जे बी शेर्पा – यहाँ कहाँ आइपुगें म
कहाँ म त्यों स-ह्रृदयी मुस्कानहरू र हाँसो हरु बिर्सेर !
कहाँ यहाँ पराय अनुहारहरू को भिडमा एक्लै !
जहाँ मुस्कान हरु बनावटी अनुहारमा सिमित हुन्छ !
कहाँ म भिर पाखाको माटो खेल्दै खाँदै को सम्झना बोकेर !
कहाँ यहाँ दूषित माटो हरुमा पसीना चुहाउँदै !
जहाँ जिन्दगी यन्त्रवत हुँदो रहेछ !
कहाँ म नाता , आफन्तहरू को न्यानो भीड़ छाडी !
कहाँ यहाँ चीसा गल्ली हरुमा आफन्त खोज्दै !
जहाँ आफन्तपन आफैं मा सिमित हुँदो रहेछ !
कहाँ म नाति पनाती हरु संग रमाउने बा आमा छाडेर !
कहाँ यहाँ कुकूर र बिरालो संग रुने र रमाउने हरु बिच !
जहाँ जीवन एउटा व्यक्तिगत स्वतंत्रता मा सिमित रहन्छ !
कहाँ म निर्धक्क बोल्दै , सुसेल्दै गाउने मान्छे !
कहाँ यहाँ हाच्छिउँ लाई पनि नाक भित्रै दबाउँदै !
जहाँ कुकूर पनि भुक्न र टोक्न विर्सन्छ !
कहाँ मेरो सेतो हिमाल, हरिया पहाड़, र खर्क डुल्ने मन !
कहाँ यहाँ कंक्रीट को जंगल र मोटरको बाढी बिच !
जहाँ प्रकृतिमा पनि कृत्रिम सौन्दर्यता देखिन्छ !
कहाँ म कोइली को कुहू कुहू … सल्लाघरीको स्यांइँ स्यांइँ अनी मन्दिर
र गुम्बा को टिङ टिङ आवाज छोडी !
कहाँ यहाँ अल्राम, एमवुलेन्स, पुलिस र दमकल का कर्कश साइरन बिच !
जहाँ यस्तै आवाज प्राकृतिक र दैनिकी हुन्छ !
कहाँ म मेरो गाउँ को लाला…!!! ..लैलै …!!! र ऐ कान्छी
!! भुल्दै !
कहाँ यहाँ टेक्नो , रयाप र साल्सा हरुमा बटारिँदै !
जहाँ स्वस्फूर्त तरंगहरु , सुसेलीहरू कोठाहरू भित्रै कैद हुन्छ !
सोच्छु….. ! यहाँ कहाँ आई पुगेँ म ?