Krishna Adhikari Chintit – Mero Kabita

कृष्ण अधिकारी ‘चिन्तित’ – मेरो कविता

जीवनको सेरोफेरोको घेरोभित्र
हराएर लेखिएको मेरो कविता
जीवनको कथा र व्यथाको अप्ठ्यारोभित्र
डराएर लेखिएको मेरो कविता
भावनात्मक देखिए पनि
कवितात्मक नदेखिन सक्छ
कविताले मेरो मन छोयो भन्दैमा
अरूको नछुन सक्छ
मेरो मन रोयो भन्दैमा
अरूको नरून सक्छ
छुनै पर्ने रूनै पर्ने
अनिवार्य सर्त पनि त छैन कवितामा
मनलाई कसिलो बनाएर लेखेँ
आँखालाई रसिलो बनाएर लेखेँ
मुहारलाई हँसिलो बनाएर लेखेँ
ममताको भोक हटाउन लेखेँ
आत्मीयताको तिर्खा मेटाउन लेखेँ
दुःखमा दुःखसँगै रमाएर लेखेँ
सुखमा सुख समाएर लेखेँ
मुटुभरि पीडाको घाउ बोकेर लेखेँ
पानाभरि मनको वेदना पोखेर लेखेँ
कवितालाई उत्कृष्टताको तराजुमा जोखिनँ
मैले रोजी–रोजी केही देखिनँ
खोजी–खोजी केही लेखिनँ
जे भेटिन्छ त्यसैलाई देखेँ
जे देखिन्छ त्यसैलाई लेखेँ
मान्छे भन्नु समयको दास न हो
समयले जता लान्छ त्यतै जानुपर्छ
समयले जस्तो दिन्छ त्यस्तै खानुपर्छ
समयले पस्किएर दिएको भागलाई
सहर्ष स्वीकार गर्न बाध्य छ मान्छे
वेदनाले जतिसुकै अचेटिए पनि
समयको गतिसँगै घचेटिनुपर्छ
समयले खटाएको ठाउँमा अँटाउनै पर्छ
खुसी र आनन्दमा रमाउने आश
निरन्तर त्रासमा परिणत भएको छ ।

– भरतपुर ७, चितवन

Krishna Adhikari Chintit – Prem Patra

कृष्ण अधिकारी ‘चिन्तित’ – प्रेमपत्र

आदरणीय पाठकवृन्द
मेरा हरेक गीत र कविताहरु
किन प्रेमपत्र बनिदिन्छन्?
साँच्चै प्रेमपत्र बनेरै हो कि
मान्छेहरु त्यसै भनिदिन्छन्?
विगतमा त्यसका लागि लेखें
त्यो त्यसका लागि मात्र भएछ
वर्तमानमा यसका लागि लेखिरहेछु
यो यसका लागि मात्र भइरहेछ
भविष्यमा कसका लागि लेख्नुपर्ने हो?
त्यो पनि त्यसका लागि मात्र हुने होला?
म आफैं लेख्ने, मेरा लागि खै त?
आफूले आफैंका लागि लेख्न मिलेन
मेरा लागि अरुले लेख्नपर्ने रहेछ
विगतमा मलाई त्यसले केही लेखेन
वर्तमानमा पनि मलाई यसले केही लेखेको छैन
भविष्यमा पनि मलाई कसले के लेख्ला र?
विगतमा पनि मैले मात्र लेखेछु
वर्तमानमा पनि मैले मात्र लेखिरहेको छु
भविष्यमा पनि मैले मात्र लेख्नुपर्ने?
यो कस्तो खाले न्याय हो?
मैले मात्र एकोहोरो कति लेखौं?
एक मन त लेख्न छाडी दिऊँ कि जस्तो लाग्छ
तर भावनाका भेलहरु उर्लिएर
मेरा मनका बाँधहरु भत्काइदिन्छन्
केही न केही नलेखी सुखै पाउँदिनँ मैले
विगतमा मायामा बसेर लेखेको थिएँ
वर्तमानमा छायामा बसेर लेखिरहेछु
भविष्यमा कसरी लेख्नुपर्ने हो?
चिन्ताको विषय बनेको छ।
विगतमा सीमा तोकेर लेखिनँ
वर्तमानमा स्वार्थ बोकेर लेखेको छैन
भविष्यमा कुनै कुरा छोपेर लेख्न नपरोस्
विगतमा माया जोगाउनका लागि लेखें
वर्तमानमा माया जोगाउनका लागि लेखिरहेछु
भविष्यमा माया रोगाउनका लागि लेख्नुपर्ने होला
विगतमा जे भोग्नुपरेको थियो
वर्तमानमा त्यही भोग्नुपरेको छ
भविष्यमा पनि त्यही भोग्नुपर्ने?
यो कस्तो खाले बाध्यता हो?
आदरणीय पाठक वृन्द
आफैं मूल्याङ्कन गरिदिनुहोस्।