साम्ब ढकाल – पहाडमा सम्झँदै पहाड
यसपल्ट पहाड उक्लन मनलाग्यो
र उक्लिएँ
पहाड उक्लिँदा
पहाडकोजस्तै मन बनाएर उक्लन पर्दोरहेछ !
पहाडजस्तो मन भनेको किमार्थ कठोर र जब्बर नभएर
निर्दोस र निरीह अनि मायालु मनले उक्लनुपर्ने रहेछ ।
यसपाली पहाड देख्दा मलाई त मेरो घरछेउको
रातोदिन आरनमा बस्ने बूढा दाइ बिजुली विकझैँ पो लाग्यो
अहर्निस कहिलेदेखि एकै ठाउँमा बसेको बस्यै
धेरै कुरा सहेर ÷नसहेर ।
एकैछिन पहाडको गथासो सुनेँ,
बिजुली दाइकोजस्तै पहाडको पनि छातिभरि
बेगन्ती बेथाले हाराबारा खेलिरहेको रहेछ ।
पहाडका लामालामा बाटाहरू उकालो लागेर
ओरालोमा बेपत्ता भएझैँ
बिजुली बिकको सुखपनि कता हराउँछ हराउँछ
विपनाका विछट्टै राम्रा फाँटहरू पहाडैभरि रैमट्ट भएझैँ
बिजुली बूढाका स्वप्निल आँखाका सपनाहरूमा पनि पहिरो जान्छ ।
विलाउन तैयार चौतारो
इतिहास धानिरहेको जीर्ण पौवा
सुक्न राजी लेउ लागेका पधेँरा
धुकधुकीमा टिकिरहेको ढिकी र जाँतो
आफन्त कुरिबसेको पिँढी र दलान
बटुवा खोजिरहेको गोरेटो र डगरहरूमा
पहाडले आफूलाई सम्झन खोज्यो
अहँ पाएन अत्तोपत्तो,
बिजुली दाइलाई आफन्तले
लामो वियोगमा डुबाएर विदा भएजस्तै ।
भन्ज्याङको बूढो बरमा अल्झेको अस्ताचलको रक्तिम घामलाई
बोकेर पहाड कतै जान सक्दैन
पहाड उज्यालो जूनलाई काँधको ठाँउ दिएर बसेको जुग भएको बिर्सन पनि सक्दैन
पहाडको छातीमा सल्बलाएर हिँडेको गोरेटोले मान्छेलाई कहाँमात्र पु¥याएन
पहाड जहीँकोतहीँ कतै नपुग्न ठिङ्गिरहेछ ।
पहाडबाट मनलाई
यो पटक अर्कै बनाएर फर्केँ
पहाडलाई पहाडमा गएर नियालेँ
पहाडकै कुनै अँश मनभरि बोकेर
पहाडझै बोझिल भएर फर्केँ ।