मुरारि पराजुली – गणतन्त्रको नारा
रगतले लत्पत
महाराजको पाउमा
कतिन्जेल ढोगिरहने हो दाम चढाउँदै
र कतिले बलिदान दिएर
महाराजलाई भोग चढाउने हो
भएन यकिन नेताज्यू
अझै हामीले कतिञ्जेल
महाराजको पाउ पुजिरहने हो ?
जो घरमै आगो सल्काएर
सेकुवा चपाइरहेछ चिहानमा
दाजुभाइ र भतिजाभतिजीको
उसले के दिन्छ जनताको झोलीमा
जो गद्दीमा बसेर जनताको आँसु पचाइरहेछ
मैले बुझेको छैन नेताज्यू
जल्लादको अचानोमा कसरी
लोकतन्त्रको फूल फक्र्रन्छ
र दर्शनभेटको पटाङ्गीनीमा
घुँडा मारेर लत्रिरहेको
तिम्रो शिरबाट कसरी
वर्षौंदेखि जनताले खोजेको
गणतन्त्रको आवाज घन्कन्छ ?
जबसम्म निकाल्दैनौ तिमीले
गलहत्याएर बाटोमा
दरबारबाट उसलाई
र भकुण्डो खेल्दैनौ
उसको श्रीपेचलाई माटोमा
जनताले बोकेको रा“कोले
डढाउँदैन जबसम्म शाहीदरबार
उठाइरहनेछ उसले निरंकुशताको तरबार
जसको अन्त्यका लागि बजिरहेछ नगरा
मैले बुझेको छैन नेताज्यू
उसैको हबेलीमा बसेर
हुनसक्छ कसरी गणतन्त्रका कुरा ?
अडेस लगाएर शाही बालिस्टमा
घोडाको तबेलामा राखेर तिमीलाई
पुस्तौनी कमारासँग गर्जेझैं
खसाएर तिम्रो नूर आफ्ना पाउमा
ऊ कृपाको वार्ता गर्न सक्छ
जसले तिम्रो बाटो अवरोध गरेको छ
ऊ नहट्दासम्म संघारबाट
कसरी हुनसक्छ माग पूरा
कसरी पाउन सक्छौ तिमीले खोजेको कुरा
मैले बुझेको छैन नेताज्यू
जसको अन्त्यविना संभव छ र
सडकमा उर्लिरहेको गणतन्त्रको नारा –