सुभाषचन्द्र भण्डारी – जीवनभाव
कल्कल् बगेझैँ नदनाद पानी
बग्दै छ हाम्रो जनजिन्दगानी
कथा–व्यथा जीवनका तरङ्ग
फिक्का कतै देख्छु प्रगाढ रङ्ग ।
घुटुक्क प्यूँझैँ रसकाव्य धारा
छ काव्यको जीवन नै सहारा
अनन्त यै जीवन व्याप्त देखेँ
सौन्दर्य देखेँ लयदार लेखेँ ।
कतै छ हाँसो परिजात गाढा
इबी कतै अश्रु विषाक्त काँढा
म भन्छु हो जीवन खेलजस्तै
सन्तोषले आत्म रहन्छ मस्तै ।
यो जिन्दगीको मन सारथी हो
स्वतन्त्रता सुन्दर आरती हो
मान्छे भयो जीवनमार्ग शिल्पी
उन्नीत आभा छ अझै प्रगल्भी ।
राजा र रैती सम जिन्दगी हो
रून्चे र पिन्चे पनि जिन्दगी हो
थाकी बसेका कति जिन्दगी छन्
मात्ती बसेका कति जिन्दगी छन् ।
गोठालुको जीवन प्रेम गीत
सुनेर अर्कै दिल खिच्छ प्रीत
अनेक छन् रूप छटा निविष्ट
क्वै चोर जाली त कुनै प्रबुद्ध ।
चङ्गा, नदी, फूल र पत्रतुल्य
यो जिन्दगी हो फल जो अमूल्य
जीवन् लता अमृत फल्नुपर्छ
पापिष्ट सत्ता सब ढल्नुपर्छ ।
समुद्र हो जीवन हो जहाज
आयाम सिङ्गो सगरै विराज
प्रदीप्त क्या जीवन दीपजस्तै
लालित्य उस्तै र सुगन्ध उस्तै ।
जहाज जैल्यै पनि डुब्न सक्छ
बत्ती हवाले पनि निभ्न सक्छ
आकाशमा मेघ बढाइँ गर्छ
सत्जिन्दगी शाश्वत बन्नुपर्छ ।
झमक्क भो रे झलमल्ल फाटी
डुबेर दिन् खै किन पर्छ राति,
निर्णीत यो जीवन पो कहाँ छ
आश्चर्य छाडेर छलेर जान्छ ।
(मध्यबानेश्वर, काठमाडौँ)