस्तै दन्त्यकथा
जसमा देवता मूकदर्शक हुन्छ,
दैत्य आकर्शक हुन्छ,
मानिस आफैँभित्र यी दुईको सर्जक हुन्छ,
जाउ ओर्लोभ
तिमीपनि जाउ
तर विचार गरे,
हाम्राजस्ता काला चिम्नीहरु नदेखौला,
नचिनिने ब्वाँसाहरु र गिद्धहरु देखौला
भोड्काका भोकाहरु पनि देखौला
मान्छेभन्दा धेरै देउताहरु देखौला
तिनीहरु ती हिमाललाई
हाम्री साशाभन्दा राम्री भन्छन्,
ऊ प….र डाँडाको
निकोलाइको भेडाफर्मजस्तो देवीथानसँग
दुहुनो भैँसीको आशा गर्छन्,
भिर्छन एउटा पातलो जीर्ण जुत्तातुने कीरोजस्तो डोरो
धर्मको रुपमा,
अनि चुडिन्न? सोधौला,
चुडिन्छ भ्लादिमिर,चुडिन्छ
एकबाजि हैन
पटक पटक चुडिन्छ,
र जब चुडियो
लागेथ्यो सर्वस्व चुडियो,
तर क्यै चुडिएन उस्को,
चाबीको झुत्तो झुण्डिएको धर्मडोरो चुडियो,
त्यसैकारण
दाम्पत्य सम्बन्ध चुडियो,
तर अर्को धर्मडोरो भिर्यो उसले,
चाबीको झुत्तो र सम्बन्ध फेरि जोडियो
देख्यौ?
बडो अजिब छ नेपाल,
लागेन चेखबको दन्त्यकथाजस्तो?

Samarthya – Harilal

सामर्थ्य – हरिलाल

मौसीको बलेसी उता
पुगेको रातिमात्र हो,
कुन्तीदेवीको गोठपनि उतै छ,
तीनहल गोरु,
चर्पी,
बिज्लीको पोल
सब उतै छ
बडाहाकिम भन्छ सरेको छैन,
नसरेको भए बकेइनाको
बोट खै,
माईथान खै,
सर!
यो बडाहाकिम आफैँ उता सरे’छ
रिपोर्ट लेखु न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ,

मद्रासबाट,
छोरो ट्याक्टर पठाइदिन्छु भन्छ
गिरतको दु कठ्ठा जमिन
दिने वचन छ,
हरिरामले निमक हराम गरिदियो
त्यसैले सर,
आप्नै जमिन कमाउने मन छ,
के गरु,
अब त यो टुकडामा त दु मन चामलमात्र सुक्छ,
खाली जमिन जो छ,
त्यसले जलखाइमात्र
पुग्छ;
ऊ नेताले सुझाएछ
कि रासन कार्ड दिन्छ,
जमिन दिन्छ,
खेतमा बोरिङ,
डीएपी युरिया,
बौवाको किताप,
डिसटिभी,
सब फिरी दिन्छ,
खाली उता हिँड भन्छ
मन छैन सर,
यो माटोमा बचपन बिताएछु,
बहुत आमदानी गरेछु,
बाबुहरुले कमाएको
मिट्टी छ यो,
नेता भन्दैथियो,
संविधानले जमिन
बेचिदियो,
खै के हो,
बेचोस्,
त बेचेकै सही,
हलगोरु र चर्पी राखोस्,
खाली मिट्टी फर्काइदिओस्,
हिजोमात्र भोरमा,
परिवार सबले त्यही
जमिनभर आलु गोडेछ,
रिपोर्ट लेखु न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ;

आफ्नो नाममा नि सर,
यो देशमा केही छैन,
भोट माग्छ,
मागिरहन्छ,
नागरिक्ता बनाइदिदैन,
मन त लाग्छ त्यतै जाउँ,
सबलाई भरपेट जलखाइ खिलाउँ,
के गरुँ सर,
यो मिट्टीमा पचपन
कटाएछु;
उता पहाड गएछु एकबार,
मलाई नेपाली
भनिदिएन,
उबेला बहुत दुखेथ्यो सर,
आफ्नै देशको मान्छे
चिनिदिएन,
सबले थिचेर हामीलाई
दूर देशको जस्तो बनाएछ
र त मधेस देश भन्छु,
उ चित्त बुझाउदैन,
नभनेर के गरुँ सर,
कोहीले मेरो देश
दिखाउदैन,
तर म नेपाली छु सर,
दशगजमा घर छ,
र त पता छ जमिनको मूल्य,
बडाहाकिम भन्छ सरेको छैन,
नसरेको भए बकेइनाको बोट खै,
माईथान खै,
सर!
यो बडाहाकिम आफैँ उता सरे’छ
रिपोर्ट लेखु न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ॥

Samarthya – Bidroha

विद्रोह

कुरा त ठीकै गर्छ काइँलो,
तर जब राष्ट्रियताको सवाल उठ्छ
ऊ बढी धड्किन्छ,
उसका धमनीले कुन्नि के सुन्छन्,
उसको मगजमा कुन्नि कसले प्रहार गर्छ,
उसका विचारहरु खै कस्ता बाटाहरु कुदेजस्तो लाग्दछ,
ऊ अनायसै आँखाहरु फिराउँछ,
लामो सुस्ताउँछ
अनि निदाउँछ
एउटा अर्को सपनाको आशमा,
सपनाहरु पनि कहिलेकाहीँ त
क्रान्तिकारी बनिदिन्छन्
तैले सन्त्रासमै निदाउनु पर्छ भनिदिन्छन्,
हतास हुन्छ अब ऊ
उठ्छ आँखामा नाचेका सपनाहरुको बलात्कार गर्दै,
ठीक सुन्यौ-बलात्कार,
साक्षात्कार?
उसलाई थाहा छ
त्यो त जदौ खानेहरुले गर्छन्,
खन्चुवाहरुले गर्छन्,
बुर्जुवाहरुले गर्छन्,
ऊ त सपना देख्दैछ
तर सपनाहरु पनि
कहिलेकाहीँ त क्रान्तिकारी बनिदिन्छन्,
र त ऊ पनि
विचार पड्काउँछ
त्यो पनि क्रान्तिकारी परिदिन्छ यदाकदा
विचार पनि पड्किन्छ
विचार पनि पड्किन्छ,
कुरा त ठीकै गर्छ काइँलो,
तर जब राष्ट्रियताको सवाल उठ्छ
ऊ बढी धड्किन्छ ॥

-सामर्थ्य

Samarthya – Angikrit Yo Jamana (Nepali Gajal)

सामर्थ्य – अङ्गिकृत यो जमाना

अङ्गिकृत यो जमाना अजीब
हुदैछ,
प्रत्येक प्रहर कोही एक गरिब
हुदैछ,
दूर भास्सिदै छ विद्रोहको ओठ,
र त सामन्तलाई दावत नसीब
हुदै छ,
पर क्षितिजमा देखिने केवल
मृगतृष्णा हुन्छ,
मृगलाई त्यसै तृष्णा करिब हुदैछ,
प्रकाशको सामर्थ्य अब
रत्तिभर छैन,
आखालाई दीप तकलिफ हुदैछ….
-सामर्थ्य

Samarthya – Ijalaas

सामर्थ्य – इजलास

अनियन्त्रित भइ
मेरा गोडा पैतालाहरुले
केवल
चप्पलका फित्ता फेर्न
चाहेकाले
एच डी स्वप्निल
दुनियाँमा
आँखाहरुले थ्री डि सपना
चाहेकाले
छोरीको नेलपोलिश अनि
छोरोको पेन्सिल मेट्ने
इरेजरका निम्ति
केवल टेबुल तल हात
फिँजाएको न हुँ,
दाताहरुले दिन्छन् त के
गरुँ
श्रीमान्
म बिल्कुल निर्दोष छु
अस्तिमात्र,
ठीक अस्तिमात्र
बिटक्वाइन नराम्ररी
घटेको छ,
ट्रम्पनीतिले विक्षुप्त
मगजलाई
तिम्रो वृद्ध भत्ताले
गिज्याइरहन्छ,
शेयरबजारले
अत्याइरहन्छ,
समाज आलाप गर्दछ कि
घरअगाडिको गुम्बज पनि
भुइचालोले भत्काइरहन्छ,
यस्तो अवस्थामा
देशको निम्ति,
समाजको निम्ति,
अग्रजको निम्ति,
गुम्बजको निम्ति,
केही गरुँ गरुँ झैँ लाग्छ
योभन्दा बर्ता केही
लाग्दैन,
लगाव भन्ने कुरा ठीक
पनि
होइन
र त यदाकदा
शुभचिन्तकहरुमार
्फत
पसिनाको मूल्य माग्ने
गरेको हुँ,
दिनेले दिन्छन् त के गरुँ
श्रीमान
म बिल्कुल निर्दोष छु
यसरी नै
एक युग बितिसक्यो,
एवम् प्रकारले चप्पलका
फित्ताहरु
चाहनाहरु
गुम्बजका भित्ताहरु
बहानाहरु बनेका हैनन्
श्रीमान्,
फेरिँदा कुर्सीहरु,
अभिरुचिहरु,
केवल पैसाको स्वाद
फेरेको मात्र हुँ,
कठघराको यो घडीमा
जे बोल्छु सत्य बोल्छु,
दिनेहरुले दिन्छन् त के
गरुँ,
श्रीमान
म बिल्कुल निर्दोष छु ।

-सामर्थ्य(बिशव पोखरेल)