भित्र बस्छु-
ठिहिर्याउंछ आफ्नो वास्तविकता
बाहिर निस्कन्छु-
पोल्छ समयको अजेय असमानता
बिउँझेर पनि आफूलाई
मस्त निदाईरहेको अवस्थामा पाउँदा
लाग्छ –
कहिल्यै जागा नहुने
निद्रामा मस्त म महाकुम्भकर्ण बनूँ
ताकि चेतनशील हुनुको बाध्यतामा
आफ्नै आकांक्षाहरुको प्रहार सहन नपरोस्
समानताको खोजमा आफ्नो स्तर
गल्लीको भुस्याहा कुकुरको तहमा
रुपान्तरित भएको सत्यता हेर्न नपरोस्
मानवीय स्वभावको विपरित
किन-किन अचेल
मायामा पनि अर्थ खोज्न मन लाग्छ
स्वार्थ पो टांस्सिएको छ कि भनी
माया कोट्ट्याई हेर्न मन लाग्छ
कसैबाट विश्वास पाए
अनायासै नाकले अविश्वासको गन्ध खोज्न थाल्छ
सोझो बाटोको मार्ग – दर्शन पाए
अनेकौं डरलाग्दा दुश्चिन्ताले डांवाडोल भएर
पाइला जञ्जालपूर्ण बाटोमा बढ्न थाल्छ
यो चलिआएको खराब संस्कार होइन
आजको हावामा मिस्सिएको स्वार्थपरक परिवर्तनको चमत्कर हो
समयले सिर्जेको यस्तो दुर्भेद्य दुरावस्थामा
आफू चक्रव्यूहभित्र परेको भान हुन्छ
समयको जटिलतामा आज
धर्तीको वरदान पाएको जीवन
अभिशाप भईरहेछ
यस्तो नबांच्नु बांच्नु परेपछि
आफ्नै जीवन खरानीको थुप्रो लागिरहेछ
आफैंभित्र आर्यघाटको चीता गन्हाईरहेछ ।