सागर साउँद – सपनाको खेती
ह्राम्रा लाजनेताहरु
हाम्रा झोलीभरि सपना हालीदिन
चाहना इच्छा र आकांक्षा
भरिदिन माहिर छन्
इच्छा रोप्छन्
चाहना हुर्काउदै
आकांक्षाका गला रेट्छन् ।
ओइलाएका फुलहरु
निदाएका चाहनाहरु
मरेका सपनाहरु
फेरि ब्यूताउदै
सपनाको खेती गर्छन् ।
सात सत्रका सपनाहरु
छत्तीस छयालीसका चाहनाहरु
बाउन्न बासठीका सोचहरु
सिंगापुरे सपना
स्वीटजरल्याण्ड सपना
नानाभाती सपनाहरु
हालीदिन्छन हाम्रा झोलीमा
हाम्रा लाजनेताहरु ।
दार्चुलाका चाहनाहरु महाकाली
बाजुराका सपनाहरु सेतीमा
बालुवा बुकाएर मरे
रोल्पा कालीकोट र दैलेखका विचारहरु
भेरी राप्ती र कर्णालीका भेलसंगै
बगेर कहाँ कहाँ पुगे ।
कोशीका सपनाहरु कोशी बगरमा
बालुवा गिट्टी र ढुंगासंगै
कता कता पुरिएर मरे ।
भारी बोक्ने भरिया
चौतारीमा टोल्लाउँछ
रिक्साचालक दाइ
रिक्सासिटमै निदाउँछ
क्याम्पस पढ्ने ठिटो
घोत्लिदै फिस्छ हाँस्छ
एउटा कविको कलम टक्क अडिन्छ
देश सम्झिदै तप्तपी आँशु चुहाउँछ ।
हिमालका सपनाहरुमा हिमपात पर्छ
पहाडका इच्छाहरुमा पहिरो जान्छ
तराइका सोचहरु बाढीले बगाउँछ
गरिवीको भुलभुलैयाबाट
सम्पन्नतातिरको सपना
हीनता र आत्महत्याको कुविचारबाट
जीवन र कर्मको पथमा दौडिने चाहना
भरिदिएका छन हाम्रा झोलीमा
हाम्रा लाजनेताहरुले ।
हाम्रा हृदयका पत्र पत्रहरुमा
अनगिन्ती सुन्दर फुलहरु फुलाए
गुराँस कानमा सिउराए
पारिजात शीरमा फुलाए
हजारी गलामा फक्राए
हाम्रा लाजनेताहरुले ।
हाम्रा अबोध मनहरुले
धेरै रगत बगाए
लाखौ हात खुट्टा भाँचे
हजारौ जवानी र जिन्दगीहरु
फुलका सपनासंगै
श्रद्धान्जली चढाए ।
दिन महिना र वर्ष
संग संगै दशकौ बिते
हाम्रा फुलका सपनाहरु
हृदय हृदयमै ओइलाए
सुकाए र मारे
हाम्रा महान लाजनेताहरुले ।
सपनै छर्न सपनै समेट्न
सपनै लाउन सपनै खान
सपनामै बाँच्न सिकाए हामीलाई
हाम्रा महान लाजनेताहरुले
सपनाको खेती गरेर ।