Sudarshan Shrestha – Samaya

सुदर्शन श्रेष्ठ – समय
(Source: मधुपर्क असार, २०६७)

समयले समर भन्न थालेको छ
कुकुरहरू बौराएर भुकिरहेछ
हत्केलाले छोप्न खोज्ने आगोको फिलिङ्गा
हात नै सबै डर्छ…डर्छ…
विराजमान छ कुर्सीमा मुर्कुट्टा
या भनूँ मुर्कुट्टा मुन्तिर कुर्सी
समय आफैँ नै जसरी तसरी आफ्नै गतिमा
चलिरहन्छ…..टिक….टिक….टिक….
विधुवा आमाहरू आफ्नो स्तन
मुख्याचालाई चुसाउन बाध्य छन्
बुख्याचाहरू कोलाहल गर्दै लड्न उद्धत छन्
कसले कोपर्न पाउने आमाको लाम्टालाई
स्यालले र्‍याल चुहाइरहेको बेला
अनिर्णयको बन्दी बनेर बालकहरू
गिद्धको छाक बनिरहेका छन्
र पनि समय
त्यसरी नै चलिरहेछ
गणतन्त्रको नाममा गणहरूलाई
नामेट पार्न
चलिरहन्छ……टिक…..टिक……टिक……
सिनो गनाएर आँगनहरू डढिरहेको बेला
भित्ता र छानासमेत सुरक्षित छैनन्
न्याय सूलीमा चढेर चिच्याउँछ आक्रान्त
चुलो चिसो भए तापनि धुरी
जलिरहेको बेला
बाँसुरीको मीठो धुनमा कानुन सुतिरहेछ
हत्यारा नै रक्षक भएको वर्तमानमा
निर्दोषहरू भट्टीमा दन्किरहेछ
आशाहरू पातालमा भासिए तापनि
समय….प्रत्येक क्षणमा पात्तिएर
चलिरहन्छ….टिक…..टिक….टिक….
निर्वस्त्र ख्याकहरू अर्कोको नाङ्गोपनाको
खिल्ली उडाउँदै आफ्नो उन्मत्तताको प्रदर्शन गर्छ
ढुसी परेको निर्विचार
खिया लागेको दिमागले
देश नयाँ बनाउने डुग्गी पिट्छ
जादुगरको पिटाराभित्र समस्या जकडिएकोझैँ
जादूको छडी घुमाएर फू-मन्तर गरिदिने ढोङ
चर्किएको अस्मितालाई अझ चर्काउन उद्धत साँढे
आफ्नो बलको घमण्डमा डुक्रिरहेछ
करोडौँ टाउकाहरूमा कैँयन लातहरूले
गिर खेलिरहेको बेला
समय चलिरहेछ
चुलिरहन्छ….टिक….टिक….टिक…..
हाडखोर मात्र बाँकी छ तिरस्कृत विश्वासको
आत्मा सबै प्लेटमा सजिएर ज्यूनारभइसके
कङ्कालले खै कसरी हल्ला गरुन्
पिचासको हातमाथि परेको बेला
छातीमा मुड्की बजारेर रगत छदाउँदै
तनतनी रगत पिएर मदमस्त भएकालाई
धुरी कटाउन कसले सकून्
कातर मन छिँडीमा लुकेर कसरी बाँच्दो हो ?
आगोको झोकामा नजल्ने को छ ?
त्यसैले
समयले मलाई पछ्याउनुभन्दा
म समयलाई उल्टाउन खोज्दै छु
हैँसे, होस्टेमा हैँसे….खप्परको दाउ राखेर
चलिरहन्छ….टिक…..टिक….टिक…..।