प्रमोद धिताल – आमा र गृहस्थी
गृहस्थी र आमाको साइनो
धेरै यूग पूरानो हो
आामाले गृहस्थी चलाउनुहुन्छ या
गृहस्थीले आमालाई चलाउँछ ?
यसको जवाफ छैन वहाँसँग
हरेक विहान
पूर्वक्षितिजमा पहेलो सूर्य नउघ्रदै
आमाले आगो सल्काउनुहुन्छ
या आगोले आमालाई सल्काउँछ ?
यसको हिसाब पनि छैन आमासँग ।
आमाले चलाउँदै जानुहुन्छ घरगृहस्थी यसरी नै
सँगसँगै पग्लदै जानुहुन्छ जसरी पग्लिन्छ एउटा सग्लो हिउँको ढिक्का
आकारवीहिन हुँदै अस्तित्व मेटाएर ।
पोखिनुहुन्छ करेसा बारीको माटोभरि
हरेक विहान देखि सुरु भएको जीवन
पोखिइरहन्छ ढोकाको संघार देखि पँधेरासम्म
चुलो चौको हुँदै
जुठेल्नोमा थुप्रिएका भाँडा वर्तनसम्म
रन बनका झाडीहरुदेखि गाउँघरका मेलापातसम्म
अहो, कोशीको गतिझैं बगिरहनुहुन्छ आमा
आफूलाई फिजाएर चारैतिर उर्वर बनाउँनुहुन्छ गृहस्थी
तर जीवनको खेत किन सँधै बाँझो हुन्छ ?
यसरी पग्लिएर पनि ।
कहिल्यै उठ्न सकेन आमाको सिंगो आकृति
स्वाभिमान झैं अग्लिएर ।
कर्तव्यको तातो बगरमा
एकनाश चलिरहने मेशिनझैं जीवन
विहानै झिसमिसेमा सूर्यको झुल्को भन्दा पहिल्यै उदाउँछ
हरेक दिन क्षितिजमा अस्ताउने घामसँगै अस्ताउँछ
बेहिसाब ज्यानमै सुक्ने पसीनाको सागरसँगै
आमाले कति पसीना बगाउँनुभयो ?
या आमालाई पसीनाले बगायो ?
आमाको अस्तित्वहीन जीवन देखेर
सोंचमग्न छु यतिखेर ।
आमाले जन्मेदेखि कति कर्तव्य निभाउँनुभयो ?
या आमालाई कर्तव्यले निभायो ?
यसको हिसाब छैन आमासँग ।